शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लेखनाथ हाफ म्याराथन : सेनाका सञ्जयलाई उपाधि

शनिबार, ०१ वैशाख २०८१, २१ : ५०
शनिबार, ०१ वैशाख २०८१

कास्की । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । 

दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जिते । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद रु ६० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भए । उनले एक घण्टा छ मिनेट ३३ सेकेण्डमा  दौड पूरा गरे । उपविजेता बोगटीले नगद रु  ३० हजारसहित  मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले एक घण्टा नौ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए । उनले रु २० हजार पुरस्कार पाए । सशस्त्रका खिमबहादुर खत्रीले एक घण्टा नौ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले एक घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । उनीहरूले क्रमशः रु १० हजार रु पाँच हजार पुरस्कार पाउनुभएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए ।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३४ मिनेटमा पूरा गरे । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले उपाधिसहित रु १० हजार पुरस्कार पाए ।

यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने ।  गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ भए । 

यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भए ।

महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाए । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः रु १० हजार, पाँच हजार र रु दुई हजार पाँच सयको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरी भेट्रान्स पाँच किमी दौडमा काठमाडौँका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः रु १० हजार,  सात र  पाँच हजार पुरस्कार पाए । विद्यालय छात्रतर्फ पाँच किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो भए ।

छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो हुनुभएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, र तृतीयले रु पाँच हजार पुरस्कार पाए ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा छ विधामा गरेर चार सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप