अघोषित लोडसेडिङले सास्ती, खानेपानी आपूर्तिमा समेत समस्या

समाचार सारांश
- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अघोषित लोडसेडिङका कारण दैनिक जीवन कष्टकर बनेको छ। विद्युत् अनियमित हुँदा स्थानीयहरूले सास्ती भोग्नुपरेको छ।
- विद्युत् प्राधिकरणले कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइनमा आएको समस्यालाई कारण देखाएको छ, जसले गर्दा विद्युत् आपूर्तिमा समस्या भएको हो।
- गर्मी मौसम सुरु भएसँगै वीरेन्द्रनगरमा खानेपानीको समस्या पनि बढेको छ, पानीको स्रोत कम हुँदा खानेपानी वितरणमा समस्या आएको छ।
सुर्खेत । अघोषित लोडसेडिङका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आसपासका क्षेत्रमा दैनिक जीवन असहज बन्दै गएको छ । गर्मीमा एकातिर बत्ती नहुने, अर्कोतिर खानेपानीको सङ्कटमा वीरेन्द्रनगरवासी छन् ।
वीरेन्द्रनगरवासीले वैशाख अन्तिम सातादेखि छिनछिनमा विद्युत् सेवा अवरुद्ध हुने समस्या भोग्दै आएका छन् ।
मंगलबार बिहानदेखि दिउँसो दुई बजेसम्म पटक–पटक विद्युत् आउने–जाने भइरहेको थियो । दिउँसोदेखि काटिएको विद्युत् बेलुका ८ बजेमात्र आएको थियो ।
रातभर विद्युत् अवरुद्ध नभए पनि बुधबार बिहान ५ बजेपछि फेरि विद्युत् अवरुद्ध भएको छ । केही दिनदेखि सधैँजसो विद्युत् आपूर्तिमा वीरेन्द्रनगरवासीले यस्तै सास्ती झेल्दै आएका छन् ।
‘एक त बत्ती नै आउँदैन, आएको वेलामा पनि झ्याप्प–झ्याप्प हुन थाल्यो,’ वीरेन्द्रनगरको एरीचोकमा बस्दै आएका उपेन्द्र रावतले भने, ‘दिउँसो गर्मीले कोठाभित्र बस्न सकिँदैन ।’
सोमबार बेलुका र मंगलबार बेलुका पानी पर्दा केही राहत भए पनि विद्युत् अनियमित हुँदा दैनिक कामकाजमा भने समस्या भइरहेको उनको भनाइ छ । विशेषगरी होटल, उद्योग तथा कार्यालयहरूमा विद्युत् अभावले कामकाज प्रभावित हुने गरेको छ ।
विद्युत् प्राधिकरण कार्यालय विभिन्न कारणले विद्युत् अवरुद्ध हुने गरेको जिकिर गर्दछ । बुधबार बिहान कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमा समस्या आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भनेको छ, ‘वीरेन्द्रनगर बजार र तातापानी फिडर अवरूद्ध छ ।’
पछिल्लो सूचनामा छिन्चु–कोहलपुर क्षेत्रमा फल्ट देखिएको र मर्मत टिम परिचालन भइसकेको जनाउँदै प्राधिकरणले असुविधाका लागि क्षमा मागेको छ ।
राजधानीभित्र पनि खण्ड–खण्ड गरेर विद्युत् वितरण गरेको देखिन्छ । जसका कारण एक पटकमा एउटा खण्डमा विद्युत् प्रवाह हुँदा अर्को खण्डमा लोडसेडिङ भइरहेको हुन्छ ।
वीरेन्द्रनगर नगरपालिका–३, का हरिभक्त घिमिरेले भने, ‘दिउँसो एकछिन बत्ती आउने–जानेजस्तो देखियो, फेरि साँझमा बत्ती गयो ।’ यसरी दिन प्रतिदिन समस्या बढिरहनुका पछाडि विभिन्न बहानामा लापरबाही भइरहेको उनको बुझाइ छ । यदाकदा प्राकृतिक र प्राविधिक कारणले विद्युत् अवरुद्ध हुन सक्ने तर सधैँजसो यसरी अनियमित हुनुमा भने लापरबाही भएको उनले बताए ।
स्थानीयले बरु लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न प्राधिकरणलाई सुझाव दिएका छन् ।
विद्युत् प्राधिकरणको सुर्खेत कार्यालय प्रमुख अशोक लोहनीका अनुसार सोमबार रातिको हावाहुरी र पानीले सुर्खेतको धेरै स्थानमा विद्युतीय संरचना क्षति भएको छ । सोही कारण मंगलबार धेरै समय विद्युत् अवरुद्ध भएको उनको भनाइ छ ।
‘सुर्खेतमा विगतका वर्ष कोहलपुरको मात्र ३३ केभी लाइन हुँदा यही समयमा २–४ दिन बिराएर निकुञ्जतिर तार चुँडिएको भन्ने खालको फेसबुक पोष्ट त देख्नु भएको नै थियो होला,’ उनले भने, ‘अहिले उक्त लाइनको साथसाथै लम्की, चिसापानीको ३३ केभीसमेत थप हुँदा कोहलपुर लाइनमा लोड बढी भएर तार चुँडिने समस्या छैन । भोल्टेज लेभल पनि यही समयको अघिल्लो वर्षको भन्दा यो वर्ष राम्रो भएको छ ।’
पश्चिमको लाइन हावाहुरीका कारण क्षतिग्रस्त हुँदा कोहलपुरको लाइनले अहिलेको सुर्खेतको पिक लोड धान्न सक्ने अवस्थामा छैन । त्यसैले केही दिन विद्युत् समस्या बढ्ने देखिएको उनले बताए ।
- खानेपानीको समस्या उस्तै
विद्युतमात्र होइन, गर्मी समयमा वीरेन्द्रनगरमा खानेपानी समस्या झन् विकराल हुन्छ । गर्मी याम सुरु भएसँगै खानेपानीका मुहानमा पानीको स्रोत कम हुँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले त्यसलाई मध्यनजर गर्दै चैतमै खानेपानीको वितरण प्रणालीमा नयाँ कार्यतालिका लागु गरेको छ ।
जारी सूचनामा वीरेन्द्रनगरमा ९६ घण्टाको फरकमा खानेपानी वितरण गरिने उल्लेख छ । वैशाख लागेदेखि कार्यतालिका अनुसार धारामा पानी आउँदैन ।
संस्थाका अनुसार सुर्खेत उपत्यका (वीरेन्द्रनगर) मा सहज रूपमा खानेपानी आपूर्ति गर्न हाल दैनिक ३८८ लिटर प्रतिसेकेण्ड खानेपानी आवश्यक पर्छ । यो धारा जडान भएका घरधुरीका लागिमात्र हो । वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, इत्राम खोलाबाट २७, दन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रतिसेकेण्ड गरी जम्मा १५८ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध हुँदै आएको छ, जुन आवश्यकताभन्दा २३० लिटर प्रतिसेकेन्ड कम हो ।
गर्मी बढेसँगै प्रत्येक खानेपानीका मुहानमा पानीको स्रोत घटेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बर बहादुर गौतमले बताए । उनका अनुसार अहिले खडेरीका कारण खानेपानीका स्रोतमा कमी आएको छ । झुप्रा खोलामा ५०, खरिखोला बोरीखोलामा २०, इत्राम खोलामा १०, दुन्दुरे खोलामा ५ र खोर्के खोलामा ५ लिटर प्रतिसेकेण्ड गरी ९० लिटर प्रतिसेकेण्ड मात्र खानेपानी उपलब्ध भएको उनको भनाइ छ ।
उपत्यकाको असमान भू–बनोटका कारण कुनै धारामा पानी जाने र कुनैमा नजाने समस्या हुन सक्ने खानेपानी संस्थाका कार्यालय प्रमुख गौतम बताउँछन् । ‘यस्तो अवस्थामा छरछिमेकमा मिलेर खानेपानी प्रयोग गर्न अपिल गरिएको छ,’ उनले भने ।
प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा जनसङ्ख्या बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अहिलेसम्म २० हजार ३५० घरधुरीमा धारा जडान भएको छ । जबकि उपत्यकाभित्र घरधुरी संख्या झण्डै ४० हजार पुगेको अनुमान गरिएको छ । समग्र वीरेन्द्रनगरमा ५१ हजार घरधुरी छन् ।
करिब ४ हजार दुई सयभन्दा बढी घरधुरीले धाराका लागि आवेदन दिए पनि जडान हुन सकेको छैन । साढे ८ सय धारा जडान गर्ने सूचीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि सम्बन्धी विधेयकमा कांग्रेसको अड्को, अघोषित विरोध
-
आन्दोलनको भरमा विधेयक बन्दैन : सुमना श्रेष्ठ
-
राजावादीको पत्रमा रास्वपाले जवाफ नदिने
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक, के-के गर्यो निर्णय ?
-
औषधि विभागका निरीक्षकमाथि आक्रमणप्रति नेपाल निजामती कर्मचारी युनियनको विरोध
-
महिला समितिमा लफडा : बाझाबाझ र माइक फालाफाल