शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

आईपीएल–२०२४ : १० वटै स्टेडियमका ग्राउन्ड स्टाफ र क्यूरेटरलाई जनही २५ लाख पुरस्कार

सोमबार, १४ जेठ २०८१, १२ : ३५
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । इन्डियन प्रिमियम लिग (आईपीएल) को १७ औँ संस्करण सकिएको छ । कोलकाता नाइट राइडर्सलाई तेस्रो पटक च्याम्पियन बनाउँदै १७ औँ संस्करणले बिट मारेको हो । कोलकाताले जितसँगै २० करोड भारतीय रुपैयाँ पुरस्कार पनि पाएको छ । उपविजेता बनेको सनराइजर्स हैदराबादले १२ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाएको छ ।

यसका अतिरिक्त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलका खेलहरू खेलाइएको स्टेडियमका ग्राउन्ड स्टाफ र क्यूरेटरहरुलाई पनि ठुलो रकम दिने घोषणा गरेको छ । प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याएवापत बीसीसीआईले उनीहरूलाई प्रोत्साहन रकम दिने घोषणा गरेको हो ।

बीसीसीआईका सचिव जय शाहका अनुसार, आईपीएलका खेलहरू खेलाइएको सबै स्टेडियमको ग्राउन्ड स्टाफ र क्यूरेटरलाई जनही २५ लाख भारतीय रुपैयाँ प्रोत्साहन रकम दिइने छ । यो प्रोत्साहन रकम आईपीएलको खेल खेलाइएका १० वटा स्टेडियमका ग्राउन्ड स्टाफ र क्यूरेटरले पाउने छन् ।

‘आईपीएलको १७ औँ संस्करण सफलतापूर्वक सम्पन्न गर्न ग्राउन्ड स्टाफ र क्यूरेटरहरुको निकै ठुलो योगदान छ । हामी उनीहरूप्रति आभारी छौँ । मौसम प्रतिकूल हुँदा पनि उनीहरुले सफलतापूर्वक आफ्नो दायित्व निर्वाह गरेका छन् ।

त्यसैले आईपीएलका खेलहरू खेलाइएको १० वटै स्टेडियमका ग्राउन्ड स्टाफ र क्यूरेटरलाई २५–२५ लाख रुपैयाँ दिने घोषणा गर्दछु । यसदेखि बाहेक तीनवटा वैकल्पिक स्टेडियमका ग्राउन्ड स्टाफ र क्यूरेटरलाई पनि जनही १० लाख रुपैयाँ दिइने छ,’ जय शाहले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप