सित्तैमा दिइएको सामसुङको स्मार्ट फोन लिन मानेनन् उत्तर कोरियाली खेलाडीले
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा चर्चित ब्रान्ड सामसुङले सबै सहभागी खेलाडीलाई सित्तैमा स्मार्ट फोन उपलब्ध गराएको छ । तर, पेरिस ओलम्पिकमा सहभागी उत्तर कोरियाली खेलाडीले भने सामसुङको स्मार्ट फोन लिन अस्वीकार गरेका छन् ।
‘सामसुङले पेरिस ओलम्पिकमा सहभागी १० हजार पाँच सयभन्दा बढी खेलाडीलाई सित्तैमा आफ्नो स्मार्ट फोन उपलब्ध गराएको थियो । तर, उत्तर कोरियाका खेलाडीले उक्त फोन लिन मानेनन्,’ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले शुक्रबार भनेको छ ।
सामसुङ दक्षिण कोरियाको विश्व चर्चित इलेक्ट्रोनिक्स कम्पनी हो । आईओसीका प्रमुख प्रायोजकमध्ये सामसुङ पनि एक हो । जारी पेरिस ओलम्पिकलाई पनि सामसुङले प्रायोजन गरेको छ । ओलम्पिक सकेर घर फर्किँदा पनि खेलाडीले त्यो स्मार्ट फोन आफूसँगै लैजान पाउँछन् ।
‘खेलाडीले फोन लिन अस्वीकार गरेपछि हामीले उत्तर कोरियाको ओलम्पिक कमिटीसँग पनि सम्पर्क गरेका थियौँ । तर, ओलम्पिक कमिटीका पदाधिकारीहरुले पनि सामसुङको स्मार्ट फोन लिन अस्वीकार गर्नुभयो,’ आईओसीका प्रवक्ताले सञ्चारकर्मीसँग भनेका छन् ।
लामो समयदेखि दक्षिण र उत्तर कोरियाबिच राजनीतिक रुपमा कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ । यसका बावजुद केही समयअघि दक्षिण कोरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्र संघद्वारा उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धको विषयमा चासो ब्यक्त गरेको थियो ।
ब्यालिस्टिक मिसाइल र आणविक कार्यक्रमको विषयलाई लिएर संयुक्त राष्ट्र संघले सन् २००६ देखि उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँदै आएको छ । राष्ट्र संघको प्रतिबन्ध अनुसार, कुनै पनि यान्त्रिक सामाग्रीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उत्तर कोरियामा आपूर्ति वा बिक्री–वितरण गर्न पाइँदैन ।
स्मार्ट फोन पनि प्रतिबन्धित बस्तुको सूचिमा पर्छ । पेरिसमा जारी ओलम्पिक खेलकुदमा उत्तर कोरियाले आफ्ना १४ जना खेलाडी सहभागी गराएको छ । उत्तर कोरियाली खेलाडीले पेरिस ओलम्पिकमा सातवटा खेलमा भाग लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण