मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि
विराटनगर । आठौँ संस्करणको विराट गोल्ड कपको उपाधि मच्छिन्द्र एफसी काठमाडौँले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम साङ्ग्रिला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।
उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम साङ्ग्रिलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । विराट गोल्ड कपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ ।
यो सिजनमा ७ वटा गोल्ड कपमा भाग लिएकोमध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि केपी ओली कप र बागमती गोल्ड कपको उपाधि जितिसकेको छ ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरुङ र युसुप थपलियाले गोल गरे । उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।
अतिरिक्त समयमा साङ्ग्रिलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरी टिमलाई अग्रता दिलाए । युसुप थपलियाले प्रहार गरेको कर्नर साङ्ग्रिलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल क्लियर गर्न सकेनन् ।
त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाए । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औँ मिनेटमा युसुप थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो ।
प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए ।
उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए । फाइनलमा साङ्ग्रिलाले २५ औँ मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाए ।
३५ औँ मिनेटमा साङ्ग्रिलाका सुशील राईले गोल गर्ने अवसर खेर फाले । ४२ औँ मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी स्टेपीनले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्र्ट माथिबाट बल बारियो । ४३ औ मिनेटमा मच्छिन्द्रका आयुष घलानले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबाट चुक्यो ।
उनले गरेको कडा प्रहार बाहिरिँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफसम्म गोलरहित खेल बराबरीमा सकियो । ५४ औँ मिनेटमा साङ्ग्रिलाका विवेक पौडेलले मध्य भागबाट निकालेको पासलाई सुशील राईले डिबक्स भित्रबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ८३ औँ मिनेटमा स्टिेफिन विनङले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीालका गोलकिपर विशाल सुनारले विफल पारिदिए ।
हारपछि साङ्ग्रिला मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोल आत्मसात् गर्न पुगेको बताए । ‘मोरङका कप्तान अभिषेक लिम्बु बाहिरिएपछि डिफेन्स लाइन फितलो भयो,’ उनले भने, ‘जसको कारणले पराजय भोग्नुपर्यो ।’ साङ्ग्रिलाका कप्तान अभिषेक लिम्बुले भने, ‘मच्छिन्द्र बलियो टिम हो । हामीले सक्दो प्रयास गर्दागर्दै पनि हार खेप्नुपर्यो ।’
जित हात पारेपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले निर्धारित समयमा गोल हुन नसकेपछि आफूहरूले खेल जितेको बताए । ‘यसमा हामी खुसी रहेका छौ,’ उनले भने । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न हामी पहिलाबाटै मानसिक रूपमा तयार रहेको बताए । ‘दबाबको बाबजुद पहिलोपटक विराट गोल्ड कपको उपाधि जित्नु हाम्रो गौरव हो,’ उनले भने, ‘योसँगै हामीले इतिहास पनि रचेका छौँ ।’
विजेता हुने खेलाडीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्हाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण