बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मुख्यमन्त्रीमा नाउपाभित्र रेशम र रञ्जिता पक्षका सांसदबिच हानथाप

शुक्रबार, ३० चैत २०८०, ११ : २४
शुक्रबार, ३० चैत २०८०

धनगढी । नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि अब बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गृहकार्य थालेको छ । तर सो पार्टीभित्रको एक महिनादेखि चल्दै आएको आन्तरिक विवादले कसलाई मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने भन्नेबारे मतभेद देखिएको छ । 

 नाउपाका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष देखिने सांसदबिच मुख्यमन्त्रीका लागि हानथाप बढेको नेताहरूको भनाइ छ । पार्टी अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई दलको नेता तोकेपछि मुख्यमन्त्रीको लागि समर्थन जुटाउन उनले गृहकार्य थालेका थिए । 

यसैबिच रेशम पक्षीय मानिने नाउपाका बहुमत (४ जना) सांसदले सरकारको नेतृत्व गर्न काम चलाऊ सरकारका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई सहमति दिएपछि उनी पनि मुख्यमन्त्री बन्ने दौडमा देखिएका छन् । 

लक्ष्मण किशोरले रातोपाटीसँग भने, ‘बहुमत सदस्यहरूले मलाई समर्थन गर्ने लिखित सहमति गर्नुभएको छ । पार्टीको विधान र राजनीतिक संस्कार अनुसार नै सबैले जानुपर्छ भन्ने हो । हामी समर्थनको लागि पार्टीको आन्तरिक संवादपछि अब अन्तरपार्टी संवादको चरणमा छौ । हामी त यहाँ प्रतिपक्ष विनाको सरकार बनोस भन्नेमा पनि छौ ।’

पार्टी अध्यक्ष श्रेष्ठकै निर्देशन अनुसार आफूहरू नयाँ सत्ता गठबन्धनकै समर्थनमा सरकारमा जानेमा अस्तिकै छलफलबाट निर्णय भइसकेको बताउँदै लक्ष्मण किशोरले बहुमत सदस्यले गरेको निर्णयलाई नजरअन्दाज गर्न नहुने विचार व्यक्त गरे ।

लक्ष्मण किशोरलाई संसदीय दलका नेता रहेका घनश्याम चौधरी, प्रमुख सचेतक खुसीराम चौधरी र रामेश्वर चौधरीले समर्थन गरेका छन् । सुदूरपश्चिममा नाउपाका ७ सांसद थिए । इन्दिरा गिरीलाई पार्टीले फिर्ता बोलाएपछि अहिले ६ जना छन् । लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन ६ मध्ये ४ सांसदले सहमति गरेका हुन् ।

अर्कोतिर नाउपा अध्यक्ष श्रेष्ठले दलको नेता तोकेएपछि कैलाश चौधरीले माओवादी, एमाले, समाजवादीको समर्थनमा आफू मुख्यमन्त्री बन्ने दौडमा छन् । उनले आफूलाई सहज बहुमत समेत पुगेको बताएका छन् ।

सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।

नयाँ सत्ता गठबन्धन घटक दल माओवादीको १० (सभामुख बाहेक), एमालेको १०, एकीकृत समाजवादीको ४ र नाउपाको ६ मध्ये ३ र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गर्ने नाउपा सांसद कैलाश चौधरीको भनाइ छ । लक्ष्मण किशोर चौधरीले भने आफूलाई नेपाली कांग्रेसले समेत समर्थन दिने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप