काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ
काठमाडौं । नेपाल भलिबल संघले माल्दिभ्सको मालेमा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, सहाना प्रधान फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरतबहादुर शाहलगायतले बिदाइ गरे । च्याम्पियनसिप यही जुलाई १८ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ ।
नेपालले पहिलो पटक उमेर समूह काभा यु–२० च्याम्पियनसिप खेल्न लागेको हो । उमेर समूहदेखि नै भलिबलको विकास गर्ने लक्ष्यसहित नेपाल भलिबल संघले उमेर समूहको प्रतियोगिता गराउने र अन्तर्राष्ट्रिय स्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी कूल चार टोलीको सहभागिता रहेको छ ।
नेपाली टोलीलाई बिदाइ गर्दै राखेप सदस्य–सचिव टंकलाल घिसिङले पहिलो पटक उमेर समूहको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने लागेको भन्दै शुभकामना दिए । उनले यो राम्रो सुरुआत भएको र यो टिमबाट भविष्यमा राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे ।
नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।
सिंगल राउण्ड रोविनका आधारमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाईनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाईनल खेल हुनेछ । फाइनल खेल जुलाई २३ मा हुनेछ ।
नेपालले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोली मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछ ।
नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री
मुख्य प्रशिक्षक : कुमार राई
सहायक प्रशिक्षक : अर्जुन घिमिरे
व्यवस्थापक : जुनु पुन