पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द

समाचार सारांश
- पाकिस्तानले इरानसँगको सीमा नाका अनिश्चितकालका लागि बन्द गरेको छ, इजरायल र इरानबीचको तनावका कारण।
- बलुचिस्तान प्रान्तका पाँच जिल्लाका सीमा सुविधा स्थगित, तर व्यापार र स्वदेश फर्कने नागरिकलाई छूट।
- पाकिस्तानले इरानसँग ऐक्यबद्धता जनाउँदै इजरायलको आणविक क्षमताप्रति विश्वलाई सचेत गराएको छ।
क्वेटा । पाकिस्तानले छिमेकी मुलुक इरानसँग जोडिएका आफ्ना सबै सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै आफ्ना नागरिकलाई इरान प्रवेशमा रोक लगाएको प्रान्तीय अधिकारीहरूले सोमबार बताएका छन् ।
इजरायल र इरानबिच तीव्र आक्रमण प्रत्याक्रमण चलिरहेका समय अर्को सूचना नभएसम्मका लागि सीमा नाका बन्द गरेको हो । सीमा बन्दपछि पनि इरानबाट स्वदेश फर्कन चाहने नागरिकका लागि प्रवेश दिइने पाकिस्तानी अधिकारीले बताएका छन् ।
इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तका वरिष्ठ अधिकारी कादिर बख्श पिरकानीले एएफपीसँग भने, ‘चाघी, वाशुक, पञ्जगुर, केच र ग्वादर गरी पाँचवटै जिल्लाका सीमा सुविधाहरू स्थगित गरिएको छ।’
चागी जिल्लाको सीमाका एक अधिकारी अट्टा उल मुनिमले इरान प्रवेशलाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिए । उनले भने, ‘सीमा बन्दले सीमामा हुने ‘व्यापार गतिविधिमा कुनै प्रतिबन्ध गर्ने छैन’ र इरानबाट आफ्नो देश फर्कन आवश्यक पर्ने पाकिस्तानी नागरिकहरू स्वदेश फिर्ता हुन सक्नेछन् ।’
‘हामीले आज करिब २०० जना पाकिस्तानी विद्यार्थी आउने अपेक्षा गरेका छौँ,’ अट्टाले भने । आइतबार पाकिस्तानी विदेशमन्त्री इशाक डारले ४५० पाकिस्तानी तीर्थयात्रीलाई इरानबाट उद्धार गरिएको र अझै धेरैले यसलाई अनुसरण गर्न बाँकी रहेको बताएका थिए ।
आणविक हतियार भएको एक मात्र मुस्लिम बहुल देश पाकिस्तानले इजरायलको आक्रमणविरुद्ध ‘इरान सरकार र त्यहाँका जनतासँग ऐक्यबद्धता जनाउने’ शुक्रबार बताएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायलको आणविक क्षमताप्रति विश्व सचेत र सशङ्कित हुनुपर्ने चेतावनी दिएका छन् । इजरायल अघोषित भए पनि मध्यपूर्वको एक मात्र आणविक शक्ति हो ।
यदि द्वन्द्व चर्कियो भने पाकिस्तानले तेहरानलाई समर्थन गर्न सक्ने सञ्चारमाध्यमले जनाएका छन् तर इस्लामाबादका अधिकारीहरूले आफ्नो देशले ‘नैतिक र कूटनीतिक ऐक्यबद्धता’ मात्र देखाएको बताएका छन्।
सुन्नी बहुल पाकिस्तानको शिया बहुल इरानसँग ९०० किलोमिटर (५६० माइल) भन्दा बढी सीमा साझा छ। दुई छिमेकीबिचको सम्बन्ध जटिल रहेको छ, पाकिस्तान अक्सर तेहराइनमाथि अमेरिकी नेतृत्वको प्रतिबन्धबाट सावधान रहन्छ र रियादसँगको सम्बन्धलाई पनि ध्यानमा राख्छ । सायदी अरबले बारम्बार पाकिस्तानी अर्थव्यवस्थालाई बचाउन मद्दत गरेको छ ।
दुई देशबिचको द्विपक्षीय व्यापार करिब तीन अर्ब अमेरिकी डलर रहेको छ र अधिकारीहरूले आगामी वर्षहरूमा यसलाई बढाएर १० अर्ब डलर पुरयाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु