बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

तीनकुने घटनाको अनुसन्धान पूरा, प्रसाईंसहित ८ जनाविरुद्ध ज्यान मुद्दामा अभियोजन गर्नुपर्ने राय

बुधबार, ०७ जेठ २०८२, १४ : ३९
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गर्ने विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ।
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ।
  • आगजनीमा संलग्नहरू विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने राय छ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गर्नेहरू विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ । काठमाडौँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

 बुधबार साँझसम्म प्रतिवेदन बुझाउने तयारी भइरहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जना विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।

आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम, अछाम पञ्चदेवल नगरपालिका–५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरी र दुर्गा प्रसाईं सहित ८ जनालाई ज्यान सम्बन्धी कसुरमा प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।

अनुसन्धान अधिकृतहरूले प्रतिवेदनलाई अन्तिम रूप दिइरहेका छन् । आरोपीहरू विरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने राय आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकामध्ये राज्य विरुद्धको कसुरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव मुद्दामा म्याद थप भएका २७ जना हिरासतमा छन् । अन्य आरोपीहरूलाई प्रहरीले यसअघि अनुसन्धान पुरा गरेर हाजिर जमानीमा रिहा गर्दै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप