शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय
तथ्यांक कार्यालयको प्रतिवेदन

तथ्याङ्क कार्यालयको प्रतिवेदन : कर्णालीको अवस्था कमजोर

बिहीबार, १० जेठ २०८१, ११ : ५७
बिहीबार, १० जेठ २०८१

  सुर्खेत । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष  २०८०/८१ मा कर्णालीको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) करिब रु. २ खर्व ४४ अर्ब हुने अनुमान गरिएको छ । यो वर्ष कर्णालीले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२८ प्रतिशत योगदान पुर्‍याउने अनुमान गरिएको छ । जुन अन्य प्रदेशको भन्दा निकै कम हो । 

यस्तै कर्णालीको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो पनि अन्य प्रदेशको भन्दा कम हो । ०७६ सालयता कर्णालीको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर खासै बढ्न नसकेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष ०७६/७७ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर २.३७ हुँदा कर्णालीको १.३९ थियो । ०७७/७८ मा देशको ४.८५ हुँदा कर्णालीको ५.०० थियो । त्यसपछि ०७८/७९ मा समग्र देशको बढ्दा कर्णालीको घटेर ४.८२ मा झ¥यो ।
यस्तै गत वर्ष घटेर १.९६ मा पुगेको थियो भने यो वर्ष केही बढ्ने अनुमान गरिएको हो । 

यस्तै राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको हिस्सा जम्मा ४.३ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ । यो अन्य प्रदेशको भन्दा निकै कम हो । सुदूरपश्चिम प्रदेशले ७.१, मधेसले १३.१, गण्डकीले ९.१, लुम्बिनीले १४.३, कोशीले १५.८ र बागमती प्रदेशले ३६.४ प्रतिशत योगदान पुर्‍याउने अनुमान गरिएको छ । 

चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने देखिन्छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोद शरण आचार्यले अर्थतन्त्रका विभिन्न १८ शीर्षकमा नै कर्णाली कमजोर रहेको बताए । ‘कर्णाली उद्योगमा निकै कमजोर छ, होटेल क्षेत्रमा पनि अरू प्रदेश भन्दा कमजोर छ,’उनले भने, ‘जसका कारण कर्णालीको अर्थतन्त्र कमजोर भएको हो । यद्यपि सम्भावनाको प्रदेश भने कर्णाली नै हो ।’ 

कर्णाली प्राथमिक उत्पादन हुने ठाउँ हो । विशेषगरी यहाँको अधिकांश अर्थतन्त्र कृषि, वन र मत्स्य पालनमा निर्भर छ । औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादन अन्तर्गत कृषि, वन तथा मत्स्यको योगदान चालु आर्थिक वर्षमा सबैभन्दा बढी २९.५१ प्रतिशत रहने अनुमान गरिएको छ ।

त्यसपछि सार्वजनिक प्रशासनको अंश २३९८ रहेको छ भने शिक्षाको १५.६०, निर्माणको ७.२५, थोक तथा खुद्रा व्यापारमा ५.४९ प्रतिशत छ । खानी तथा उत्खनन्मा ०.१७ प्रतिशत मात्रै योगदान छ, कर्णालीमा । निर्देशक आचार्यले यो क्षेत्रमा पनि कर्णाली ठुलो सम्भावना बोकेको प्रदेश भएको बताए । उनले भने, ‘अहिले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम भइरहेको छ भने अन्य काइनेट ढुङ्गाहरुपनि यहाँ पाइन्छ । यसलाई प्रयोगमा ल्याएको खण्डमा अर्थतन्त्रमा ठुलो योगदान पुग्ने देखिन्छ ।’

कर्णाली प्रदेश सरकारका अर्थ सचिव विष्णु प्रसाद पौडेलले कर्णालीको अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन सकिने सम्भावना प्रशस्त रहेको बताए । भेरी र कर्णाली हाइड्रोपावरको विकासदेखि भेरी, कर्णाली करिडोरको विकास गर्न सके अर्थतन्त्रमा क्षेत्रका सुधार ल्याउन सकिने उनको भनाइ थियो । यस्तै कर्णालीले पर्यटनका क्षेत्रबाट लाभ लिन सकिने सम्भावना धेरै रहेको पनि बताए । उनले यिनै तथ्याङ्कको आधारमा कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बताए ।

यस्तो छ कर्णालीको औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादनको अंश
1 (1)

प्रतिव्यक्ति जीडीपीमा मधेसभन्दा धनी
अरू अधिकांश सुचकमा कमजोर रहेको कर्णाली प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा भने मधेस प्रदेश भन्दा धनी देखिएको छ । प्रतिवेदन अनुसार कर्णालीको प्रतिव्यक्ति जीडीपी १ हजार ६६ अमेरिकी डलर रहेको छ । जबकि मधेस प्रदेशको प्रतिव्यक्ति जीडीपी ८९२ डलर मात्रै रहेको छ । 

बाग्मती प्रदेशको सबैभन्दा बढी प्रति व्यक्ति जीडीपी २ हजार ४८५ डलर रहेको छ भने दोस्रोमा गण्डकी प्रदेश छ । यो प्रदेशको प्रतिव्यक्ति जीडीपी १ हजार ५५७ डलर छ । 
यस्तै कोशी प्रदेशको १ हजार ३३६, लुम्बिनीको १ हजार १५९ र सुदूरपश्चिम प्रदेशको १ हजार १११ अमेरिकी डलर रहेको छ । 

2 (2)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप