बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा छु : कोइराला

सोमबार, १७ वैशाख २०८१, २० : ४४
सोमबार, १७ वैशाख २०८१

झापा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने जिकिर गरेका हुन् । 

झापामा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको  नवनिर्मित ‘बीपी स्मृति भवन’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यति बेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । सङ्कटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । 

कोइरालाले नेपालमा राजनीतिक स्थायित्व बिना अपेक्षाअनुसारको वैदेशिक लगानी नआउने बताए । नेता कोइरालाले देश विकासको बाधक राजनीतिक अस्थिरता भएको ठोकुवा गरे । 

‘यदि देशमा राजनीतिक स्थायित्व थियो भने लगानी भित्र्याउन कुनै सम्मेलन गर्नुपर्दैनथ्यो,’ कोइरालाले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण छ, सबै ऐन कानुनहरू लगानीमैत्री छन् । सरकारले लगानीको सुरक्षाको ग्यारेन्टी गर्छ भन्ने लगानीकर्तामा विश्वस्त गराउनु जरुरी छ । सरकारपिच्छे नीतिहरू परिवर्तन हुन्छन् । त्यही भएर पनि अहिलेको अवस्थामा लगानीकर्ताले ढुक्कले लगानी गर्ने अवस्था देखिँदैन ।’ 

उनले विगतमा गरिएको लगानी सम्मेलनले के–कति परिणाम निकाल्यो भन्ने समीक्षा हुनुपर्नेमा जोड दिए । ‘सम्मेलनमा गरिएका प्रतिबद्धता र समझदारीअनुसार कतिको लगानी भित्रियो भनेर समीक्षा गर्नुपर्छ,’ उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप