शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

एक्लाएक्लै भिड्न लागेका गठबन्धन दलहरूको ‘इगो हर्ट’ कि शक्ति परीक्षण ?

एमालेको एकल निर्णयप्रति नेताहरू असन्तुष्ट
सोमबार, २६ चैत २०८०, ०६ : १२
सोमबार, २६ चैत २०८०

काठमाडौँ । सत्ता सहकार्यका लागि नयाँ समीकरण बनाएका पाँच दलीय गठबन्धन वैशाख १५ गते हुने उपनिर्वाचनमा एक्ला एक्लै भिड्ने भएका छन् । शनिबार भएको उम्मेदवार मनोनयन दर्तामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले छुट्टा छुट्टै उम्मेदवारी दिएका हुन् ।

यद्यपि इलाम–२ मा भने एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई माओवादीले समर्थन गरेको छ । गठबन्धनकै अन्य घटक रास्वपाले मिलन लिम्बू र एकीकृत समाजवादीले जितबहादुर राईलाई मैदानमा उतारेको छ । जसपाले भने स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमलाई समर्थन गरेको छ । 

यता बझाङ प्रदेश सभा–१ मा एमाले, माओवादी, जसपा र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । एमालेले जिल्ला अध्यक्षसमेत रहेका दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । माओवादीले जनकराज बुढालाई उम्मेदवार बनाएको छ । जसपाबाट रामबहादुर जाग्री र एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाले भने उम्मेदवारी दिएको छैन । 

विगतमा सत्ता सहयात्री दलहरूले साझा उम्मेदवार बनाएर निर्वाचनमा भाग लिने अभ्यास गरेका थिए । तर यो पटक सत्ता गठबन्धन दलहरूबाट नै छुट्टा छुट्टै उम्मेदवारी दिएपछि चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । तथापि चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भएकाले साझा उम्मेदवार बनाउने प्रयास हुनसक्छ । अहिलेसम्मको स्थिति हेर्दा दुवै क्षेत्रमा गठबन्धन दलहरूबिच चुनावी तालमेल हुने सम्भावना निकै काम रहको छ ।  

  • छुट्टा छुट्टै उम्मेदवारी किन ? 

फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, रास्वपा र जसपाबिच नयाँ सत्ता समीकरण बनाएर जाने सहमति पत्रमा हस्ताक्षर भएको थियो । पछि एकीकृत समाजवादी समेत जोडिएपछि फागुन २९ गते बालुवाटारमा बसेको पाँच दलको बैठकमा सरकार सञ्चालन, प्रदेश, राष्ट्रिय सभा भागबण्डा, उपनिर्वाचनमा तालमेल लगायत विषय प्याकेजमै हल हुने शीर्ष नेताहरूले दाबी गरेका थिए । 

तर प्रदेश भागबण्डा, सरकार सञ्चालनका लागि न्यूनतम साझा नीति तथा कार्यक्रमका विषयमा गठबन्धन दलहरूबिच सहमति भए पनि अन्य विषयमा कुरा मिलेको छैन । प्रदेशतर्फ मधेस, बागमती, लुम्बिनीबाहेक अन्य प्रदेशमा सरकार गठन प्रक्रिया जटिल देखिएको छ । राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाए पनि उपाध्यक्षका लागि एमाले र एकीकृत समाजवादीले आ–आफ्नै दाबी गरेका छन् । 

गठबन्धन दलहरूबिच प्याकेजमै सहमति नभएपछि त्यसको असर उपनिर्वाचनमा देखिने भएको छ । सत्ता सहयात्री दलहरूमध्ये रास्वपा पहिलेदेखि नै एकल प्रतिस्पर्धामा देखिएपनि अन्य दलहरू ‘इगो हार्ट’ भएका कारण एक्लाएक्लै भिडेको नेताहरूको अभिव्यक्तिबाट प्रस्ट झल्किन्छ । पछिल्लो चुनावअघि गठबन्धनको विपक्षमा कांग्रेस, एमाले र माओवादी लगायत दलहरूभित्रै तीव्र दबाब देखिएकाले शक्ति परीक्षणका रूपमा पनि उपनिर्वाचनलाई उपयोग गर्न खोजिएको हुन सक्ने पनि विश्लेषक गरिएको छ ।   

  • एमालेको एकल निर्णयप्रति नेताहरू असन्तुष्ट 

चैत ११ गते केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले इलाम २ मा सुहाङ र बझाङ प्रदेश सभा १ मा दमनलाई उम्मेदवार बनाउने निर्णय गरेपछि सत्ता साझेदार दलहरू एमालेसँग असन्तुष्ट देखिएका छन् । 

विगतमा गठबन्धन दलहरूबिच सहकार्य भए पनि बेइमानी भएकाले अहिले चुनावी तालमेल हुने सम्भावना नरहेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने पार्टीको निर्णय भएकाले कसैसँग तालमेल नगर्ने उनले प्रस्ट पारे । 

‘यो निर्वाचनमा पाँचै दल आ–आफ्ना उम्मेदवार उठाउन स्वतन्त्र छौँ । गठबन्धनबाट एउटै उम्मेदवार उठाउने कुनै निर्णय होइन । त्यसैले हामीले आफ्ना उम्मेदवार उठाएका छौँ । पहिला सहकार्य पनि हुन्थ्यो, बेइमानी पनि हुन्थ्यो । गठबन्धन सरकारमा बस्दैमा सबै कुरा गठबन्धनको निर्णयअनुसार चल्दैन,’ आइतबार रातोपाटीसँग पाण्डेले भने ।  

यस्तै समाजवादी मोर्चाका दलहरूबिच पनि सहकार्य हुने कुरामा आफूलाई विश्वास नभएको उनको बुझाइ छ । ‘चुनावी तालमेलका लागि समाजवादी मोर्चाका दलहरूबिच सहमति हुने मलाई पत्यार लागेको छैन । एमाले र माओवादीबिच सहकार्य भएर जान खोजेको जस्तो देखिन्छ’, उनले भने, ‘प्रचण्डजीले बझाङमा तपाईंलाई सहयोग गर्छौँ इलाममा सुवासजीकै छोरा उठेको हुनाले उहाँलाई सहयोग गर्ने भएकाले हामीले उम्मेदवारी दिँदैनौँ भनेका थिए । तर बझाङमा सहकार्य होला जस्तो देखिएको छैन । यसले हाम्रो सिङ्गो पार्टी पङ्क्तिमा चेतना भरेको छ ।’ 

यता माओवादीका सचिव देवेन्द्र पौडेलले गठबन्धनबाट साझा उम्मेदवार उठाउने विषयमा छलफल भइरहेको दाबी गरेका छन् । ‘उम्मेदवारी फिर्ता लिने समय अझै बाँकी छ । साझा उम्मेदवार बनाऔँ भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने । इलाममा एमालेलाई समर्थन गरेपछि बझाङमा आफ्ना उम्मेदवार एमालेले समर्थन गर्नेमा उनले विश्वास लिएका छन् । 

तर इलाममा माओवादीले एमालेलाई समर्थन गरे पनि बझाङमा आफूहरूको समर्थन नरहने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले गठबन्धन सत्ता सहकार्यका लागि मात्र भएकाले उपनिर्वाचनमा एक्ला एक्लै भिड्ने जिकिर गरे । 

‘सत्तामा मात्र हामीले सहकार्य गरेका हौँ । अन्य विषयमा होइन । एमालेले कतै पनि उम्मेदवारी फिर्ता गर्दैन । अन्य उम्मेदवारलाई पनि समर्थन गर्दैनौँ’, गौतमले भने, ‘इलाममा माओवादीले समर्थन गरेको छ । बझाङमा हामीले उम्मेदवारी फिर्ता लिँदैनौँ ।’ 

सत्ता गठबन्धनका अर्को घटक जसपाका नेता राजेन्द्र श्रेष्ठले सहयात्री दलहरूसँग सल्लाह नगरी एमालेले एकपक्षीय रूपमा उम्मेदवारी घोषणा गरेपछि आफूहरूले एकल निर्णय गरेको प्रस्ट पारे । 

‘एमालेले एकपक्षीय रूपमा उम्मेदवारी घोषणा गरेपछि अन्यले पनि आफ्नो उम्मेदवारी दिएका हुन् । शेरबहादुरजीको पालामा जस्तो अहिलेको गठबन्धन बनाएको होइन । त्यति बेला उच्चस्तरीय राजनीतिक संयन्त्र र कार्यदल बनेका थिए । अहिले सत्ता सहकार्य मात्र गर्ने भनेपछि उपनिर्वाचनमा सहकार्य गर्नु आवश्यक छैन,’ श्रेष्ठले भने । 

उनले समाजवादी मोर्चामा आबद्ध दलहरूबिच सहकार्य हुने सम्भावना पनि न्यून हुँदै गएको बताए ।

पोष्ट इलेक्सन गठबन्धनको पक्षमा रास्वपा 

यता राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले आफूहरू सुरुदेखि चुनावी गठबन्धनको विपक्षमा रहेको दाबी गरे । ‘अन्य दलहरूले के गरे थाहा छैन । रास्वपा सुरुदेखि नै एकल प्रतिस्पर्धाको पक्षमा उभिएको दल हो । यो समीकरण हुँदोखेरि नै हामी भिन्नै लडेको हो । अहिले उहाँहरू पनि हाम्रै लाइनमा आउनुभएको होला,’ उनले भने । 

ढकालले निर्वाचन पूर्व गठबन्धन गर्नेभन्दा पनि निर्वाचनपछि हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताए । 

  • कसको शक्ति कति ? 

विगतको अङ्कगणितले इलाम–२ मा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दल देखिएका छन् । गत वर्ष मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए । त्यति बेला खड्कालाई माओवादी र एकीकृत समाजवादीले समर्थन गरेको थियो । रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत पाएका थिए । जसपाका यामप्रसाद लिम्बूले ७२४ मत पाएका थिए । 

समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत रहेको छ । कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । माओवादीको मत ५ हजार १५३, रास्वपाको मत ४ हजार ६८६ रहेको छ । 

यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टी १४१३, सङ्घीय लोकतान्त्रिक मञ्च १३२९, राप्रपा ११९१ मत रहेको छ । 

कोशी प्रदेश नामकरणमा पहिचानवादी शक्तिहरूको निशानामा एमाले थियो र छ । एमालेले जनजाति समुदायबाटै सुहाङलाई मैदानमा उतारेको छ । नयाँ र युवा उनीसँग राजनीतिक पृष्ठभूमि छैन । सुवासका कान्छा छोरा सुहाङ चैत १ मा मात्र एमालेमा औपचारिक रूपमा जोडिएका हुन् ।  एमालेमा उनको राजनीतिक हैसियत कानुन विभागका सदस्यका रूपमा रहेको छ । 

एमालेका पुराना नेताहरूको विश्वास जित्न र एमाले पृष्ठभूमिका स्वतन्त्र उम्मेदवार थेगिमलाई रोक्न उनलाई चुनौती देखिन्छ ।  

कांग्रेसले चुनावी मैदानमा पुरानै अनुहार खड्कालाई दोहोर्‍याएको छ । गत वर्ष उनी सुवाससँग ११४ को झिनो मतान्तरले पराजित भएका थिए । सुहाङलाई गठबन्धनबाट माओवादी र निर्वाचन बहिस्कार गरेको विप्लवको पार्टी नेकपाको साथले राहत मिले पनि विगतको विरासत जोगाउन एमालेले धेरै नै पापड बेल्नुपर्ने देखिन्छ । 

यता निर्वाचन आयोगले बझाङ प्रदेश सभा १ र २ को समानुपातिक मत परिणाम छुट्टाछुट्टै सार्वजनिक नगरेकाले कुन दलको मत कति भन्ने विषयमा स्पष्ट मत खुल्न सकेको छैन । यहाँ पनि मुख्य प्रतिस्पर्धी दलहरू कांग्रेस र एमाले नै देखिएको छ । 

गत वर्ष प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह १७ हजार ११२ मत ल्याइ विजयी भएका थिए । उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । त्यति बेला माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई नै समर्थन गरेका थिए । राप्रपा दुवै गुटको जम्मा मत ८३० रहेको छ । यसपटक कांग्रेसले सिंहकै छोरा अभिषेक लाई चुनावी मैदानमा उतारेको छ । एमालेका उम्मेदवार दमन पनि परिचित अनुहार भएकाले त्यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहमा पालिकातर्फ कांग्रेस र वडातर्फ एमालेको वर्चश्व छ । यद्यपि बझाङमा गठबन्धनबाट साझा उम्मेदवारी दिने विषयमा एमालेसँग छलफल भइरहेको माओवादीका नेताहरूले दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप