बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ

बुधबार, ३१ असार २०८३, १२ : २८
बुधबार, ३१ असार २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २,७७९ महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा ९० जनामा एचपीभी पोजेटिभ देखिएको छ ।
  • परीक्षण गरिएका महिलाहरूमध्ये एचपीभी १६ र १८ बाहेक अन्य प्रकारका एचपीभीको पनि परीक्षण गरिएको थियो ।
  • स्तन क्यान्सर परीक्षणमा ४ जनाको बायोप्सी गर्नुपर्ने देखिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था (सिआइएन) ११ जनामा देखिएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरमा २ हजार ७७९ जना महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा ९० जनामा एचपीभी डीएनए रिपोर्टमा पोजेटिभ देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्ममा महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणको प्रयोगशाला रिपोर्टमा १२ जनालाई एचपीभी १६, १३ जनालाई एचपीभी १८ र ६५ जनालाई १६ र १८ बाहेक अन्य एचपीभी पोजेटिभ देखिएको हो । 

एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ । यसमध्ये नेपालमा एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण हुनेछ गरेको थियो । यस वर्ष महानगरपालिकाले एचपीभी १६ र १८ बाहेक अन्य प्रकारका एचपीभीको पनि परीक्षण गराएको हो । 

एचपीभी डीएनए पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट सङ्क्रमण भएर क्यान्सर हुन सक्ने जोखिम चाहिँ हो । 

क्यान्सर परीक्षण गरिएका ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप र्लिएका थिए । उनीहरूमध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुगेका थिए । कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार जाँच गर्न पुग्नुभएका मध्ये २ हजार ७७९ जनाको एचपीभीसँगै २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरियो । उनीहरूमध्ये ४११ जनाको मेमोग्राम गरियो । ४९४ जनाको स्तनको भिडियो एक्सरे गरियो । 

उनीहरूमध्ये ४ जनाको स्तनको वायोप्सी गर्नु पर्ने देखियो । १ जना सम्पर्कमा नै आइनन् । २ जनाको रिपोर्ट पोजेटिभ देखियो । उनीहरू अहिले उपचाररत छन् । १ जनाको स्तनमा मासु पलाएको पाइयो । 

११ जनाको पाठेघरको मुखमा सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया देखियो । यो क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । ११ जनामध्ये ४ जनामा हाइ ग्रेडको समस्या र ७ जनामा लो ग्रेडको समस्या थियो । 

२ जनाको पाठेघरको मुखमा मासु पलाएको मासु काटेर फाल्ने (सर्भाइकल पोलिपेक्टोमी) गरियो । परीक्षणका क्रममा आङ् खसेका, पाठेघरको मुखमा सङ्क्रमण (पीआइडी) देखिएको महिलाहरूको उपचार गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप