शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वव्यापी बन्दै प्रोस्टेट क्यान्सर, दुई दशकमा ८५ प्रतिशतमा फैलने अनुमान

शनिबार, २४ चैत २०८०, ०९ : १९
शनिबार, २४ चैत २०८०

काठमाडौँ । पुरुषहरूलाई तीव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरूले बताएका छन् । यही अवस्था कायम रहे २०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरूको दाबी छ ।

प्रोस्टेट क्यान्सर सुरुकै अवस्थामा थाहा पाउन सके सामान्य उपचारले निको पार्न सम्भव देखिए पनि अन्तिम अवस्थामा पत्ता लागेमा भने रोगको उपचार गर्न र बिरामीको ज्यान बचाउन गाह्रो हुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

हालैका अध्ययनहरूले प्रोस्टेट क्यान्सरको बारेमा डरलाग्दो तथ्याङ्कहरू पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सरका घटनाहरू विश्वव्यापी रूपमा दोब्बर भन्दा बढी रहेको अनुमान गरेका छन् । यही अवस्था बढ्दै गए भविष्यमा ठुलो स्वास्थ्य सङ्कट सिर्जना हुने अनुसन्धानकर्ताहरूको भनाई छ ।

यस क्यान्सरबाट हुने मृत्यु सन् २०४० सम्म ८५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसले स्वास्थ्यमा ठुलो तनाव निम्त्याउन सक्छ ।

द ल्यान्सेट जर्नलमा प्रकाशित यस अध्ययनको प्रतिवेदनअनुसार सन् २०४० सम्ममा प्रोस्टेट क्यान्सरका वार्षिक २९ लाख बिरामी पुग्ने अनुमान गरिएको छ भने अहिले सन् २०२० पछि विश्वभर वार्षिक १४ लाखभन्दा बढी बिरामी थपिने गरेका छन् ।

कम र मध्यम आय भएका देशहरूले धेरै उच्च आय भएका देशहरूको तुलनामा मृत्युदरको उच्च जोखिम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रोस्टेट क्यान्सरको जोखिम ५० वर्ष वा सोभन्दा माथिका मानिसहरूमा बढी हुने गरेको पनि अध्ययनले देखाएको छ । इन्स्टिच्युट अफ क्यान्सर रिसर्च, लन्डनका प्रोस्टेट एण्ड ब्ल्याडर क्यान्सर रिसर्चका प्रोफेसर निक जेम्सले, विश्वभर मध्यम उमेरका र वृद्ध पुरुषहरूको संख्या बढ्दै जाँदा प्रोस्टेट क्यान्सरको प्रकोप पनि बढ्ने अनुमान गरिएको, क्यान्सरबाट बच्न र यसबाट मानिसलाई सुरक्षित राख्न अहिले नै योजना बनाउन जरुरी रहेको बताए ।

अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सरबाट बच्ने कुनै खास उपाय नभएको बताउँछन् । तर नियमित व्यायाम र स्वस्थ आहार जस्ता छनौट गरेर यो क्यान्सरको जोखिम कम गर्न भने सकिन्छ । प्रोस्टेट क्यान्सरको जोखिम अधिक तौल वा मोटोपन भएका मानिसमा हुने भएकाले तौल नियन्त्रणमा राखेर यसको जोखिमबाट भने बच्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप