मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० राष्ट्रिय क्रिकेट : सुनिल भण्डारीको अर्धशतकसँगै लुम्बिनीले गण्डकीलाई हरायो

मङ्गलबार, ०४ वैशाख २०८१, १६ : ३८
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार खेलिएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले जित हासिल गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई सात विकेटले हरायो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकीले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनीले भने १७.२ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

लुम्बिनीको जितमा सुनिल भण्डारी र आकाश त्रिपाठीले महत्वपूर्ण योगदान गरे । सुनिलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ६० रन बनाए । उनले केवल ४६ बलको सामना गरी नौवटा चौका पनि हिर्काए ।

आकाश त्रिपाठीले पनि टोलीको खातामा ४४ रन थपे । उनले ३४ बलको सामना गरी चार चौका पनि हिर्काए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान देब खनालले पनि १८ रन बनाएका थिए । अर्का ओपनर मृनाल गुरुङ भने पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

केवल २४ रनको कुल स्कोरमा दोस्रो विकेट गुमाएको लुम्बिनीलाई त्यसपछि सुनिल र आकाशले जितको नजिक पु¥याएका थिए । यी दुई ब्याट्सम्यानले एक सय तीन रनको महत्वपूर्ण साझेदारी गरेका थिए । लुम्बिनीले अतिरिक्त रुपमा ६ रन पायो । गण्डकीका बलर कमल परियारले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३१ रन बनाएका थिए । उनले १८ बलमा पाँच चौका पनि हिर्काए । कप्तान विपिन खत्रीले अविजित २७ रन जोडे । उनले २५ बलमा तीन चौका प्रहार गरे । कमल परियारले अविजित १६ रन बनाएका थिए ।

गण्डकीले अतिरिक्त रुपमा पनि १२ रन पायो । अमृत गुरुङले १३ तथा इश्वर क्षेत्री र करण पंगेनीले १२–१२ रन जोडे । लुम्बिनीका बलर नर सार्की एक्लैले चार विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चिए । निर्मल गुरुङले दुई र अभिषेक गौतमले एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप