आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

‘श्रमाधान रोजगार मेला’ को तयारी तीव्र

बिहीबार, १० जेठ २०८१, १९ : ०१
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना सातै प्रदेशमा ‘ श्रमाधान रोजगार मेला’ हुँदैछ । जेठ १७ देखि ३० गतेसम्म आयोजना हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी तीव्र पारिएको छ । सरोकारवाला निकायहरूले आ–आफ्नो तर्फबाट मेलाको तयारी तीव्र पारेका हुन् ।

श्रम मन्त्री डोल प्रसाद अर्यालले मेला रोजगार खोज्नेहरू, रोजगारदाताहरू र सरोकारवालाहरूलाई एकत्रित गरी सीप विकास र रोजगारीको अनुकूल वातावरण सिर्जना गर्ने गरी आयोजना गर्न लागिएको बताए । त्यसको तयारी तीव्रताका अघि बढिरहेको उनको भनाइ छ ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरूको पनि सहभागिता रहने मन्त्री अर्यालले बताए । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ ।

सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ लगायतको मेलामा स्टल राखिनेछ ।

मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ । मधेस प्रदेशको वीरगन्जमा १९ र २० गते सञ्चालन हुनेछ । गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ ।

मेलामा अन्तर्राष्ट्रिय रोजगार : कानुनी प्रक्रिया र मनोवैज्ञानिक प्रभाव विषयमा समेत छलफल हुनेछ । जसमा अन्तर्राष्ट्रिय रोजगारका लागि भिसा, श्रम स्वीकृति र श्रम कानुनको प्रक्रियाबारे जानकारी दिइने मन्त्रालयले जनाएको छ । मनोवैज्ञानिक रूपमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले महसुस गर्ने सांस्कृतिक भिन्नता, एक्लोपन र नयाँ वातावरणमा समायोजनको चुनौती लगायतका विषयमा समेत जानकारी दिइनेछ ।

श्रमाधानको अवधारणलाई सातै प्रदेशसम्म जानकारी दिने, सीप विकास प्रवर्द्धन गर्न, उद्यमशीलता प्रोत्साहन गर्न, आर्थिक वृद्धि उत्प्रेरित गर्न, युवा सशक्तीकरण गर्न, सार्वजनिक–निजी साझेदारी अभिवृद्धि गर्ने लगायतको उद्देश्यले मेला आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मेला मार्फत सीप र रोजगारलाई जोड्दै आन्तरिक रोजगारी तथा स्वरोजगारलाई प्रोत्साहित गराउन मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री अर्यालको अपेक्षा छ । सातै प्रदेशमा स्थानीय सरोकारवाला निकायको सक्रियतामा आयोजना गर्न लागिएको मेलाको तयारी तीव्र पारिएको श्रम मन्त्रालयको रोजगार मेलाको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप