महिला मृत्युको घटनामा मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णय उच्चद्वारा बदर

विराटनगर । विराटनगर महानगरपालिका–४, इक्राहीका दिलिप मण्डलले सुनसरी, छिटाहाकी जानकीदेवी मण्डलसँग १८ वर्ष अगाडि मागी विवाह गरे । विवाह गरेको दुई वर्षमा जेठो छोरा रुपेश मण्डलको जन्म भयो । अहिले उनी १६ वर्षका भए । रुपेशका भाइ ८ वर्षका छन् ।
एक महिना अघि जानकीदेवीको मृत्यु शङ्कास्पद अवस्थामा भयो । दिलिपले आफ्नी प्रेमिका र प्रेमिकाको आमासँग मिलेर जानकीलाई मारेको आफन्तहरूको दाबी छ ।
छोरा रुपेशले पनि आमाको मृत्युमा बुबाको भूमिका शङ्कास्पद रहेको बताएका छन् । बुबाले आमालाई मुङ्ग्राले हानेर हात भाँचिदिएको र मार्ने प्रयास गरेको उनको भनाइ छ ।
गत जेठ २९ गते जानकी घरकै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तर, उनी झुण्डिएको भन्दा ‘झुण्ड्याइएको’ जानकीका छोरा रुपेश र जानकीका माइती पक्षको दाबी छ ।
परिवारका सदस्यका अनुसार १० वर्ष यता प्रत्येक दिनजसो दिलिप र जानकीको झैझगडा हुन्थ्यो । मोरङ जिल्ला प्रहरी कार्यालयमा धेरैपटक उनीहरूबिचको झगडालाई लिएर छलफल पनि भयो । हरेक पटक मिलापत्र गराएर छोडिन्थ्यो ।
दिलिप मण्डलले पछि जानकीसँग डिभोर्सको मुद्दा हालेका थिए । गत जेठ २८ गते मुद्दाको अन्तिम निर्णय आउने आशा थियो । जानकी पनि अदालत गइन् । अदालतमा उनले ‘म छुट्टिएर बस्छु’ भनिन् । अदालतले त्यस दिनको सुनुवाइ रोकेर दुई महिना पछिका लागि पेसी तोकिदियो ।
तर, त्यसदिन जब जानकी घर पुगिन्, उनीमाथि मारपिट सुरु भएको रुपेशले बताए । ‘म ५ बजेतिर स्कुलबाट घर आएँ । घर आउँदा ममीलाई रोडबाट घिच्याएर घरभित्र लगेर बुबाले कुटपिट गर्नुभयो । त्यसबेला हामी तीन जनामात्रै थियौँ । ममीलाई डोरी ल्याएर झुण्डिहाल, मरिहाल भन्नुहुन्थ्यो । बुबाले नै डोरी दिएर झुण्डिन लगाउनु हुन्थ्यो,’ छोरा रुपेशले भने ।
रुपेशका अनुसार उनको बुबा दिलिप त्यस दिन बाहिरै खाना खाएर आएका थिए । त्यस दिन बुबाले घरका सामान फालिदिने र आमालाई शारीरिक तथा मानसिक यातना दिएको रुपेशको भनाइ छ ।
‘बुबाले ममीको हात पनि भाँचिदिनु भएको हो । मुङ्ग्रोले हातमा हान्दा ममीको हात नै भाँचियो । पोष्टमार्टम रिपोर्टमा पनि छ,’ रुपेशले भने, ‘राति म ममीसँगै सुतेको हो । कुटपिटको कारण ममी बेहोसजस्तो हुनुहुन्थ्यो । राति डेढ बजेतिर ममी होसमा आउनु भयो । अनि बाहिर निस्किनु भएको थियो । उनीहरू (दिलिपको प्रेमिका र प्रेमिकाकी आमा) राति नै आएका थिए । राति पनि ममीसँग उनीहरूले झगडा गरे ।’
उज्यालो भएपछि आफू अर्को कोठामा गएर सुतेको र केही समयपछि कोठा आउँदा ममीलाई झुण्डिरहेको देखेको रुपेशले बताए ।
जानकीका बुबा सुकदेव मण्डलले ज्वाइँ दिलिपले अरू केटीसँग लागेर आफ्नी छोरीको ज्यान लिएको दाबी गर्छन् । ‘पहिले पनि मैले तँलाई मार्छ नजा भनेको थिएँ । त्यसबेला सबै सम्पत्ति त सकिसक्यो, अब मारे पनि मारोस् भनेर घर गइ । मैले भेट्न पनि पाइनँ । झुण्ड्याएरै मारिदियो,’ बुबा सुकदेवले भने, ‘अर्को केटीसँग लागेको थियो । अहिले पनि त्यही केटीसँग मोरङको गछियामा बसेको छ । अहिलेको केटी हुनुभन्दा पहिले धरानको केटीसँग लागेको थियो ।’
छोरी जानकीको शव सल ओढेर झुण्डिएको अवस्थामा फेला परेको बताउँदै सुकदेवले प्रश्न गरे, ‘झुण्डिने मान्छेले सल ओडेर झुण्डिन्छ ?’
जानकीका दाजु रामेश्वर मण्डलले पनि न्याय पाउनुपर्ने बताए । प्रहरीले सुरुमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्न नमानेको पीडित परिवारको भनाइ छ । उनीहरूका अनुसार त्यसपछि आत्महत्या दुरुत्साहन विरुद्धमा मुद्दा हाल्ने कुरा भयो । त्यही अनुसार आफन्त सहमत भए । तर, प्रहरीले सर्जमिन मुचुल्का पनि राम्रोसँग नगरेको उनीहरूको आरोप छ ।
आफ्नै अनुकूलतामा २०–२२ दिनपछि सरकारी वकिलको कार्यालयमा प्रहरीले फाइल पठाएको र जिल्ला सरकारी वकिलको कार्यालयले ‘आफैँ झुण्डिएको’ भनेर मुद्दा नै नचल्ने निर्णय गरिदिएको पीडित परिवार बताउँछन् ।
दिलिप मण्डल उनकी प्रेमिका भनिएकी युवती र उनकी आमाविरुद्ध मुद्दा दर्ता गर्ने भनिएको थियो । उक्त मुद्दा हेरिरहेका अधिवक्ता कल्याण केसीले भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनेर गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालयले बदर गरिदिएको बताए । ‘जिल्ला सरकारी वकिलको कार्यालयको निर्णय बदर गरेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराउनु भनेर मिसिल फिर्ता ग-यो,’ केसीले भने ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सुवास भट्टराईले भने उच्चको निर्णयपछि अब मुद्दा चल्ने बताए । ‘आइतबारतिर अभियोग जान्छ । उच्चले मुद्दा चलाउन भनेपछि हामी मुद्दा चलाउँछौँ,’ उनले भने । तर, के आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो भन्ने प्रश्नमा उनले सबै फाइल हेरेरमात्रै जवाफ दिन सकिने बताए ।
उता, दिलिपले भने आफ्नो छोरा रुपेशलाई पनि ज्यान मार्ने धाक धम्की दिइरहेका छन् । ‘मोबाइलमा फोन गरेर मैले भनेको ठाउँमा गइनस् भने तँलाई मारिदिन्छु भन्नुभयो । अहिले म मामाकोमा छु,’ मामा घरमा बस्दै आएका रुपेश भन्छन् । मोरङको गछियामा बस्दै गरेका उनले गछियामै आउन धम्की दिएको रुपेश बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर