आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कानुन निर्माणमा संसद्को हिउँदे अधिवेशन प्रभावकारी भएन : सभामुख घिमिरे

आइतबार, ०२ वैशाख २०८१, १३ : ३५
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशनमा कानुन निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन् ।  

सभामुख घिमिरेले आइतबार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानुन निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुई वटा अधिवेशनभन्दा तुलनात्मक रूपमा उपलब्धि पूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरेका हुन् । उनले राजनीतिक दलहरूबिचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरू अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास समेत व्यक्त गरे ।  

संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने विरोध र बहस पनि स्वाभाविक रूपमा लिनुपर्ने स्पष्ट पारे । उनले संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्‍याउने पनि स्मरण गराए । 

संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउनसके सङ्घीय संसद्को गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाई थियो । उनले संसद् क्रियाशील र प्रबुद्ध भएमात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताए ।

सभामुख घिमिरेले संसद्को हिउँदे अधिवेशन (तेस्रो अधिवेशन) लाई प्रभावकारी बनाउन भूमिका खेल्नुहुने सबै सांसद, संसद् सचिवालयका अधिकारीलगायत सम्बद्ध सबै पक्षप्रति आभार पनि व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप