आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही

शनिबार, २४ जेठ २०८२, १८ : २७
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने बताएका छन्। गृहमन्त्रीको राजीनामाबारे उनले गृहमन्त्री स्वयंले निर्णय लिने बताए।
  • शाहीले भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश गएका नेपालीहरू घरेलु हिंसामा परेको र ठगिएको बताए। उनले उनीहरूको उद्धार गर्नुपर्नेमा जोड दिए।
  • उनले वर्तमान सरकार गलत नियतका साथ बनेको र मुलुकको अर्थतन्त्र ओरालो लागेको आरोप लगाए। उनले एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको पनि बताए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने बताएका छन् । तर, गृहमन्त्री रमेश लेखकले राजीनामा दिने वा नदिने भन्ने कुरा स्वयम लेखकमा निर्भर रहने उनको भनाई छ । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने बताएका हुन् । उनले भने,‘हामीले यो प्रकरणमा सत्यतथ्य बाहिर ल्याउनको लागि पनि छानबिन समिति बनाउनुपर्छ भनेका छौँ । अहिलेको गृहमन्त्रीको मात्रै नभएर कतिवटा गृहमन्त्री, सचिव र अध्यागमनमा खटिएकाहरू छन्, जो जो दोषी छन्, सबै कारबाहीको दायरामा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । मानव तस्करको अपराध गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’

भिजिट भिसाको नाममा अवैध बाटोबाट गएकाहरू घरेलु हिंसामा परेको र ठगिएको उनले सुनाए । उनले भने,‘हाम्रा नेपाली नागरिक कुन देशमा कति मान्छे छन् भन्ने सरकारसँग तथ्याङ्क छैन । अवैध बाटोबाट जानेहरू ठुलो पीडामा छन् । उनीहरूको पासपोर्ट खोसिएको छ । नेपाल फर्किएर आउने अवस्था छैन । नेपाली नागरिकलाई रेस्क्यु गर्नुपर्छ ।’ उनले भिजिट भिसा प्रकरण अहिले मात्रै बाहिर आएको भन्दै यस्तो घटना पहिल्यैदेखि नै भएको हुनसक्ने आफूहरूको आशङ्का रहेको बताए । 

उनले वर्तमान सरकार गलत नियतको साथ बनेको दाबी गरे । उनले भने,‘यो सरकार सही नियतका साथ होइन गलत नियतको साथ बनेको हो आफ्नो अपराधको ढाकछोपको लागि बनेको हो । फाइलहरू भटाभट खोल्नुपर्दैन ? हिजो खोलिएका फाइलहरू तामेली गरिएको छ । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ हरायो ? गिरिबन्धु टी–स्टेट प्रकरणमा जग्गा व्यक्तिलाई र निजीलाई किन दिइयो ? नियत के थियो ? भनेर हामीले सोधेका हौँ ।’

उनले अहिले मुलुकको अर्थतन्त्र ओरालो लाग्दो अवस्थामा रहेको चित्रण गरे । विदेश पलायनको लागि एयरपोर्टमा दिनहुँ ठुलो लाइन लागेको भन्दै देशको अवस्था खराब रहेको उनको भनाई छ । उनले भने,‘यो सरकारले कति प्रतिशत रोजगारी सिर्जना गर्‍यो ? यति जनालाई रोजगारी दियौँ भनेर डेटा पेस गर्न सक्छ ? जनताले अहिले के भनेका छन् ? के विषय उठाएका छन् ? शक्तिशाली सरकारले जनताको मुद्दाको समाधान गरेको छ त ? जनताले तीव्र विकास खोजेका छन् । के विकास भयो त ?’

उनले आफूहरूले आरोपको लागि आरोप नलगाएको बरु प्रतिपक्षीय दायित्व पूरा गरिरहेको बताए । उनले तत्काल एमालेसँग सहकार्य गरेर आफ्नो दल सरकारमा जाने वा नयाँ एमाले–माओवादीबिच नयाँ गठबन्धन नहुने दाबी गरे । 

उनले भने,‘एमाले र माओवादीबिच तत्काल सहकार्य हुने कुरा शतप्रतिशत गलत हो । माओवादी सरकारमा सहभागी हुँदैन । हाम्रो पार्टी सरकारमा जाने मनस्थितिमा छैन । हामी त जनतामा नै जाने हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप