बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमतीले गाउँपालिकाले क्रसर उद्योग सञ्चालन गर्ने

सोमबार, १० असार २०८१, २१ : २८
सोमबार, १० असार २०८१

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले क्रसर उद्योग गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा क्रसर उद्योग सञ्चालनको कार्यक्रम समावेश गरिएको हो ।

सोमबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाले आफ्नै लगानीमा क्रसर उद्योग सञ्चालनका लागि बजेट विनियोजन गर्नेगरी कार्यक्रम तयार गरेको बताए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा बागमती–५ मा आफैले क्रसर उद्योग सञ्चालन गर्ने भएको छ । सञ्चालन हुने क्रसर उद्योगका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अध्यक्ष घलानले बताए ।

गाउँपालिकाको विकासका लागि प्राथमिकता हुने र आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्यका साथ क्रसर सञ्चालन गर्न लागिएको उनले बताए । गाउँपालिका क्षेत्रमा बन्ने सरकारी तथा निजी क्षेत्रको भौतिक संरचना गुणस्तरीय नबन्ने गरेको सन्दर्भमा सो क्रसरले सहयोग पुग्ने विश्वास अध्यक्ष घलानले व्यक्त गरे ।

कच्चा भन्न क्रसर उद्योगबाट तयारी गिट्टी बालुवा बेच्दा मूल्य पनि बढी पाउने र त्यसको लाभ पालिका र गाउँपालिका भित्रका जनतालाई पुग्ने उनले बताए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वधारतर्फ १३ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड २५ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड २५ लाख रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड १० लाख रुपैयाँ र संस्थागत विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ११ करोड १२ लाख रुपैयाँ गरी स्रोत अनुमानबाट ३४ करोड १२ लाख रुपैयाँ बजेट सिमा निर्धारण गरेको छ । पालिकाले आगामी आर्थिक वर्षमा ७१ करोड रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको अध्यक्ष घलानले बताए ।

उपाध्यक्ष तिमल्सिनासहित ४ वडाध्यक्षद्वारा गाउँसभा बहिष्कार

birod

बागमती गाउँपालिकाको गाउँसभा उपाध्यक्ष फणिन्द्र तिमल्सिनासहित ४ वडाध्यक्षले बहिस्कार गरेका छन् ।  गाउँपालिका अध्यक्षले मनोमानी ढंगले बजेट ल्याएको, वडालाई बजेट सिलिङ उपलब्ध नगराएको भन्दै उपाध्यक्ष र वडाध्यक्षहरुले गाउँसभा बहिष्कार गरेको बताएका हुन् ।

नीति तथा कार्यक्रम र बजेटप्रति उपाध्यक्ष र केही वडा अध्यक्षले असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष तिमल्सिना र वडाध्यक्षले असन्तुष्टि जनाएका हुन् । उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका थिए भने हेटौंडामा पत्रकार सम्मेलन समेत गरेका थिए ।

गाउँपालिका अध्यक्ष घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले एकलौटी र मनलाग्दी गरेको उनीहरूको आरोप छ । गाउँपालिकाका अध्यक्ष घलानले भने बजेट निर्माणको प्रक्रियामै रहेको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा बजेटको कुरा गरेर विरोध गर्नु उचित नभएको उनीहरुले बताए । प्राथमिकता पहिचान गरेर योजना छनोट गर्ने विषयगत समितिहरू मार्फत योजना तर्जुमा गर्ने प्रक्रिया जारी रहेको उनीहरूको भनाई छ ।

बजेट वक्तव्य ल्याउने अघिल्लो दिन आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाका उपाध्यक्ष तिमल्सिनाको नेतृत्वले नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै असन्तुष्टि जनाएका थिए । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य हक अधिकारमा प्रत्यक्ष हस्तक्षेप गरी नीति तथा कार्यक्रम ल्याएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।

उपाध्यक्ष तिमल्सिनासहित ६ नम्बर अध्यक्ष टेकबहादुर डिम्डुङ, ७ का अध्यक्ष उत्तरबहादुर भोलन, ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना र ९ का अध्यक्ष पुनराम घलान तथा कार्यपालिका सदस्य डम्बरबहादुर विकले गाउँपालिकाको नीति कार्यक्रमप्रति असन्तुष्टि जनाएका हुन् ।

बजेटमा उपाध्यक्षलाई समेत सिलिङ बजेट राखिनुपर्ने, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यको हक अधिकारमा हस्तक्षेप गर्न नहुने लगायतका माग राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप