महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिता शुक्रबारदेखि थाइल्यान्डमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नै नेपालले आफ्नो पहिलो खेल हङ्कङसँग खेल्दैछ । खेल बिहान ८ः१५ बजे सुरु हुनेछ ।
नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपाल र हङ्कङका अतिरिक्त बहराइन पनि छ । उक्त समूहमा रहेका तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । नेपाली टोलीले आफ्नो दोस्रो खेल शनिबार बहराइनसँग खेल्नेछ ।
यसैगरी, नेपालले आफ्नो तेस्रो खेल मे १३ तारिखमा हङ्कङसँग र चौथो तथा अन्तिम खेल मे १५ तारिखमा बहराइनसँग खेल्नेछ । प्रारम्भिक चरणको खेलपछि तीनवटै समूहबाट एक–एक टोली प्रतियोगिताको ‘सुपर–३’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–३’ चरणमा भने तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ मा भने मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । यो प्रतियोगिताबाट दुई टोलीले आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुङ्गो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सात टोलीको भने टुङ्गो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।

विश्वस्तरीय छनोट प्रतियोगितामा चार टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यसैले एसियाली क्षेत्रको यो छनोट प्रतियोगिता सहभागी टोलीका लागि आगामी विश्वकपमा स्थान बनाउने महत्त्वपूर्ण खुड्किलो हो ।
एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दू वर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । टोलीमा उपकप्तानको जिम्मेवारी भने पूजा महतोले पाएकी छन् ।
नेपाली टोलीमा रोमा थापा, रुविना क्षेत्री, विन्दू रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुवी पोद्दार, कविता कुँवर, सबनम राई, इश्वरी बिष्ट, मनिषा उपाध्याय र रिया शर्माले पनि स्थान पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण