बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पहिलो प्रस्रव

१४ वर्षमै कथा लेखेकी हिरण्यकुमारीको लेखन–यात्रा

शनिबार, २७ वैशाख २०८२, १७ : ००
शनिबार, २७ वैशाख २०८२

‘अब त लेख्न पनि पुग्यो नानी, कति लेख्नु ! छिटफुट कथा, कविता लेखे पनि कृति निकाल्नकै लागि भनेर चाहिँ अब लेख्दिनँ,’ बिहीबारको भेटमा ८० वर्षीया साहित्यकार हिरण्यकुमारी पाठकले भनिन् । 

आउँदो साउन ५ गतेदेखि हिरण्यकुमारी (जन्म ः २००२ साउन ५) ८१औँ वसन्तमा हिँड्नेछिन् । यो उमेरमा उनी बडो ऊर्जाका साथ आफ्नै आत्मकथा लेखनमा व्यस्त छन् । हालसम्म उनका १६ वटा कृति प्रकाशित भइसकेका छन् । 

चौध वर्षको चञ्चले उमेर (२०१६ साल) मा पद्मकन्या बहुमुखी कलेजबाट निस्कने ‘कस्तुरी’ पत्रिकामा ‘प्रेम’ शीर्षकको कथा प्रकाशन गरेर उनी नेपाली साहित्यमा उदाएकी हुन् । 

कलेज पढ्दै गर्दा १४ वर्षकै उमेरमा उनको विवाह भएको थियो, काठमाडौँ धोबी धाराका कृष्णकुमार पाठकसँग । त्यो समय त्यस्तै थियो । १८ वर्षमै उनले एमए पास गरिन्, १८ वर्षमै छोरीलाई जन्म दिइन्, २० वर्षदेखि सरकारी जागिर खान थालिन् । 

‘आजभन्दा झन्डै ६५–६६ वर्ष अगाडिको कुरा पो हो त ! त्यतिबेला आईए र बीएको परीक्षा लिन पटना विश्वविद्यालयबाट मान्छे आउँथे । यहाँ परीक्षा दिनै मिल्दैनथ्यो,’ उनी भन्छिन्, ‘मैले एमए पढ्ने बेलामा बल्ल त्रिभुवन विश्वविद्यालय खुलेको थियो । म टीयूको त पहिलो ब्याचकी विद्यार्थी हुँ ।’

यसरी कुरा छिटोछिटो भएर होला, उनलाई कृतिकारकै रूपमा उदाउन भने समय लाग्यो । ४८ वर्षको उमेर (२०५० साल) आएर मात्रै उनको पहिलो कथासंग्रह ‘मोहचक्र’ आयो । 

  • तीन वर्षमै स्कुल

हिरण्यकुमारीको जन्म काठमाडौँका प्युखा टोलमा भएको हो । उनका पिता तोत्रराज पाण्डेले बनारस हिन्दु युनिभर्सिटीमा नेपाल चेयर सम्हाल्ने (प्राध्यापकको रूपमा) अवसर पाएका थिए । यही सिलसिलामा उनी २००२ सालदेखि २०१४ सम्म बनारसमा रहे । बुवाआमासँग बनारसमै बस्ने हिरण्यकुमारी तीन वर्षको उमेरदेखि स्कुल जान थालिन् ।

टीयूबाट एमए गर्दा तेजप्रकाश पौडेलले २०६५ सालमा ‘हिरण्यकुमारी पाठकको साहित्यिक यात्राको अध्ययन’ शीर्षकमा शोध गरेका थिए । जस अनुसार, तीन वर्षको उमेरमा हिरण्यकुमारी बनारसको वसन्त कन्या महाविद्यालयमा कक्षा २ मा भर्ना भएकी थिइन् । बनारसबाटै उनले सन् १९६५ मा एसएलसी गरिन् । 

कलेज पढ्दै गर्दा १४ वर्षकै उमेरमा उनको विवाह भएको थियो । त्यो समय त्यस्तै थियो । १८ वर्षमै उनले एमए पास गरिन्, १८ वर्षमै छोरीलाई जन्म दिइन्, २० वर्षदेखि सरकारी जागिर खान थालिन् । 

उनका पिताले छोरी डाक्टर भएको हेर्न चाहन्थे । त्यसैले हाई स्कुलपछि हिरण्यकुमारीले बनारस महिला कलेजमा बायोलोजी लिएर आईएससीमा भर्ना भएकी थिइन् । हरेक वर्ष गर्मीको बिदामा उनीहरूको परिवार नेपाल आउने गथ्र्यो । हिरण्यकुमारीले आईएससी पढ्दै गरेका बेला उनी गर्मी बिदा मनाउन नेपालमा आएका थिए, सोही वर्ष उनका पिताको निधन भयो । त्यसपछि उनले सन् १९५९ मा पद्मकन्याबाट आईए गरिन् ।

पढ्नकै लागि भनेर हिरण्यकुमारीले संघर्ष गर्नुपरेन । उनका पिता झन् छोरीले पढ्नुपर्छ अगाडि बढ्नुपर्छ भन्थे । बनारसमा आफ्ना साथी–सर्कलमा गफगाफ हुँदा पनि छोरीलाई सधैँ साथमै राख्थे । पढे–लेखेको घर भए पनि छोरीलाई छोरीहरू मात्रै पढ्ने ठाउँमा पढाउनुपर्छ भन्ने मान्यता पाण्डे खलकको थियो । त्यसैले बनारसमा हिरण्यकुमारीले महिला मात्रै पढ्ने विद्यालय र कलेजमा पढिन् । पिताको देवहासनपछि पनि ठुलोबुबाले उनको अध्ययनमा निरन्तरता दिए । 

‘घरमा अनुशासन निकै कडा थियो । घरमा साथीभाइ ल्याउने वा उनीहरूकहाँ जाने त कल्पनै गर्न पाइँदैनथ्यो,’ उनी भन्छिन् ।

  • जागिर

दुई सन्तानलाई हुर्काउँदै राष्ट्रिय वाणिज्य बैंक (पुतलीसडक शाखा)मा जागिर गरेकाले सुरुवातमा उनको लेखनले गति पाएन । २०४९ सालमा जागिरबाट अवकाश लिएपछि भने उनी साहित्य क्षेत्रमा सक्रिय हुन थालिन् । जागिरे जीवनपछि विशेषतः उनी सम्पादक र कृतिकारका रूपमा देखिन थालिन् । २०४९ सालदेखि उनी ‘नारी स्वावलम्बन समाज’बाट प्रकाशित हुने ‘नारी’ साहित्यिक पत्रिकाको प्रधानसम्पादक रहिन् । २०६४ सालसम्म उनको सम्पादनमा यो पत्रिका निस्कियो । 

hiranyakumari (3)

  • पहिलो कृति

हिरण्यकुमारी सानैदेखि ठुलो बुबा रुद्रराज पाण्डेबाट प्रभावित थिइन् । रुद्रराज पाण्डे त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा साहित्यकार हुन् । उनको रूपमति उपन्यास चर्चित छ । 

हिरण्यकुमारीको पहिलो कथासंग्रह ‘मोहचक्र’ वाशु शशि प्रतिष्ठानबाट २०५० सालमा प्रकाशित भयो । पत्रपत्रिकाहरूमा छापिएका सबै कथाहरूलाई बटुलेर प्रतिष्ठानले नै यो कृति प्रकाशन गरिदिएको हो । सुरुमा यो ५०० प्रति छापिएको थियो । सबै पुस्तक उनले बाँडेरै सकिन् । 

जागिरे जीवनमा कथाकार परशु प्रधान लगायत साहित्यकारसँग हिरण्यकुमारीको भेट भयो । साहित्यिक कर्ममा लाग्नका लागि परशुले आफूलाई प्रेरित गरेको हिरण्यकुमारी सम्झिन्छिन् । 

जागिरे जीवनमा पनि पत्रपत्रिका फाट्टफुट्ट उनका रचना प्रकाशित हुन्थे । ‘विशेषतः राजारानीको जन्मदिनमा पत्रिकाहरूले कविता माग्थे । पठाउँथे, छापिन्थे,’ उनी भन्छिन्, ‘साहित्यिक कार्यक्रमको कैयौँ निम्तो आउँथ्यो । आफू नै व्यवस्थापकीय पदमा भएकाले बिदा बाहेकका कार्यक्रममा सहभागी हुने खासै मेसो मिल्दैनथ्यो ।’ 

मधुपर्क, गोरखापत्र लगायत चल्तीका पत्रपत्रिकामा उनका लेख–रचना छापिन्थे । यद्यपि जागिरको धपेडीले त्यति धेरै लेख्न सकिनन् । 

अवकाशपछि भने उनका कृतिहरू आउन थाले । पहिलो कृतिपछि २०५४ सालमा उनले बालसाहित्यको कृति प्रकाशन गरिन् । यस्तै, कथासंग्रह शून्यवत (२०५७), कवितासंग्रह ‘अव्यक्त’ (२०६०), बालकथासंग्रह ‘मिहिनेती मौरी (२०६३), कथासंग्रह अग्निदह (२०७५) आए । 

उनको पछिल्लो कथासंग्रह हो, ‘विसंगत स्वरहरू’ (२०७९) । ‘यस संग्रहका २४ वटा कथामध्ये अधिकांश कथा विवाहित महिलालाई मुख्य पात्र बनाई लेखिएका छन्,’ यस संग्रहको भूमिकामा ज्ञानु अधिकारीले लेखेकी छन्, ‘महिला स्वतन्त्रताको पक्षलाई भन्दा समानतताको पक्षलाईइ बढी जोड दिइएका यी कथामा नारीका सकारात्मकतालाई मात्र नहेरी नराकात्मक प्रवृत्तिलार्य पनि देखाइएको छ । सरल भाषा र रेखिक ढाँचामा लेखिएका यी कथाहरू वर्णनात्मक छन् र यिनले कथाकारका भोगाई अनुभूति र विचारलाई प्रतिनिधित्व गरेका छन् ।’ 

लेखनमा घरपरिवार र श्रीमानको अति नै सहयोग पाइन् हिरण्यकुमारीले । श्रीमान् बितिसके, छोराछोरी हुर्किएर आ–आफ्नो जीवनमा अगाडि बढिसकेका छन् । यतिबेला उनी जीवनका निकै फुर्सदिला क्षणमा छन् । यतिबेला उनीसँग गर्नका लागि साहित्यकर्मबाहेक अरु केही छैन । अचेल हरेक दिन बिहान उठेर उनी विभिन्न विधाका पुस्तक पढ्छिन्, फुरेका कुरा लेख्छिन् पनि । 

साहित्यले समाजलाई सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ । उनी भन्छिन्, ‘हुन त समाजमा विकृति र विसंगति बढिरहेकै छ, यद्यपि साहित्यकारले लेख्न छाड्नुहुन्न ।’ 

अन्त्यमा मलाई जान्ने जिज्ञासा थियो, १४ वर्षकै उमेरमा उनले कस्तो कथा लेखेकी थिइन् होला ?

‘त्यतिबेला त्यो कथा जोगाएर राख्नुपर्छ भन्ने हेक्कै भएन । कता पर्‍यो कता । अहिले त मलाई आफ्नो पहिलो कथाको विषयवस्तु समेत याद छैन,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप