बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

शुक्रबार, ०७ वैशाख २०८१, ०६ : २०
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ । त्यसअघि सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ । 

नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।

नेपाल विजेता र यूएई उपविजेता बन्दै सेमिफाइनलमा

ओमानमा जारी दोस्रो संस्करणमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

त्यसपछि नेपालले समूहगत चरणको आफ्नो दोस्रो खेलमा कतारमाथि ३२ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । नेपालले चौथो खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजयको स्वाद चखाएको थियो ।

अर्कोतिर, यूएई भने समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यूएईले समूहगत चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो । यूएईले आफ्नो पहिलो खेलमा कुवेतलाई सात विकेटले हराएको थियो ।

यूएईले दोस्रो खेलमा बहराइनमाथि ३७ रनको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भने यूएईको टोली आयोजक ओमानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यूएईले चौथो खेलमा कम्बोडियालाई नौ विकेटले हराएको थियो । 

जारी प्रतियोगितामा सर्वाधिक रन

जारी प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा माथिल्लो पाँच स्थानभित्र यूएईका तीनजना खेलाडी छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा यूएईका आसिफ खान छन् । उनले चार खेलमा तीन अर्धशतकसहित कुल दुई सय ११ रन बनाएका छन् ।  

तेस्रो र पाँचौँ स्थानमा पनि यूएईकै खेलाडी छन् । तेस्रो स्थानमा रहेका यूएईका ब्याट्सम्यान अलिसन सराफुले चार खेलमा दुई अर्धशतकको मद्दतले कुल एक सय ९१ र पाँचौँ स्थानमा रहेका यूएईका मुहम्मद वसिमले चार खेलमा एक अर्धशतकको मद्दतले कुल एक सय ५८ रन बनाएका छन् । 

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा माथिल्लो १० स्थानभित्र एकजना पनि नेपाली खेलाडी छैनन् । सूचिको ११औँ स्थानमा रहेका नेपाली ब्याट्सम्यान आसिफ शेखले चार खेलमा एक अर्धशतकको मद्दतले कुल एक सय २६ रन बनाएका छन् । 

यो सूचिमा २०औँ स्थानमा रहेका नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले चार खेलमा एक अर्धशतकको मद्दतले कुल एक सय एक रन बनाएका छन् । २६औँ स्थानमा रहेका कप्तान रोहित पौडेलले चार खेलमा कुल ८७ रन बनाएका छन् । 

जारी प्रतियोगितामा सर्वाधिक विकेट

यसैगरी जारी प्रतियोगितामा हालसम्म सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा माथिल्लो १० स्थानभित्र यूएईका एक र नेपालका दुई बलर छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा यूएईका आयान खान छैटौँ स्थानमा छन् । उनले चार खेलमा सात विकेट लिएका छन् ।

यो सूचिमा नेपालका अविनाष बोहरा आठौँ स्थानमा रहेका छन् । उनले पनि चार खेलमा सात विकेट लिएका छन् । यो सूचिको नवौँ स्थानमा रहेका दीपेन्द्रसिंह ऐरीले पनि चार खेलमा ६ विकेट लिइसकेका छन् । १२औँ स्थानमा रहेका ललित राजवंशीले चार खेलमा पाँच विकेट हात पारेका छन् ।

हेड टु हेडमा नेपाल अगाडि

नेपाल र यूएईबिच हालसम्म नौवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा नेपाल र चार खेलमा यूएई विजयी भएका छन् । घरेलु मैदानमा नेपालले तीन र यूएईले एक खेल जितेका छन् । 

प्रतिद्वन्द्वीको घरेलु मैदानमा नेपालले दुई र यूएईले एक खेल जितेका छन् । ‘न्यूट्रल भेन्यू’ मा भने यूएईले दुई खेल जितेको छ । सन् २०१९ मा नेपाली टोली यूएई भ्रमणमा गएको थियो । त्यसक्रममा खेलिएको पहिलो टी–२० खेलमा यूएईले नेपाललाई २१ रनले हराएको थियो ।

सोही क्रममा खेलिएको दोस्रो खेलमा नेपालले यूएईलाई चार विकेटले हराएको थियो । तेस्रो खेलमा पनि नेपालले यूएईलाई १४ रनले पराजित गरेको थियो । सन् २०२२ को फेब्रुअरीमा ओमानमा चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिएको थियो ।

उक्त शृंखलामा चौथो टोलीको रुपमा आयरल्यान्ड सहभागिता थियो । त्यो शृंखलामा यूएईले नेपाललाई २५ रनले हराएको थियो । सन् २०२२ को फेब्रुअरीमा खेलिएको आईसीसी पुरुष टी–२० विश्वकपको छनोट खेलको सेमिफाइनलमा यूएईले नेपाललाई ६८ रनले हराएको थियो ।

यसैगरी सन् २०२३ को अक्टोबरमा नेपालमा त्रिकोणात्मक टी–२० शृंखला खेलिएको थियो । त्यो शृंखलामा यूएई र हङ्कङ सहभागी थिए । शृंखलाको लिग चरणमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । अर्को खेलमा पनि नेपालले यूएईलाई पाँच विकेटले पराजित गरेको थियो । तर, त्यो शृंखलाको फाइनलमा भने यूएईले नेपाललाई चार विकेटले हराएको थियो । 

ओमान र हङ्कङबिच दोस्रो सेमिफाइनल

जारी एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनल खेल आयोजक ओमान र हङ्कङबिच खेलिने छ । दोस्रो सेमिफाइनल खेल नेपाली समय अनुसार, अपरान्हा ४ः१५ बजे सुरु हुनेछ । हङ्कङ समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

समूहगत चरणमा हङ्कङले चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा आत्मसात् गरेको थियो । हङ्कङ र कतारको समान चार–चार अंक भए पनि नेट रनरेटका आधारमा अगाडि रहँदै हङ्कङ सेमिफाइनलमा पुगेको हो ।

आयोजक ओमान भने समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानले समूहगत चरणमा खेलेको चारवटै खेलमा जित हासिल गरेको थियो । ओमानले पहिलो खेलमा बहराइनलाई तीन विकेटले, दोस्रो खेलमा कम्बोडियालाई ६३ रनले, तेस्रो खेलमा यूएईलाई नौ विकेटले र चौथो खेलमा कुवेतलाई ४६ रनले हराएको थियो । 

धेरै अर्थमा महत्त्वपूर्ण प्रतियोगिता

एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करण नेपालका लागि अर्को अर्थमा पनि महत्त्वपूर्ण रहेको छ । एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, दोस्रो संस्करण भने टी–२० ढाँचामा खेलाइँदै छ ।

त्यसैले एसीसी प्रिमियर कपको दोस्रो संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्याउने छ । आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।

यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउँदै छ । टी–२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने गतिलो अवसर पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप