मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

बुधबार, ०५ वैशाख २०८१, १६ : ०५
बुधबार, ०५ वैशाख २०८१

वासिङटनडीसी । अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् । 

अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटनडिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताएका हुन् । भू–परिवेष्टित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । 

नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए । निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले बताए । 

पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितीले उच्च बिन्दु कायम गरेको भन्दै उनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधिहरू बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए । 

मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न लागेको जानकारी दिए ।

यस्तै कम्पनी दर्ता र लगानीको सुरुआत तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने प्रतिबद्धता उनको थियो । नेपाल कानुनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग–व्यवसाय मैत्री कानुन र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए । सरकारका तर्फबाट लगानीकर्ताहरूलाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको बताए । 

लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १ सय ३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाहरूको सहभागिता हुने विश्वास गरिएको बताए । अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले बताए । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कस्यपससहित प्रतिष्ठित व्यवसायीहरू तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप