सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
सरोकार

संघीय सरकारका यी पाँच अस्पतालमै छैनन् पर्याप्त जनशक्ति

शनिबार, १२ जेठ २०८१, १७ : ००
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । देशभर स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुणस्तरीय सेवा प्रदान गर्नका देशभर करिब ९२ हजार जनशक्ति आवश्यक परेको औँल्याएको हो । देशका ठुला अस्पतालहरूमा जनशक्तिको अभावका कारणले अस्पतालको क्षमताभन्दा कम सेवा प्रवाह हुनुका साथै स्वास्थ्यकर्मीहरूमा कामको भार थपिएको मन्त्रालयको विश्लेषण छ । 

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका छन् । उनले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत संघस्तरका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरेका हुन् । 

सरकारले नै देशभर जनशक्ति अभाव भइरहँदा संघीय सरकार अन्तर्गत पर्ने ठुला पाँच अस्पतालमा के–कति जनशक्ति छन् ? काठमाडौँ उपत्यकामा रहेका वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत जनशक्ति र खाली रहेको दरबन्दीबारे रातोपाटीले सङ्कलन गरेको तथ्याङ्क :

  • वीर अस्पताल

वीर अस्पतालमा १८ सयको हाराहारीमा जनशक्ति आवश्यक देखिन्छ । त्यसमध्ये अस्पतालमा ११ सय देखि १२ सयको हाराहारीमा पदपूर्ति भएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले  बताए । यसमध्ये पनि अधिकांश नर्सको दरबन्दी खाली रहेको उनले सुनाए । ‘सरकारले ८३१ जना नयाँ जनशक्ति छुट्याएकोमा एक सय मात्रै पूर्ति हुन सकेको छ,’ उनले भने, ‘लोकसेवाबाट थप २४६ जनाको पदपूर्ति हुँदा पनि ३ सय जनशक्ति मात्रै भयो, यसमा पनि ५ सयको हाराहारीमा खाली नै छ ।’

डा. पौडेलका अनुसार अस्पतालमा ६ सय शय्या सञ्चालन गर्न ३७२ जना नर्समात्रै छन् । उनले भने, ‘यसमध्ये पनि सुत्केरी बिदा, पढाइ बिदा लगायत औसतमा १५ देखि २० प्रतिशत जनशक्ति बाहिर नै हुन्छ ।’

  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा प्राविधिक तर्फ २२० जना नर्सिङ जनशक्ति कार्यरत छन् । करिब एक सय जना चिकित्सक कार्यरत छन् । सो अस्पतालमा करिब ३२० जना स्वास्थ्य प्राविधिक तर्फ जनशक्ति छ । 

अस्पतालभर नै करिब ७ सय जना कर्मचारी कार्यरत छन् । स्वास्थ्य मापदण्ड अनुसार सेवा प्रदान गर्नका लागि अस्पतालमा करिब २ सय कर्मचारी थप्नु पर्ने प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले बताए । 

प्रसूति अस्पतालमा ४८९ बेड सञ्चालित छ । जनशक्ति थप गर्न सके यसलाई बढाउन सक्ने अधिकारीको भनाई छ । ‘अस्पतालमा एक हजार बेडको सुविधा दिने भनेर सोचेको हो तर आर्थिक भारका कारण नसक्ने भएर ७ सय बेड सञ्चालनका लागि पहल गरेका छौँ,’ अधिकारीले भने, ‘बेड अनुसार कर्मचारी पनि थप्नु पर्ने हुन्छ ।’ 

अधिकारीले करार र बाहिरका कर्मचारीबाट काम गरिरहेको सुनाए । ‘यदि ७ सय बेड सञ्चालन गर्ने हो भने सरकारी निकायबाट नै कर्मचारी थप्नु पर्ने हुन्छ’ उनले भने, ‘जनशक्ति पाए हालको भन्दा दोब्बर सेवा दिन सकिन्छ । यसले व्यवस्थित हुने हामीले आश गरेका छौँ ।’ 

  • राष्ट्रिय ट्रमा सेन्टर 

संघ अस्पताल अन्तर्गत राष्ट्रिय ट्रमा सेन्टर पनि एक हो । सेन्टरका अनुसार यो अस्पतालमा जम्मा दरबन्दी सङ्ख्या २६२ जनाको छ ।

trauma centre

यसमध्ये रिक्तदरबन्दी सङ्ख्या ३९ जनाको छ, तर सो मध्ये ३८ जना करारमा नियुक्त छन् । १ जना दरबन्दी खाली रहेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट मासिक ज्यालादारीमा १९० जना कार्यरत छन् । 

  • त्रि.वि शिक्षण अस्पताल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५५७ जनाको पद रिक्त छ । अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार १७ सय ८२ जना दरबन्दीमध्ये ५५७ जनाको पद रिक्त भएको हो । १२ सय २५ जना स्थायी दरबन्दीमा कार्यरत छन् । 

TU_Teaching_Hospital

अस्पतालले ४०५ जना कर्मचारीहरू आन्तरिक श्रोतमार्फत करारमा नियुक्त गरेको छ । 

यो अस्पताल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अस्पताल हो । स्थायी दरबन्दी तथा पदपूर्तिको लागि त्रिभुवन विश्वविद्यालयको सेवा आयोगबाट हुनुपर्छ । तर आयोगमा धेरै समयसम्म अध्यक्ष र सेवा आयोगको सदस्यको नियुक्ति नभएको कारण पदपूर्ति हुन नसकेको अस्पतालमा कर्मचारी राख्न नसकिएको अस्पतालका अधिकारी डा. बाबुकृष्ण श्रेष्ठले बताए । ‘हाल त्रि.वि सेवा आयोगमा नयाँ अध्यक्ष र सदस्यहरूको नियुक्ति भइसकेकोले सो रिक्त पदहरूको पूर्ति पनि चाडै हुनेछ,’ उनले भने । 

  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा पनि जनशक्ति आवश्यकता भन्दा कम जनशक्ति देखिएको छ । अस्पतालका अनुसार सरकारको कुल दरबन्दी सङ्ख्या १६८ जना छ । यसमध्ये १५९ जनाको मात्रै पदपूर्ति हुन सकेको छ । सो मध्ये ९ जनाको  सरकारको दरबन्दी खाली पाइएको छ । अस्पतालले आवश्यकता अनुसार ४१ जना करारमा जनशक्ति राखेको जनाएको छ । 

संघका अधिकांश अस्पतालले आफ्नो आवश्यकता अनुसार प्राविधिक तथा अप्राविधिक करार सेवामा जनशक्ति राखेर काम गर्दै आएका छन् । तर जुन अस्पतालको आफ्नो आर्थिक स्रोत छैन, त्यस्ता अस्पतालले करार सेवामा पनि कर्मचारी राख्न सकेका छैनन् । यसले आम नागरिकले गुणस्तरीय सेवा पाउन नसक्नुका साथै स्वास्थ्य संस्थामा काम गर्नेमाथि कामको भार थपिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप