बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिषा प्रकरण

सहसचिव भट्टराईको मोबाइल जफत, फरेन्सिक ल्याबमा पठाइँदै

बुधबार, ०७ जेठ २०८२, २३ : ०६
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईको मोबाइल जफत गरेको छ।
  • अख्तियारले मेनपावर र ट्राभल एजेन्सीहरूको डिभाइस पनि बरामद गरेको छ र थप अनुसन्धान अघि बढाउने भएको छ।
  • भिजिट भिसामा सेटिङ मिलाएर खाडी गएका ४७ महिला नफर्किएको र पहिले लिने गरेको रकम बढाउन सूचना सर्कुलर गरिएको कुरा उल्लेख छ।

काठमाडौँ । अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईको मोबाइल जफत गरेको छ । गृह मन्त्रालयमा तानिएका भट्टराईलाई नियन्त्रणमा लिएर मोबाइल जफत गरिएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

उनको मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइने अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘मोबाइलको डिएफएल गरेपछि अन्य उच्च अधिकृतहरूको संलग्नता भए नभएको पुष्टि हुन्छ ।’

अख्तियारले छापा मारेर मेनपावर र ट्राभल एजेन्सीहरूको डिभाइस पनि बरामद गरेको छ । सबै डिभाइस परीक्षण गरेर थप अनुसन्धान अघि बढाइने ती अधिकृत बताए । उनले भने– ‘सबै डिभाइसको डिएफएल रिपोर्ट आएपछि अरू अनुसन्धान अघि बढ्छ ।’

पछिल्लो समय भिजिट भिसा लगाएर सेटिङमा खाडीमा गएका ४७ जना महिला फर्केका छैनन् । भिजिट भिसामा जानेहरूको रेकर्ड राख्ने गरिएको तर, फर्किनेहरूको यकिन विवरण अध्यागमन विभागले राख्ने गरेको छैन ।

अध्यागमन विभागसँग अहिले २०२४ मा विमानस्थलबाट विदेश गएकाहरूको एकीकृत तथ्याङ्क मात्र छ । २०२४ मा भ्रमण र तीर्थयात्रामा नेपालबाट पुरुष १ लाख ५९ हजार ०४३ जना र महिला १ लाख १५ हजार ३५६ जना विदेश गएका थिए । भ्रमण र तीर्थयात्रा गर्न निस्किएकाहरु मध्ये कत्ति जना फर्किए भन्ने विवरण विभागले अझै सङ्कलन गर्दैछ ।

मानव तस्करसँग मिलेर विदेशमा जानेहरूसँग असुल गर्ने रकम बढाउन २०८१ चैत ३१ मा अध्यागमनका केही कर्मचारीको ह्वाट्स एपमा एउटा सूचना ‘सर्कुलर’ गरेका थिए ।

लेखिएको थियो– ‘आइतबारदेखि भिजिट भिसामा जाने एलहरुको हकमा प्रस्थान अनुमति नदिइने भएकोले सोही बमोजिम गर्नु गराउन जानकारी गराइन्छ ।’ त्यस्ता सूचना बेला बेलामा परिवर्तन भएर सर्कुलर हुने गरेको विमानस्थलका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘पहिले लिने गरेको रकम वृद्धि गर्न सो सूचना सर्कुलर गरिएको हो ।’

अहिले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा १२८ जना अधिकृत कार्यरत छन् । २०८० मङ्सिरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ९ जना अध्यागमन अधिकृतहरूलाई मुद्दा चलाएको थियो । उनीहरूले सफाइ पाएपछि विमानस्थलमा फेरि ‘सेटिङ’ सुरु भएको बताइएको छ ।

सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डङ्गोल, पीताम्बर रिमाल र सुजन फागो छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप