शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलाडी

विश्व फुटबलको ‘चकचके केटा’ का केही रमाइला जवाफ

सोमबार, ०७ साउन २०८१, ०६ : २०
सोमबार, ०७ साउन २०८१

काठमाडौँ । विश्व फुटबलको महान् खेलाडीको सूचीमा पर्छन्, स्विडिस स्टार ज्लाटन इब्राहिमोभिच । समकालीन विश्व फुटबलका यी प्रभावशाली खेलाडीले आफ्नो उत्कृष्ट खेल कलाले विश्वभर करोडौँ खेल प्रेमीको मन जितको छन् ।

यतिबेला उनले अन्तर्राष्ट्रिय र व्यावसायिक खेल जीवनबाट सन्न्यास लिइसकेका छन् । तर, विश्व खेल जगतमा उनी कुनै न कुनै रूपमा अहिले पनि चर्चामा आइरहन्छन् । यी चर्चित फुटबलरको नामसँग विश्व फुटबलका थुप्रै कीर्तिमान पनि गाँसिएका छन् । 

सम्भवतः उनको नाममा लेखिएका केही कीर्तिमान त अझै लामो समयसम्म तोडिने छैनन् । ४२ वर्षीय इब्राहिमोभिचले आफ्नो सक्रिय खेल जीवनमा विश्वकै उत्कृष्ट क्लबहरूबाट व्यावसायिक फुटबल खेले । उत्कृष्ट खेल कौशलकै कारण उनलाई भित्राउन प्रभावशाली क्लबहरू आतुर रहन्थे ।

४१ वर्षको उमेरसम्म पनि उनले फुटबलमा मैदानमा आफ्नो जादु देखाइरहे । इब्राहिमोभिचले आफ्नो व्यावसायिक खेल जीवनको अन्त्य भने सन् २०२३ मा इटालियन सिरी ए क्लब एसी मिलानबाट गरेका थिए । एसी मिलान उनको प्रिय क्लब पनि थियो । 

उनले स्पेनिस ‘पावर हाउस’ बार्सिलोना, इटालियन क्लब युभेन्ट्स र इन्टर मिलान, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा अमेरिकी क्लब लस एन्जल्स ग्यालेक्सीबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।

इब्राहिमोभिचले एसी मिलानका लागि एक सय ६३ खेल खेल्दै ९३ गोल गरेका थिए । उनले सन् २०११ र सन् २०२२ मा एसी मिलानलाई सिरिएको उपाधि चुमाउन पनि महत्त्वपूर्ण योगदान गरेका थिए । उनले आफ्नो समग्र खेल जीवनमा विभिन्न क्लबबाट कुल पाँच सय ११ गोल गरेका थिए । 

इब्राहिमोभिचले विभिन्न क्लबलाई ३४ वटा उपाधि चुमाएका थिए । त्यसमध्ये १२ वटा लिग उपाधि थियो । उनी ११ पटक बालन डी’ओर उपाधिका लागि मनोनयनमा परेका थिए । उनी स्विडेनका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् । उनले राष्ट्रिय टोलीबाट एक सय २२ खेल खेल्दै ६२ गोल गरेका थिए ।

आफ्नो उत्कृष्ट खेल कौशलका कारण मात्र होइन, मैदानमा साथी खेलाडीहरूसँग गर्ने उटपट्याङ व्यवहारका कारण पनि ज्लाटन चर्चित थिए । खेल मैदानमै रमाइलो ठट्टा गर्न पनि उनी उत्तिकै माहिर छन् । सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफमा पनि उनी उत्तिकै रोचक जवाफ फर्काउँछन् । त्यसैले उनले साथीहरूबाट ‘चकचके केटा’ को उपनाम पनि पाएका छन् । 

इब्राहिमोभिच आफ्नो पहिरन र जीवन शैलीका कारण पनि बारम्बार चर्चामा रहन्छन् । बलियो आत्मविश्वास, बौद्धिकतापूर्ण र हास्यास्पद जवाफ, खेल मैदानभित्र र बाहिर गर्ने ठट्यौली व्यवहारका कारण चर्चित इब्राहिमोभिचसँग जोडिएका केही रमाइला प्रसङ्गको बारेमा यहाँ चर्चा गरिएको छ । 

IbraCasaMilan5_3-Copy-1-e1578056096373

  • गाडी कसले किन्छ ? मैले त हवाईजहाज अर्डर गरेको छु’

समय समयमा खेल मैदान बाहिर खेलाडीको जीवन शैली र रहन–सहनको विषयमा पनि सार्वजनिक रूपमा विभिन्न चर्चा हुने गर्छन् । यस्तै एउटा चर्चा थियो, ज्लाटन इब्राहिमोभिचले चर्चित ब्रान्ड पोर्शको स्टोर्टस् कार किन्ने तयारी गरिरहेको । 

यस विषयमा सञ्चारकर्मीले इब्राहिमोभिचसँग प्रश्न गरेका थिए, ‘के तपाईं पोर्शको स्पोर्टस कार किन्ने तयारीमा हुनुहुन्छ ?’ त्यसको जवाफमा इब्राहिमोभिचले सञ्चारकर्मीलाई ठट्यौली पारामा जवाफ फर्काएका थिए, ‘हुँदै होइन । कसले भन्यो ? मैले त हवाईजहाज किन्न अर्डर गरिसकेको छु । पोर्शभन्दा त हवाईजहाज नै छिटो उड्छ, होइन र ?’

  • म भइनँ भने विश्वकप कसले पो हेर्ला र !

सन् २०१४ को फिफा विश्वकप दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आयोजना भएको थियो । स्विडेन त्यो विश्वकपमा छनोट हुन असफल भयो । स्विडेनको टोली विश्वकप छनोटको प्ले–अफ चरणमा पराजित भएको थियो । 

त्यसपछि सञ्चारकर्मीले विश्वकपमा स्विडेनको अनुपस्थितिको विषयलाई लिएर इब्राहिमोभिचसँग प्रश्न सोधेका थिए । त्यसको जवाफमा इब्राहिमोभिचले दिएको जवाफ निकै रमाइलो थियो । उनले भनेका थिए, ‘अरू कुरा मलाई थाहा छैन । म भइनँ भने विश्वकप कसले पो हेर्ला र ! मेरो अनुपस्थितिमा विश्वकपमा हेर्न बाँकी नै के रहन्छ ?’ 

151125175023-zlatan-ibrahimovic-guardiola-not-a-man-interview-davies-00025226

  • पेरिसमा अपार्टमेन्ट पाइएन, अब होटेल नै किन्छु होला !

ज्लाटन इब्राहिमोभिच सन् २०१२ मा व्यावसायिक फुटबल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका थिए । उनी इटालियन क्लब एसी मिलान छाडेर पीएसजीमा आबद्ध भएका थिए । उनले सन् २०१६ सम्म पीएसजीबाट खेलेका थिए ।

पीएसजीमा आबद्ध भएपछि व्यावसायिक फुटबल खेल्न उनी फ्रान्सको राजधानी सहर पेरिस पुगे । तर, पेरिस पुगेको लामो समयसम्म पनि उनी होटेलमै बसेका थिए । त्यसपछि उनले पेरिसमा भनेजस्तो अपार्टमेन्ट पाउन नसकेको समाचारहरू पनि आए ।

सोही विषयलाई लिएर एक सञ्चारकर्मीले इब्राहिमोभिचसँग प्रश्न गरेका थिए, ‘के तपाईंले अझै पेरिसमा अपार्टमेन्ट पाउनु भएन ?’ त्यो प्रश्नको जवाफमा इब्राहिमोभिचले दिएको जवाफ निकै रोचक थियो । इब्राहिमोभिचले भनेका थिए, ‘खै, अझै भनेजस्तो अपार्टमेन्ट पाउन सकिएन । अझ केही समय प्रयास गर्छु । त्यसपछि पनि अपार्टमेन्ट पाइएन भने एउटा सुविधासम्पन्न होटल नै पो किन्ने विचार गरेको छु ।’ 

  • त्यसपछि उनी मैदान छाडेर हटडग लिन हिँडे

स्विट्जरल्यान्डका सेन्टर ब्याक स्टिफन हेन्चोज आफ्नो समयका प्रभावशाली खेलाडी थिए । सन् १९९९ देखि सन् २००५ सम्म इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेलेका थिए । एकताका उनको प्रदर्शन निकै खस्किएको थियो ।

त्यति बेला लिभरपुलका समर्थकहरू पनि उनको आलोचना गर्थे । एक खेलका क्रममा उनको प्रदर्शनको विषयलाई लिएर सञ्चारकर्मीले इब्राहिमोभिचसँग प्रश्न गरेका थिए । त्यसको जवाफमा इब्राहिमोभिचले दिएको जवाफ त्यति बेला निकै चर्चित बनेको थियो । 

हेन्चोजको पछिल्लो प्रदर्शनप्रति व्यङ्ग्य गर्दै इब्राहिमोभिचले भनेका थिए, ‘खेलका क्रममा पहिले म बायाँ गएँ । हेन्चोजले पनि त्यसै गरे । त्यसपछि म दायाँ आएँ । उनले पनि त्यसै गरे । म फेरि बायाँ गएँ । त्यसपछि उनी मैदान छाडेर हटगड लिन हिँडे ।’

0_GettyImages-2160562110

  • जोसुकैले जितोस्, म त हिँडे बिदा मनाउन

सन् २०१२ को युरोकप फुटबल प्रतियोगिता पोल्यान्ड र युक्रेनमा आयोजना भएको थियो । त्यो युरोकपमा इब्राहिमोभिचको राष्ट्र स्विडेन समूहगत चरणबाटै बाहिरिएको थियो । स्विडेनको टोलीले समूहगत चरणमा तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ।

त्यसपछि सञ्चारकर्मीले युरोकपमा स्विडेनको प्रदर्शनको विषयलाई लिएर इब्राहिमोभिचसँग विभिन्न प्रश्न गरेका थिए । त्यसैमध्ये एउटा प्रश्न थियो, ‘तपाईंको विचारमा यसपटक युरोकपको उपाधि कसले जित्ला ?’ त्यसको जवाफमा इब्राहिमोभिचले सहज जवाफ फर्काएका थिए, ‘जोसुकैले जितोस् मलाई के मतलब । म त हिँडे बिदा मनाउन ।’

  • कस्तो प्रश्न ? म त ११ वटै पोजिसनबाट खेल्न सक्छु

ज्लाटन इब्राहिमोभिच आफ्नो समयका प्रभावशाली स्ट्राइकर थिए । उनी सक्रिय खेल जीवनमा पाँच सयभन्दा बढी गोल गर्ने विश्व फुटबलका निकै कम खेलाडीमध्ये एक हुन् । गोल गर्ने अपभूत क्षमताका धनी यी खेलाडीले आफूलाई समकालीन विश्व फुटबलका दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको हाराहारीमा उभ्याएका थिए ।

एक पटक एक सञ्चारकर्मीले इब्राहिमोभिचसँग रमाइलो प्रश्न सोधेका थिए । ती सञ्चारकर्मीले उनलाई सोधेका थिए, ‘स्ट्राइकरबाहेक मैदानमा तपाईं अरू कुन पोजिसनमा खेल्न रुचाउनु हुन्छ ?’ त्यसको जवाफमा इब्राहिमोभिचले दिएको जवाफ त झनै रोचक छ । 

ती सञ्चारकर्मीलाई उनले भनेका थिए, ‘कस्तो प्रश्न ? म त फुटबल मैदानमा ११ वटै पोजिसनबाट उत्तिकै सशक्त प्रदर्शन गर्न सक्छु । एउटा कुशल फुटबलरले मैदानमा आफूलाई जुनसुकै पोजिसनमा पनि अब्बल साबित गर्न सक्छ ।’

  • श्रीमतीलाई योभन्दा ठुलो उपहार अरू के चाहियो ?

एक पटक एक सञ्चारकर्मीले ज्लाटन इब्राहिमोभिचसँग उनको पारिवारिक जीवनसँग जोडिएको एक प्रश्न सोधेका थिए । सायद त्यति बेला इब्राहिमोभिचको श्रीमतीको जन्म दिन नजिकिँदै थियो । सोही विषयलाई लिएर ती सञ्चारकर्मीले इब्राहिमोभिचसँग सोधेका थिए, ‘एउटा पतिले जन्म दिनमा आफ्नी पत्नीलाई दिने सबैभन्दा सुन्दर उपहार के हुनसक्छ ? तपाईं जन्म दिनमा आफ्नी श्रीमतीलाई के उपहार दिनुहुन्छ ?’

त्यो प्रश्नको जवाफमा पनि इब्राहिमोभिचले निकै रमाइलो जवाफ फर्काएका थिए । उनले भनेका थिए, ‘आफ्नी पत्नीलाई ! केही पनि उपहार दिन्नँ । पत्नीलाई जन्मदिनमा किन उपहार दिनु ? उनले यसअघि नै ज्लाटन इब्राहिमोभिचको रूपमा सबैभन्दा सुन्दर उपहार पाइसकेकी छन् । योभन्दा बढी उनलाई अरू के चाहियो ?’

  • यो प्रश्नको जवाफ चाहिए मेरो घरमा आउनु होला

ज्लाटन इब्राहिमोभिचलाई एक पटक उनको जीवनसँग जोडिएको एउटा नितान्त व्यक्तिगत प्रश्न सोधिएको थियो । खासमा, इब्राहिमोभिचसँग उनको यौन जीवनसँग जोडिएको एक व्यक्तिगत प्रश्न सोधिएको थियो । 

आफूसँग यस्तो प्रश्न सोधिएपछि सधैँ ठट्यौली पारामा प्रस्तुत हुने इब्राहिमोभिच केही आक्रोशित पनि देखिएका थिए । लगत्तै उनले प्रश्नकर्तालाई जवाफ फर्काएका थिए, ‘कृपया तपाईं मेरो घरमा आउनुहोस् यो प्रश्नको जवाफ त्यहीँ पाउनु हुनेछ ।’

  • म घाइते हुँदा विपक्षीहरू पो डराउनु पर्छ

एकताका खेलका क्रममा ज्लाटन इब्राहिमोभिच गम्भीर घाइते भएका थिए । सोही कारणले उनले केही खेल गुमाउने अवस्था सिर्जना भएको थियो । उनले आगामी खेल खेल्न सक्ने वा नसक्ने दोधारको स्थितिबिच उनीसँग प्रश्न गरिएको थियो, ‘कति दिन मैदान बाहिर रहनु पर्ला ?’

त्यसको जवाफमा पनि इब्राहिमोभिचले ठट्यौली पारामै जवाफ फर्काएका थिए । उनले भनेका थिए, ‘म किन मैदान बाहिर रहने ? इब्राहिमोभिच घाइते हुनु भनेको त विपक्षी टोलीहरूका लागि अझ बढी खतराको विषय पो हो त । त्यसैले म घाइते हुँदा उनीहरू (विपक्षीहरू) बढी चिन्तित बन्नु पर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप