सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा

बुधबार, १२ वैशाख २०८१, १० : ०६
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । युभेन्ट्स इटालियन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी लाजियोसँग १–२ गोलले पराजित भएर पनि युभेन्ट्स फाइनलमा पुग्न सफल भयो ।

युभेन्ट्सले सेमिफाइनलमा समग्रमा ३–२ कुल गोल भिन्नताका आधारमा लाजियोलाई पछि पारेको हो । यसअघि खेलिएको सेमिफाइनलको पहिलो लेग खेल भने युभेन्ट्स २–० गोलले विजयी भएको थियो । सेमिफाइनलको दोस्रो लेग खेल निकै प्रतिस्पर्धात्मक थियो ।

रोमामा खेलिएको दोस्रो लेग खेलमा लाजियोका लागि दुबै गोल भ्यालेन्टिन कास्टेलानोसले गरेका थिए । खेल सुरु भएको १२औँ मिनेटमै भ्यालेन्टिनले लाजियोका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा लाजियो अगाडि रह्यो ।

निर्धारित समयको ४८औँ मिनेटमा भ्यालेन्टिनले नै टोलीको अग्रता दोब्बर बनाएका थिए । निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि युभेन्ट्सका लागि अर्काडियस मिलिकले एक गोल फर्काएका थिए । सोही गोलका कारण नै युभेन्ट्स सेमिफाइनलमा पुग्न सफल भयो ।

युभेन्ट्स सबैभन्दा बढी पटक इटालियन कपको उपाधि जित्ने टोली हो । युभेन्ट्सले हालसम्म १४ पटक उपाधि चुमिसकेको छ । युभेन्ट्सले पछिल्लो पटक सन् २०२१ मा इटालियन कप जितेको थियो । युभेन्ट्स २२औँ पटक इटालियन कपको फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा पराजित भएसँगै लाजियोले आठौँ पटक उपाधि चुम्ने अवसर  गुमाएको छ । लाजियोले पछिल्लो पटक सन् २०१९ मा इटालियन कपको उपाधि जितेको थियो । लाजियो हालसम्म १० पटक इटालियन कपको फाइनलमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप