बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गरिब र विकासोन्मुख देशमा धेरै चिनी हालेको ल्याक्टो र सेरेल्याक बेच्दै नेस्ले

बिहीबार, ०६ वैशाख २०८१, १२ : ३८
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । स्विस खाद्य उत्पादक कम्पनी नेस्लेले न्यून आय भएका देशमा बेच्दै आएको शिशुलाई खुवाउने धुलो दूध र सेरेलाकमा धेरै चिनी हाल्ने गरेको खुलासा भएको छ । विश्वको बेबी फुड बजारमा नेस्लेको हिस्सा २० प्रतिशत छ । 

कम्पनीको बेबी फुड ब्रान्डमा पनि ल्याक्टो र सेरेलाक सबैभन्दा धेरै बिक्ने सामान हुन् । कम्पनीले बेलायत, जर्मनी, स्वीटजरल्यान्ड लगायत अन्य विकसित देशमा बेच्ने यी सामानमा चिनी हालेकै छैन ।

तर गरिब र विकासोन्मुख देशमा धुलो दूध र बच्चाहरूलाई खुवाइने अन्य सामाग्रीमा चिनी र मह मिसाइरहेको पब्लिक आईको एउटा रिपोर्टमा भनिएको छ । कम्पनीले मोटोपन र गम्भीर रोग रोक्न गरिएको निर्देशन विपरित एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमा बेच्ने सामाग्रीमा गुलियो थपेर बेचिरहेको स्वीडेनी संस्था पब्लिक आई र अन्तरराष्ट्रिय बेबी फुड एक्शन नेटवर्कले बताएका छन् ।

यी दुई संस्थाले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा कम्पनीले बेचिरहेका बेबी प्रडक्टलाई बेल्जियमको एउटा ल्याबमा जाँच गरेका थिए । नेस्लेको यो दोहोरो मापदन्डलाई सही भन्न नसकिने विश्व स्वास्थ्य संगठनका वैज्ञानिक निगेल रोलिंसले भनेका छन् । कम्पनीको यस कदमले सार्वजनिक स्वास्थ्य र नैतिक दृष्टिकोण दुबैमाथि प्रश्न उठाएको छ । नेस्लेका उत्पादनमा चिनीको मात्रा बढी पाइएको देशमा भारत पनि परेको छ ।

संयुक्त राष्ट्र संघको एजेन्सीले सन् २०२२ सम्ममा साना बालबालिकाका लागि प्रयोग गरिने खाद्य सामाग्रीमा चिनीको प्रयोगमा प्रतिबन्ध लगाउन भनेको थियो । नेस्ले आफैंले सार्वजनिक रूपमा जारी गरेको विज्ञापनमा पनि बालबालिकालाई चिनीयुक्त उत्पादनहरू खुवाउन नहुने पनि दाबी गरिएको छ । चिनीको मात्रा बढी भएका उत्पादनको उपभोगले बालबालिकामा मोटोपना बढ्ने खतरा छ । नेस्लेले न्यून आय भएका देशका बालबालिकामा गुलियोको लत बसालेको दाबी पब्लिक आईको छ । विश्व स्वास्थ्य संगठनले पनि सानै उमेरमा चिनीको सेवनले मोटोपना जस्ता रोग लाग्ने खतरा बढ्दै गएको चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप