बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री पुन

बिहीबार, ०६ वैशाख २०८१, १२ : ४८
बिहीबार, ०६ वैशाख २०८१

वासिङ्टन डिसी । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा बोल्दै पुनले ‘एसियामा नवीकरणीय ऊर्जा सङ्क्रमण’ शीर्षक सत्रलाई सम्बोधन गर्दै नेपालको बिजुली आन्तरिक खपत मात्र नभई छिमेकी भारत र बङ्गलादेशसमेत निर्यात हुन लागेको बताए ।

सौर्य ऊर्जासँगै जलविद्युतको क्षमतालाई पूर्णरुपमा उपयोग गर्ने प्रयासमा नेपाल रहेको उनको भनाइ थियो । ‘नेपालले जलविद्युत क्षेत्रमा गरेको उन्नति क्षेत्रीय स्तरमा नवीकरणीय ऊर्जा प्रवर्द्धन र विस्तारमा महत्त्वपूर्ण हुनेछ’, अर्थमन्त्रीले भने, ‘किनभने उत्पादित बिजुली नेपालमा मात्र नभई भारत र बङ्गलादेशजस्ता ऊर्जाको माग बढी भएका छिमेकी मुलुकमा पनि उपयोग हुनेछ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले केही महिनाअघि सम्पन्न भारत भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको थियो । यस्तै नेपाल र बङ्गलादेशबिच ४० मेगावाटको विद्युत् व्यापार सम्झौता भएको उनले बताए । जसका कारण पनि दक्षिण एसिया क्षेत्रका लागि स्वच्छ महत्त्वपूर्ण हरित ऊर्जाको स्रोत नेपाल रहेको उनको भनाइ थियो ।

यद्यपि जलविद्युत उत्पादनको सम्भावनालाई पूर्ण रूपमा सदुपयोग गर्न ऊर्जा क्षेत्रमा लगानीको ठुलो आवश्यकता रहेको मन्त्री पुनले बताए । ‘अन्तरदेशीय प्रसारण लाइनलगायत प्रसारण तथा वितरणसम्बन्धी पूर्वाधारमा ठुलो लगानी आवश्यक छ’, मन्त्री पुनले भने ।

विश्व बैङ्क नेतृत्वमा १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त आयोजना र एसियाली विकास बैंकको नेतृत्वमा ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारीको अवस्थामा रहेको जानकारी उनले बैठकलाई गराए ।

नेपालले हरित अर्थतन्त्रलाई जोड दिएको भन्दै मन्त्री पुनले त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको चर्चा गरे । जलविद्युत आयोजना निर्माणका लागि आवश्यक सामग्री आयात शुल्कमा उल्लेख्य कटौती गरिएको,  विद्युतीय सवारी साधनमा कर घटाइएको, सौर्य प्यानलका लागि अनुदान उपलब्ध गराइएको तथा लघु जलविद्युत आयोजनामा अनुदान दिने नीति अख्तियार गरेको चर्चा मन्त्री पुनले गरे । 

हालसम्म ९ हजार ५०० मेगावाटको पीपीए सम्पन्न भएको र थप १० हजार मेगावाट प्रक्रियामा रहेको तथा हालसम्म नेपालको कूल जडित क्षमता ३ हजार १ सय ५४ मेगावाट पुगेको बताए । जसमध्ये ६ सय ६२ मेगावाट नेपाल विद्युत् प्राधिकरण, ४ सय ९३ मेगावाट प्राधिकरणको सहायक कम्पनीहरू र बाँकी २ हजार मेगावाट निजी क्षेत्रबाट उत्पादन भएको तथ्याङ्क उनले प्रस्तुत गरे ।

कार्यक्रममा विश्व बैङ्क समूहकी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंककै पूर्वी एसिया र प्यासिफिक क्षेत्रका अध्यक्ष मानुएला वी फेरो, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, इन्डोनेसियाका पूर्वाधार, यातायात तथा सामुद्रिक मामिला र लगानीसम्बन्धी मन्त्री रचमत कैमुद्दीन, एसियाली विकास बैंकका  दक्षिण पूर्वी एसिया र प्यासिफिक क्षेत्र हेर्ने उपाध्यक्ष स्कट मोरिसलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप