शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समितिमा नेपाली सेना

‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने

शुक्रबार, ०७ वैशाख २०८१, १९ : ५२
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई/मधेस द्रुत मार्ग’ (फास्ट ट्रयाक) सडक आयोजनाको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति प्रभुराम शर्मा, ‘फास्ट ट्रयाक’ आयोजना प्रमुख एवं सेनाका सहायक रथी विकास पोख्रेल लगायतले हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।

लेनडाँडाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने चरणमा पुगेको प्रधान सेनापति शर्माले बताए । गत चैत मसान्तसम्मको अवधिमा भौतिक प्रगति (शून्य किलोमिटरदेखि ७१ किलोमिटरसम्म) ३३.२ प्रतिशत, वित्तीय प्रगति पनि ३३ प्रतिशत भएको प्रधान सेनापति शर्माले जानकारी दिए ।

यस्तै आयोजना प्रमुख पोख्रेलले मकवानपुर जिल्लामा पर्ने लेनडाँडा र धेद्रे सुरुङमार्ग आगामी जेठ महिनाभित्र ‘ब्रेक थ्रु’ गर्नेगरी रातिको समयमा पनि काम भइरहेको बताए ।

धेद्रे सुरुङमार्गको लम्बाइ १.६३ किलोमिटरमध्ये हालसम्म १.३८ किलोमिटर खन्ने काम भएको र लेनडाँडाको सुरुङको लम्बाइ १.४३ किलोमिटरमध्ये हालसम्म १.३५ किलोमिटर सुरुङ खन्ने काम सकिएको उनले जानकारी दिए ।

सुरुङ निर्माणतर्फ प्रगति ७६ प्रतिशतभन्दा बढी

आयोजना अन्तर्गत सुरुङमार्गमध्ये ३ ठाउँको सुरुङ मार्गको काम अन्तिम चरणमा पुगेको प्रधान सेनापति शर्माले जानकारी गराए । सबै सुरुङमार्गमा भएको काम झण्डै ७६ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।

प्रधान सेनापति शर्माका अनुसार महादेवटार सुरुङ ६७ प्रतिशत पूरा भएको छ । यस्तै धेद्रे सुरुङको ८९ प्रतिशत काम सकिएको छ । लेनडाँडा सुरुङ बायाँतर्फको भागमा ९६ प्रतिशत काम सकिएको छ दायाँतर्फको सुरुङमा ९१ प्रतिशत काम भएको छ ।

निर्माण बाँकी सुरुङमध्ये चन्द्राम भीरको सुरुङको काम गर्नका लागि भर्खरमात्र ठेक्का लागेको प्रधान सेनापति शर्माले बताए ।

आयोजनाको परिमार्जित डीपीआर अन्तर्गत हाल ६ वटा सुरुङमार्गमध्ये ३ वटा निर्माणको क्रममा छन् । जसमध्ये महादेवटार सुरुङमार्गको जम्मा लम्बाइ ३.३५ किलोमिटरमध्ये हालसम्म २.१३ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।

यस्तै धेद्रे सुरुङमार्गको लम्बाइ १.६३ किलोमिटर लम्बाइमध्ये हालसम्म १.३८ किलोमिटर खन्ने काम भएको छ । लेनडाँडाको सुरुङको लम्बाइ १.४३ किलोमिटरमध्ये हालसम्म १.३५ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ ।

‘फास्ट ट्रयाक’को ७१ किलोमिटर भागलाई काम गर्नका लागि ११ वटा प्याकेजमा छुट्याए पनि १० वटा प्याकेजमा काम भइरहेको छ भने ११ नम्बर प्याकेज खोकना क्षेत्रमा जग्गा प्राप्तिमा समस्या भएको र त्यसको समाधानका लागि पहल भइरहेको प्रधान सेनापति शर्माले बताए ।

उनले भने, ‘प्याकेज ११ को खोकना क्षेत्रको व्यवस्थापन गर्न बाँकी छ । त्यहाँ स्थानीयबाट जग्गा प्राप्तिका लागि पहल गर्ने काम भइरहेको छ ।’

रुख कटानका लागि पछिल्लो समय वन मन्त्रालयबाट सहजीकरण भएको र हालसम्म ३० हजार ५९१ वटा रुख कटान सम्पन्न भएको शर्माले बताए । रुख कटानमा देखिएका केही बाधा संसदीय समितिको निर्देशनपछि सहज भएको उनले जानकारी गराए ।

पुस यता ४ हजार ३४५ रुख कटानका लागि मन्त्रीपरिषदबाट सहजीकरण भएकोमध्ये २ हजार १८३ रुख कटान सम्पन्न भइसकेको उनले बताए ।

sharma

खोकनाको विवाद अझै मिल्न सकेन

आयोजना प्रमुख विकास पोखरेलका अनुसार खोकनाको मुआब्जाको विषय अझै टुङ्गिएको छैन । खोकना क्षेत्र अर्थात् प्याकेज नम्बर ११ बारे आयोजना प्रमुख पोखरेलले भने, ‘खोकना एरियाको शून्य किलोमिटरदेखि ६.५ किलोमिटरसम्म द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन सम्बन्धी विषय र जग्गा अधिग्रहणको समस्या समाधान पश्चात काम सुरु गर्नेगरी तयारी हालतमा छौँ ।’

चालु आर्थिक वर्षको कार्ययोजना अनुसार यो वर्षको भौतिक प्रगति ८२.७ प्रतिशत र वित्तीय प्रगति ६२.४ प्रतिशत रहेको उनले बताए ।

आयोजनाको १३ वटा निर्माण प्याकेजमध्ये द्रुतमार्गको ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्म प्याकेज नम्बर १ देखि ७,  ८ (क), ८ (ख), ९ (क), ९ (ख) र १० नम्बर प्याकेज निर्माणाधीन र कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ ।

८९ वटा पुलमध्ये ८५ वटाको काम धमाधम

फास्ट ट्रयाक आयोजनास्थलभरि रहेका ८९ वटा पुलमध्ये हालसम्म ८५ स्थानका पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा छ । बाँकी ४ वटा पुलका लागि जग्गा अधिग्रहणको समस्या रहेको र यी पुल खोकना खण्डमा रहेको सेनाको भनाइ छ ।

निर्माणाधीन अधिकांश पुलको फाउण्डेशन निर्माणको काम सम्पन्न भइसकेको छ । ८१ मिटरसम्म अग्ला पुलको फाउन्डेसन र पुल निर्माणको काम अघि बढिरहेको आयोजना प्रमुख पोखरेलले जानकारी गराए ।

उनले भने, ‘प्याकेज नम्बर २ अन्तर्गत लेनडाँडाको जीतपुर खोलामा रहेको आयोजनाको सबैभन्दा अग्लो पुल निर्माणको काम अघि बढिरहेको छ । नेपालमा नयाँ प्रविधिबाट बनिरहेको उक्त पुलको लम्बाइ २५५ मिटर छ भने उचाइ ८१ मिटर अग्लो छ ।’

यस्तै प्याकेज नम्बर ३ अन्तर्गत राजदमार खण्डमा पुल निर्माणको काम अघि बढिरहेको उनले जानकारी गराए । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने जम्मा १५ हजार ४१६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी छ । व्यक्तिगत जग्गातर्फ हालसम्म ४ हजार ८७० रोपनी अधिग्रहण भएको र ३९२ रोपनी अधिग्रहण हुन बाँकी रहेको उनले जानकारी दिए ।

अघिल्लो वर्ष वैशाख ५ र १२ गते मन्त्रीपरिषद्ले गरेको निर्णय बमोजिम महादेवटार र चालिसे डाँडामा आवश्यक २८ रोपनी १ आना २ पैसा ऐलानी जग्गामध्ये २६ रोपनी ९ आना ३ पैसा र ६ रोपनी ३ आना ३ पैसा जग्गामध्ये ४ रोपनी जग्गा आयोजनाको नाममा प्राप्त भएको छ ।

सडक आयोजनामा वातावरण मूल्याङ्कन प्रतिवेदन अनुसार हालसम्म २९ हजार ९४१ वटा रुख कटान भएको  छ भने २०८० पुस १२ को मन्त्रीपरिषद्को निर्णय अनुसार मकवानपुर र बारा जिल्लामा कटानका लागि स्वीकृति प्राप्त भएका ४ हजार ३४५ रुखमध्ये २ हजार १८३ रुख कटान भइसकेको उनले जानकारी दिए ।

यसअघि गत पुस ४ गते समितिमा भएको छलफलपछि फास्ट ट्रयाक निर्माणका लागि सरकारबाट आवश्यक सहयोग भएको प्रधान सेनापति शर्माले जानकारी गराए । २०७४ जेठ १४ गते प्रधानमन्त्री प्रचण्डबाट शिल्यान्यास भएपछि द्रुत मार्ग निर्माणको काम अघि बढेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप