शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी भेट्दै मस्क, भारतमा कारखाना खोल्नेबारे घोषणा हुनसक्ने

बिहीबार, २९ चैत २०८०, १५ : ४४
बिहीबार, २९ चैत २०८०

नयाँ दिल्ली । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘म देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न आतुर छु ।’ तर, भेट कहिले हुन्छ, भारतमा हुन्छ वा अन्यत्र ? मस्कले यसबारे कुनै जानकारी दिएका छैनन् ।

समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै मस्कले भारतमा कारखाना र लगानीका सम्बन्धमा महत्त्वपूर्ण घोषणा गर्न सक्ने बताएको छ । एजेन्सीका अनुसार २२ अप्रिलमा मस्कले दिल्लीमा प्रधानमन्त्री मोदीलाई भेट्न सक्नेछन् भने यसबाहेक भारत भ्रमणका क्रममा उनले भारतमा लगानीका विषयमा महत्त्वपूर्ण घोषणा पनि गर्न सक्नेछन् ।

मस्क र मोदीको अन्तिम भेट सन् २०२३ जुनमा न्यूयोर्कमा भएको थियो। यसअघि मस्कले भारतमा कारखाना बनाउन चाहेको बताउँदै आएका थिए भने उनले भारत सरकारसँग विद्युतीय कारको आयात शुल्क घटाउन आग्रह गरेका थिए ।

यसै महिना भारतले आफ्नो नयाँ इलेक्ट्रोनिक गाडीसम्बन्धी नीति ल्याएको छ । यो नयाँ नीतिअनुसार कम्पनीले भारतमा ५० करोड रुपैयाँ लगानी गरेर यहाँ कारखाना स्थापना गरेमा कतिपय मोडलको आयात शुल्क शतप्रतिशतबाट १५ प्रतिशतमा झार्ने कुरा गरिएको छ । अब मोदी र मस्कको भेटमा यसलाई अगाडि बढाउने कुरा हुन सक्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप