बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

औषधि विभागका निरीक्षकमाथि आक्रमणप्रति नेपाल निजामती कर्मचारी युनियनको विरोध

बुधबार, ०७ जेठ २०८२, १८ : ३४
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • रौतहटको राजपुर नगरपालिकामा दर्ता बिना सञ्चालित औषधि पसलमा अनुगमन गर्दा कर्मचारीमाथि हातपात भएको घटना।
  • नेपाल निजामती कर्मचारी युनियनले दोषीलाई कारबाहीको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझायो।
  • अनुगमन टोलीमा औषधि व्यवस्थापक शम्भु शाहको नेतृत्व थियो, जसमा प्रहरी निरीक्षक पनि सहभागी थिए।

रौतहट । रौतहटको राजपुर नगरपालिका–४ मा दर्ताविना सञ्चालित औषधि पसलमा अनुगमन गर्ने क्रममा औषधि व्यवस्था विभागका निरीक्षकहरूमाथि हातपात र अमानवीय व्यवहार भएको भन्दै नेपाल निजामती कर्मचारी युनियनले कडा आपत्ति जनाएको छ।

नेपाल निजामती कर्मचारी युनियन, औषधि व्यवस्था विभागअन्तर्गत प्राथमिक कार्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। अनुगमन टोलीमा औषधि व्यवस्थापक शम्भु शाहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकसमेत सहभागी थिए।

घटनामा निरीक्षक ओम जयसवाल र अमर शर्मामाथि केही व्यक्तिहरूद्वारा हातपात र आपराधिक व्यवहार गरिएको युनियनले जनाएको छ। यस्ता गतिविधिले कर्मचारीको मनोबल गिराउने र जनतामुखी सेवा प्रवाहमा नकारात्मक असर पार्ने युनियनको भनाइ छ।

युनियनका अध्यक्ष धीरज रौनियार र सचिव चतुर्भुज धनाडीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा दोषीलाई तत्काल पक्राउ गरी प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ । साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न गृह मन्त्रालयसँग समन्वय गर्नसमेत मन्त्रालयसँग आग्रह गरिएको छ।

संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवज्यूद्वारा जनस्वास्थ्य सुधारका लागि गरिएका प्रयासप्रति आभार व्यक्त गर्दै कर्मचारीको सुरक्षाका लागि थप पहलको मागसमेत गरेको छ।

gyapanpatra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप