सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘द रेड सुटकेस’ क्युएफएक्समा रिलिज नगर्ने घोषणा

आइतबार, २५ चैत २०८०, १९ : १६
आइतबार, २५ चैत २०८०

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘द रेड सुटकेस’ का निर्माण टिमले नेपालको क्युएफएक्स चेनमा फिल्म रिलिज नगर्ने घोषणा गरेको छ । निर्माण कम्पनी आईसफल प्रोडक्सनले आइतबार विज्ञप्ती जारी गर्दै आफ्नो फिल्म क्युएफएक्स चेनका हलमा रिलिज नगर्ने घोषणा गरेको हो ।

विज्ञप्तिमा ‘भेनिस फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृतसमेत फिल्मलाई क्युएफएक्सले बेवास्ता गर्दै नयाँ वर्षको अवसरमा रिलिज नगर्न र अर्को हप्ता सार्न भनेपछि आफूहरू दुःखी भएको उल्लेख छ ।

‘विदेशमा दर्शक तथा समीक्षकबाट चलचित्रले राम्रै तारिफ पाए पनि हाम्रो लागि घरेलु दर्शकको प्रतिक्रियाको बेग्लै अर्थ रहन्छ । यही कारण पनि विदेशी वितरकको क्यालेन्डरसँग सामन्जस्यता मिलाउँदै हामीले चैत्र ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेका हौँ । तर प्रदर्शनको सङ्घारमा देशको सबैभन्दा ठुलो सिनेमा चेन क्युएफएक्सले भने ‘द रेड सुटकेस’ लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आशयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्युएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ । यो निर्णयले दर्शकमा पर्न जाने असुविधाप्रति हामी हृदयदेखि नै क्षमा चाहन्छौँ । योबाहेकका सिनेमा घरमा भने चलचित्र निर्धारित मितिमा नै प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

देशलाई फिल्मको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने ‘द रेड सुटकेस’ जस्ता फिल्ममाथि नेपालमा व्यापारको नाममा हुने विभेद नयाँ नभएको पनि पनि विज्ञप्तिमा उल्लेख छ ।

‘यसअघि पनि हाम्रो निर्माण रहेको ‘ऐना झ्यालको पुतली’ माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोकमा निर्धारित समयमा बुकिङ खोलिएको थिएन । कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो छ । चाडपर्व र बिदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य  निर्माण गरिरहेका छन् । हामी यस्ता असहिष्णु व्यवहारको भद्र अवज्ञा गर्न चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

फिल्मलाई युएफओ च्यानलले युरोपको लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भइरहेको छ । फिडेल देवकोटाको लेखन र निर्देशन रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र सृष्टि श्रेष्ठलगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप