बागमती प्रदेश सभा : बजेटलाई विवादरहित बनाउन जोड
_iRot3KCbuM.png)
समाचार सारांश
- बागमती प्रदेश सभाका सदस्यहरूले आगामी आर्थिक वर्षको बजेटलाई विवादरहित बनाउन जोड दिएका छन्। उनीहरूले बजेट सन्तुलित र प्रभावकारी हुनुपर्ने बताए।
- सांसदहरूले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र प्रदेशलाई समृद्ध बनाउने बजेट कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। जलवायु परिवर्तन, शिक्षाको गुणस्तर, र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने कुरामा जोड दिए।
- कृषि क्षेत्रको विकास, सुशासन र पारदर्शीतालाई प्राथमिकता दिनुपर्ने र नागरिकको आयआर्जन बढाउने कार्यक्रम ल्याउनुपर्नेमा सांसदहरूको जोड थियो।
मकवानपुर । बागमती प्रदेश सभाका सदस्यहरूले आगामी आर्थिक वर्ष (२०८२/०८३) को बजेटलाई विवादरहित बनाउन जोड दिएका छन् । बजेटमाथि देखिने गरेका विवादलाई व्यवस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट कार्यक्रम निर्माण गर्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)को प्रस्तावमाथि बुधबारदेखि सुरु भएको छलफलमा सांसदहरूले बजेटलाई सन्तुलित र प्रभावकारी बनाउन जोड दिएका हुन् । विगतका सरकारले बजेटलाई सन्तुलित बनाउन नसक्दा पटक–पटक संसद बैठक प्रभावित हुने अवस्था बनेकाले उक्त समस्याको दीर्घकालीन समाधान गर्न जरुरी रहेको उनीहरूले औँल्याए ।
बैठकमा भारती पाठक, उर्मिला सुनुवार, ठाकुरप्रसाद ढकाल, सिर्जना सैजु, डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, आनन्दकुमार श्रेष्ठ, ईश्वर सापकोटा, गीता काफ्ले, केशवप्रसाद पोखरेल, मातृकाप्रसाद भट्टराई, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसीलगायत सांसदले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)को सन्दर्भमा धारणा राखेका थिए ।
मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्ष (२०८२/०८३) को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारदेखि छलफल सुरु भएको हो ।
बैठकमा सांसदहरूले नागरिकको जीवनमा सकारात्मक परिवर्तन हुने गरी बजेट कार्यक्रम तयार गरी अघि बढाउनुपर्ने बताए । प्रदेशलाई समृद्ध बनाउन ठोस आधारसहितको बजेट ल्याउनुपर्नेमा उनीहरूले जोड दिए ।
बैठकमा प्रदेश सभा सदस्य भारती पाठकले जलवायु परिवर्तनप्रति ध्यान दिनुपर्ने बताइन् । सरकारले योजना, नीति तथा कार्यक्रम बनाउँदा जलवायु परिवर्तनका असरहरू न्यूनीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
प्रदेश सरकारको बजेटमा वायु प्रदूषण, प्लास्टिक नियन्त्रणका कार्यक्रम कार्यान्वयनमा नीतिगत रूपमै अघि बढ्न जरुरी रहेको प्रदेश सभा सदस्य पाठकले बताइन् ।
प्रदेश सभा सदस्य उर्मिला तामाङले शिक्षाको गुणस्तर सुधारका कार्यक्रमहरू सञ्चालनमा सरकार अग्रसर हुन जरुरी रहेको बताइन् । प्रविधिमैत्री शिक्षालाई अघि बढाएर समसामयिक ढंगबाट पाठ्यक्रम विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।
बैठकमा सांसद ठाकुर प्रसाद ढकालले नागरिकको अपेक्षा अनुसारको बजेट कार्यक्रम निर्माण गर्नुपर्ने बताए । उनले प्रदेश विश्वविद्यालयलाई व्यवस्थित र स्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।
गरिब कृषकहरूको पहुँचमा शिक्षाको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै ढकालले नागरिकको आयआर्जन बढाउन र रोजगारीको अवसर सिर्जना गर्न पर्यटन प्रवर्द्धनका प्रभावकारी कार्यक्रम तयार गर्नुपर्ने बताए ।
सांसद सिर्जना सायजुले आत्मनिर्भर नागरिक बनाउन बजेटलाई केन्द्रित गर्नुपर्ने बताइन् । कृषि क्षेत्रको विकास गर्न वैज्ञानिक र यान्त्रीकरणमा सरकारले जोड्नुपर्ने उनको भनाइ छ ।
सरकारले कृषकहरूको समस्या हल गर्ने, रासायनिक मलको उचित व्यवस्थापन, प्रविधि हस्तान्तरणको वातावरण तयार गर्न कार्यक्रम तयार गर्नुपर्ने सांसद सायजुले बताइन् । सुशासन र पारदर्शीतालाई प्राथमिकीकरण गरी सरकारले आम नागरिकहरूलाई आर्थिक उपार्जनमा जोड्न जरुरी रहेको उनले प्रस्ट पारिन् ।
अन्य सांसदहरूले आगामी नीति, कार्यक्रम र बजेट जनताको इच्छा, चाहना सम्बोधन हुने किसिमको हुनुपर्नेमा जोड दिए । स्वदेशमा रोजगारी सिर्जना हुने किसिमको बजेट ल्याउन पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराए । कृषि, उद्योग, वन, पर्यटन प्रवर्द्धनलगायतका विषयलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ ।
प्रदेश सभाको अर्काे बैठक बिहीबार बिहान ११.०० बजे बस्ने छ । सो बैठकमा पनि प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन क्षेत्रभित्र निजी विद्यालय सञ्चालन प्रकरण : कागजपत्र पेस गर्न आलटाल
-
भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या
-
उत्तर प्रदेशमा आँधीबेहरीका कारण १४ जनाको मृत्यु
-
सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि...
-
आलोचनाबिच ट्रम्पले स्वीकारे कतारले उपहारमा दिएको विमान
-
शक्तिशाली भूकम्पपछि ग्रिसमा सुनामीको चेतावनी