सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको निराशालाई सम्बोधन गर

मङ्गलबार, २७ चैत २०८०, १४ : ४५
मङ्गलबार, २७ चैत २०८०

यतिबेला सर्वसाधारण चरम निराशाको भुमरीमा रुमलिएका छन् । दिन प्रतिदिन महँगी बढेर बसिसक्नु छैन । सत्तारुढ दलका नेता भाषण गरेर कहिल्यै थाक्दैनन् । भाषणको भरमा शासन चल्दैन । शासन चलाउन दीर्घकालीन सोच, चिन्तन र भिजन चाहिन्छ । 

भिजनविनाको शासन असफल हुन्छ । चर्का कुरा गरेर हुने भए यो देश धेरैपहिले बनिसक्थ्यो । लामो समयदेखि देश चरम निराशामा गुज्रिरहेको छ । गरिब जनताको चुलो निभ्ने हो कि भन्ने चिन्ता छ यहाँ । राजनीतिक दल र तिनका नेतामा देश र जनताप्रति कुनै चिन्ता भएको देखिँदैन । नेताहरू व्यक्तिगत स्वार्थमा लिप्त बन्दा देशले दुःख पाइरहेको छ । 

पुरानो सोच, चिन्तन र कार्यशैलीले देश बनाउन सकिँदैन । अब राजनीतिक दल र तिनका नेताले जनतामा निराशा आउन दिनु हँुदैन । जनता निराश बने भने देशमा समस्या निम्तिन सक्ने खतरा पनि रहन सक्छ । सत्तामा रहेका र उनका आसेपासेबाहेक अरु धेरैमा तीव्र निराशा छ । यसबारे राजनीतिक दल र तिनका नेता गम्भीर बन्नुपर्ने देखिएको छ । सत्तारुढ दल मात्र होइन, प्रतिपक्ष दल पनि देशप्रति गम्भीर बन्न सक्नुपर्छ । 

सरकारको नेतृत्व परिवर्तन सँगसँगै प्रशासनिक क्षेत्रमा पनि निराशा छाएको देखिन्छ । केही भ्रष्ट कर्मचारीबाहेक इमानदारी कर्मचारीलाई जीवन धान्न मुस्किल छ । 

महँगीका कारण गरिब जनता मात्र होइन, मध्यम वर्गका जनतालाई पनि दैनिक जीवन धान्न यतिखेर सकस परिरहेको छ । देशमा रोजगारीको अवसर छैन । हरेक दिन तीन–चार हजार नेपाली युवायुवती रोजगारीकै लागि विदेश जान भनेर एयरपोर्टमा लाम लागेको दृश्य देख्न सकिन्छ । यो अवस्था कहिलेसम्म कायम रहने हो ? कम पढे–लेखेका मात्र होइन, मास्टर्स पढेका मान्छे पनि अवसरको खोजीमा बिदेसिएका छन् । अब यो देशमा को बस्छ ? के अब मुलुकमा केटाकेटी र वृद्धवृद्धा मात्र बस्ने हो ? यसरी देश चल्छ ? कैयौँ युवायुवती बिदेसिएर उतै पलायन भइरहेका छन् । के यसरी मुलुकको भविष्य बन्ला ? अब सबैले गम्भीरताका साथ सोच्नुपर्ने बेला भइसकेको छ । 

हाम्रो देशमा गणतन्त्रपछि शासन त बदलियो, तर नेताको सोच बदलिन सकेन; जनताको अवस्था बदलिन सकेन । जनताको अवस्था नबदलिएसम्म देशमा केही हँुदैन । राजनीतिक दल र तिनका नेताहरूमा सोच मात्र बदलिने हो भने केही हुन सक्छ, तर अहिलेसम्मको उनीहरूको गतिविधि हेर्दा त्यस्तो देखिँदैन । उनीहरू गम्भीरतापूर्वक चिन्तन गर्नै चाहँदैनन् । 

छिटो–छिटो सरकार फेरिनु भनेको राजनीतिक अस्थिरता निम्ताउनु हो । केन्द्रमा सत्ताको फेरबदल हुनासाथ प्रदेशमा समेत सरकार परिवर्तन भइरहेका छन् । यसले सङ्घीय पद्धतिमाथि नै गम्भीर प्रश्न उठेको छ । मुलुकमा भएको पछिल्लो आमनिर्वाचनपछि तीनपटक फरक–फरक गठबन्धनका सरकार बनेका छन् । यद्यपि सरकारको नेतृत्व फेरिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले नै सरकारको नेतृत्व गरिरहेका छन् । पटकपटक गरिएको सरकार परिवर्तनले प्रदेशमा समेत अस्थिरता उत्पन्न भइरहेको छ । 

नेपाली जनताले सबै दलका सरकार हेरिसकेका छन् । कुनै सरकारबाट पनि जनता आशावादी हुन सकेनन् । आज देशमा तमाम समस्या देखिएका छन् । ती समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको देखिँदैन । वर्तमान गठबन्धन सरकारले पनि गति बढाएको देखिँदैन । 

पुरानो सोच, चिन्तन र कार्यशैलीले देश बनाउन सकिँदैन । अब राजनीतिक दल र तिनका नेताले जनतामा निराशा आउन दिनु हुँदैन । यसमा राजनीतिक दल र तिनका नेता गम्भीर बन्नुपर्ने देखिएको छ । 

राजनीतिक दल र तिनका नेताले आजसम्म गरेका गल्ती नसच्याएसम्म अब उनीहरूका कुरा जनताले पत्याउनु हुँदैन । झुटा आश्वासन बाँड्ने नेतालाई जनताले सजाय दिनुपर्छ । सजाय दिने भनेको चुनावका बेलामा हो । चुनावमा विचार पु¥याउन नसक्नाले आजको अवस्था सिर्जना भएको हो । त्यसैले निराशा हटाउन सबभन्दा पहिला जनता नै जिम्मेवार हुनुपर्छ । 

राजनीतिक दल र तिनका नेताहरूले चुनावका बेला जनतासँग गरेका प्रतिबद्धता कहिल्यै बिर्सन हुँदैन । प्रतिबद्धता बिर्सनु भनेको जनताप्रतिको बेइमानी हो । आज राजनीति यसै गरी अघि बढिरहेको छ । जनताप्रति उत्तरदायी र बफादार भएर काम गर्न नसक्ने राजनीतिक दल र तिनका नेताले अब अरूलाई बाटो छाडिदिनुपर्छ । 

यहाँ इमानको राजनीति गर्नेहरू पनि होलान्, त्यसैले राजनीतिमा विधिवत ढङ्गले सबैले पालो पाउनुपर्छ । पैसाको बिटो फाल्नेहरू राजनीतिमा हाबी हँुदै छन् । जोसँग पैसा छ, ऊ नै राजनीतिमा अघि बढिरहेको देखिन्छ । राजनीति फोहोरी खेलमा परिणत भएको छ । अब राजनीति सफा नभएसम्म यहाँ केही हँुदैन । कर्मचारीले भ्रष्टाचार गर्नुमा नेताको संरक्षण वा मिलेमतो भएको सुनिन्छ । भ्रष्टाचार र पक्षपात नहुने हो भने योग्य र इमानदारले स्वतः अवसर पाउने थिए । 

देशमा भएका उद्योग–धन्दा सबै बन्द छन् । उद्योग–धन्दा खोल्ने कुरामा सरकारको खासै ध्यान गएको देखिँदैन । रोजगारीको अवसर छैन । अब कोही पनि निराश भएर मात्र हँुदैन, सम्भावना पनि छन् भनेर काममा लाग्नुपर्नेछ । जनतामा देखिएको निराशालाई सरकारले छिटो सम्बोधन गर्न सक्नुपर्छ । 

नेपाली जनताले तिरेको करको दुरुपयोग हुन पुगेको छ । राजनीति विचारबाट सञ्चालन हुनुपर्छ । राजनीतिका नाममा जे मन लाग्छ, त्यो गर्ने छुट कुनै दल र तिनका नेतालाई छैन । राजनीति नितान्त समाजसेवा हो । हाम्रो देशमा राजनीतिलाई मागी खाने भाँडो बनाएका छन् । भागबन्डाको राजनीतिले मुलुकलाई अघि बढाउन सक्दैन । राजनीति गर्ने स्पष्ट योग्यताको व्यवस्था नहुनाले राजनीति भद्रगोल बनेको छ । भ्रष्ट, तस्कर, गुन्डाहरू समेत राजनीतिमा हाबी भएका छन् । जसले गर्दा देश र जनताको भाग्य र भविष्य अन्धकार बनेको छ । 

विचारहीन राजनीति र जिम्मेवार व्यक्तिको भ्रष्ट चरित्रका कारण राजनीतिप्रति जनतामा अविश्वास बढेको छ । जुनसुकै सरकार बने पनि नेताहरूप्रति जनताको आक्रोश बढिरहेको छ । राजनीतिप्रति युवाहरूको चासो कम हँुदै गएको छ । नेपालीलाई आत्मनिर्भर बनाउने नीति कुनै पनि सरकारले बनाउन सकेका छैनन् । कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रलाई बहुआयामिक रूपमा आयआर्जन गर्ने क्षेत्रका रूपमा विकास गरी युवालाई रोजगारी उपलब्ध गराई स्वदेशमै भविष्य सुनिश्चित गर्ने कार्य कुनै पनि सरकारले गर्न सकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आरपी गैरे
आरपी गैरे
लेखकबाट थप