समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी

समाचार सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञान र प्रविधिको प्रयोगबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउनुपर्ने बताइन्।
- उनले विद्यार्थीहरूलाई वैज्ञानिक सोच र अनुसन्धानमा आधारित क्षमता विकास गराउनुपर्नेमा जोड दिइन्।
- भण्डारीले प्राकृतिक स्रोतको दिगो प्रयोग र स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन्।
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन् ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन गर्दै भण्डारीले भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्व स्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको बताएकी हुन् ।
विज्ञान केबल प्रयोगशालामा सीमित रहने विषय नभई मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया भएको उनको भनाई थियो । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्व स्तरमा प्रतिस्पर्धी बनाउनु हाम्रो दायित्व हो । मुलुकको जिम्मेवार राजनीतिक पार्टी जसको अध्यक्षसमेत यसै झापा जिल्लाका हुनुहुन्छ । उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुसीको विषय हो । विज्ञान केबल प्रयोगशालामा सीमित रहने विषय होइन । बरु यो त मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया हो ।’
पूर्व राष्ट्रपति भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक श्रोत, साधन र सम्पदाहरू प्रचुर रूपमा उपलब्ध रहेको बताउँदै तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिमा साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य छ । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक छ । विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरूमा पर्याप्त साधन,श्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव