चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्दो
भोजपुर । जिल्लामा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो ।
चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको सङ्ख्यामा हुने चौँरीगोठ अहिले आठ-दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताए । पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको उनको भनाइ छ ।
आम्दानीको राम्रो स्रोतका रूपमा रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चौँरीपालनतर्फ आकर्षण घट्दै गएको उनको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताए । चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उनको भनाइ छ ।
“चौँरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ”, किसान राईले भने, “तर चौँरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ । चरन अभाव हुँदा व्यवसाय नै सङ्कटमा पर्ने अवस्था छ ।” यो व्यवसायबाट वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी हुने उनको भनाइ छ । “व्यावसायिक चौँरीपालनमा धेरै चुनौती छन्”, राईले भने, “लेकाली भेगमा पालन गर्नुपर्ने व्यवसाय भएकाले दुःखकष्ट धेरै सामना गर्नुपर्छ । आम्दानी राम्रो हुने भए पनि पछिल्लो समय धेरैले यो व्यवसाय छाडेको अवस्था छ ।”
चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताए । नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ । छुर्पी प्रतिकेजी रु आठदेखि एक हजारसम्म बिक्री हुने गरेको छ । यहाँको मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ । चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झर्ने गरेका छन् ।
चरन अभावमा बाउबाजेको पालाबाट गरी आएको चौँरीपालन व्यवसाय सङ्टकमा पर्दै गएको किसान विमल राईले बताए । चरनका लागि एक दिनमा चौँरीले सरदरमा १२ देखि १५ किलोमिटर घुम्ने उनको भनाइ छ । सीमित ठाउँमा चराउँदा घाँस अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चौँरी नफस्टाउने उनले बताए । चरन क्षेत्र अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपर्दा धेरैले व्यवसाय छाड्दै गएको राई बताउछन् ।
पछिल्लो समय चौँरीका लागि चाहिने पोषिलो घाँस मासिँदै गएको अवस्था छ । यसले पनि व्यवसायमा असर पुगेको छ । चौँरीको चरन क्षेत्रको व्यवस्थापनमा पहल हुनुपर्ने यहाँका किसानको माग छ । चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाछाबाछी चौँरी हुन् । चौँरी गाई तथा याकलाई रिसाहा जनावरका रूपमा पनि लिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण