बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जातीय विभेदयुक्त अपशब्द बोल्ने पूर्वपालिका उपाध्यक्ष गिरी पक्राउ

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलमाथि जातीय विभेद गरेको आरोप
आइतबार, ०२ वैशाख २०८१, १८ : २४
आइतबार, ०२ वैशाख २०८१

विराटनगर । जातीय विभेद गरेको कसुरमा झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धानपछि जातीय विभेद गरेको कसुरमा अदालतमा मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताए ।

गिरीले नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई टेलिफोन कुराकानीका क्रममा जातीय विभेद हुने गरी अपशब्द प्रयोग गरेको आरोप छ । पोर्तेलले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको हो । 

नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्कीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै गिरीले दिएको विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सद्भावलाई खलबल्याउन दुरुत्साहन गरेको र नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ को ठाडो उल्लङ्घन भएको दाबी गरेको छ । 

‘कानुनी रूपमा वर्जित गरिएका यस प्रकारका उद्दण्ड र विध्वंस मच्चाउन खोज्ने उच्छृङ्खल गतिविधि साथै जातीय भेदभाव तथा छुवाछुतजन्य घटनाको हाम्रो पार्टी नेकपा (एमाले) जिल्ला कमिटी झापा खेद व्यक्त गर्दछ । दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

उता, पोर्तेलले आफूलाई परम्परागत भाषामा अपशब्द बोलेको बताए । ‘चैत १८ गते एउटा टेलिफोन संवादमा जातीय विभेद हुने गरी डम्बर गिरीले गाली गलौच र अपमानित गर्नुभयो,’ पोर्तेलले भने ।

उनका अनुसार एमाले जिल्ला अधिवेशनको सन्दर्भमा एमाले नेता दीपक कार्कीसहित आफू पनि हल्दिबारी पुगेको र सो कार्यक्रममा गरेको भाषणको विषयलाई लिएर गिरीले टेलिफोन मार्फत मनपरी भनेको उनले बताए । ‘गाउँले भाषामा विश्वकर्माहरूलाई भन्ने अपशब्द बोले, मलाई अपमानित महसुस गरेँ । त्यही टेलिफोन रेकर्ड लगेर मैले जाहेरी दर्ता गरेको हुँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप