बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज

बुधबार, ३१ असार २०८३, १२ : ४२
बुधबार, ३१ असार २०८३

सारांश

  • बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री आईक्लाउडमार्फत फैलिन दिएको आरोपमा एप्पलविरुद्ध दायर गरिएको मुद्दा अमेरिकी सङ्घीय अदालतले खारेज गरेको छ ।
  • अदालतले एप्पललाई विद्यमान कानुनअनुसार यस्तो विषयमा कानुनी रूपमा जिम्मेवार बनाउन नसकिने भन्दै मुद्दा खारेज गरेको हो ।
  • यो फैसलाले प्रविधि कम्पनीहरूलाई सेक्सन २३० कानुनी संरक्षणको पक्षमा महत्त्वपूर्ण समर्थन दिएको छ ।

न्युयोर्क । अमेरिकाको एक सङ्घीय अदालतले आईक्लाउडमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फैलिन दिएको आरोपमा एप्पलविरुद्ध दायर गरिएको मुद्दा खारेज गरेको छ । अदालतले यस्तो विषयमा कम्पनीलाई कानुनी रूपमा जिम्मेवार बनाउन विद्यमान कानुनले अनुमति नदिने भन्दै निर्णय सुनाएको हो ।

प्रस्तावित सामूहिक मुद्दा एमी र जेसिका नामबाट चिनिएका दुई व्यक्तिले दायर गरेका थिए । एप्पलले बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको फैलावट रोक्न वा सीमित गर्न पर्याप्त कदम नचालेको आरोप उनीहरूले लगाएका थिए ।

एप्पलले आफ्नो बचाउमा अमेरिकी सेक्सन २३० कानुनको आधार लिएको थियो । उक्त कानुनअनुसार अनलाइन प्लेटफर्महरूलाई प्रयोगकर्ताले पोस्ट गरेको सामग्रीका लागि सामान्यतया प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गर्न सकिँदैन । अदालतले पनि यही कानुनी आधारलाई स्वीकार गर्दै एप्पलको पक्षमा फैसला गरेको हो । 

क्यालिफोर्नियाको सान होजेस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश नोएल वाइजले हालको कानुनले कम्पनीहरूलाई बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री सक्रिय रूपमा पहिचान गरी अनिवार्य रूपमा जानकारी गराउन बाध्य नपारेको उल्लेख गरिन् । उनले बालबालिकाको शोषण रोक्न आवश्यक कानुन बनाउने जिम्मेवारी अदालतको नभई विधायिकाको भएको बताइन् ।

अदालतले मुद्दा पुनः दायर गर्न नमिल्ने गरी खारेज गरेको छ । वादी पक्षका कानुन व्यवसायी हिलारी नाप्पीले अदालतको निर्णयको अध्ययन भइरहेको र अबका कानुनी विकल्पबारे विचार गरिरहेको बताएका छन् । प्रविधि कम्पनीहरूलाई आफ्ना डिजाइन निर्णयबाट हुने हानिका लागि जिम्मेवार बनाउने कानुनी प्रयास अझ आवश्यक भएको पनि उनले उल्लेख गरे । एप्पलले प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकता बताउँदै आएको छ । तर कम्पनीले आफ्नो प्रणालीमा अवाञ्छित गतिविधि रोक्न पर्याप्त प्रयास नगरेको भन्दै विगतदेखि आलोचना पनि खेप्दै आएको छ ।

सन् २०२१ मा एप्पलले आईक्लाउडमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री पत्ता लगाउने योजना सार्वजनिक गरेको थियो । बाल सुरक्षा पक्षधरहरूले त्यसलाई समर्थन गरे पनि प्रयोगकर्ताको उपकरणमै सामग्री स्क्यान गरिने भएकाले गोपनीयता हनन हुने भन्दै व्यापक आलोचना भएपछि कम्पनीले योजना फिर्ता लिएको थियो । यसै वर्ष फेब्रुअरीमा पश्चिम भर्जिनियाका महान्यायाधिवक्ताले पनि आईक्लाउडमा यस्ता सामग्री भण्डारण र वितरण हुन दिएको आरोप लगाउँदै एप्पलविरुद्ध अर्को मुद्दा दायर गरेका थिए । उक्त मुद्दा अहिले पनि विचाराधीन छ ।

यो निर्णय प्रविधि कम्पनीहरूका लागि महत्त्वपूर्ण मानिएको सेक्सन २३० कानुनी संरक्षणको पक्षमा आएको पछिल्लो ठूलो फैसला मानिएको छ । यसअघि भने अमेरिकाका दुई फरक मुद्दामा अदालतले मेटा र युट्युबलाई आफ्ना प्लेटफर्मको डिजाइनसँग सम्बन्धित कारण देखाउँदै प्रयोगकर्तालाई पुगेको क्षतिका लागि जिम्मेवार ठहर गरेको थियो ।  ती मुद्दाले सामाजिक सञ्जाल कम्पनीहरूको कानुनी उत्तरदायित्वबारे नयाँ बहस सुरु गराएका छन् । यसैबीच, बालबालिका र किशोरकिशोरीमाथि सामाजिक सञ्जालको प्रभावलाई लिएर बढ्दो चिन्तासँगै अमेरिकामा सेक्सन २३० कानुन संशोधन वा खारेज गर्नुपर्ने विषयमा पुनः बहस चर्किएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप