आर्मेनियाली क्लबविरुद्ध घरेलु मैदानमा चेल्सीको गोल वर्षा
काठमाडौँ । युरोपा कन्फरेन्स लिग फुटबलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले विपक्षी टोलीविरुद्ध गोलको वर्षा गरेको छ । चेल्सीले बिहीबार राति सम्पन्न एकपक्षीय खेलमा आर्मेनियाली क्लब एफसी नोआहलाई ८–० गोलको फराकिलो अन्तरले हराएको हो ।
यो प्रतियोगिताको लिग चरणमा चेल्सी र एफसी नोआहले आफ्नो तेस्रो खेल खेलेका हुन् । घरेलु मैदानमा खेलको प्रारम्भदेखि नै चेल्सीले भ्रमणकारी टोलीलाई दबाबमा राखेको थियो । नितान्त फरक शैलीले मैदानमा ओर्लिएको चेल्सीले पहिलो हाफमै ६ गोल गरेको थियो ।
चेल्सीका लागि जोआओ फेलिक्स र क्रिस्टोफर एनकुन्कुले दुई–दुई गोलको योगदान गरे । खेल सुरु भएको १२औँ मिनेटमै चेल्सीका लागि टोसिन अडाराबियोले पहिलो गोल गरेका थिए । त्यसको एक मिनेटपछि नै मार्क गुइउले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
यसैगरी, निर्धारित समयको १८औँ मिनेटमा एक्सेल डिसासीले टोलीका लागि तेस्रो गोल गरेका थिए । २१औँ मिनेटमा फेलिक्सले टोलीलाई ४–० गोलले अगाडि बढाएका थिए । ३९औँ मिनेटमा मिखाइलो मुड्रिकले चेल्सीका लागि पाँचौँ गोल थपेका थिए ।
यसैगरी, निर्धारित समयको ४१औ मिनेटमा फेलिक्सले टोलीका लागि छैटौँ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पनि चेल्सीले दुई गोल थपेको थियो । चेल्सीका लागि पछिल्ला दुबै गोल क्रिस्टोफर एनकुन्कुले गरेका थिए ।
निर्धारित समयको ६९औँ मिनेटमा उनले टोलीका लागि सातौँ गोल गरेका थिए । उनले ७६औँ मिनेटमा ब्यक्तिगत रुपमा दोस्रो गोल थपेका थिए । फ्रान्सेली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका आक्रामक मिडफिल्डर एनकुन्कुले आठौँ गोल भने पेनाल्टीमार्फत गरेका हुन् ।
युरोपा कन्फरेन्स लिगमा सहभागी ३६ वटै टोलीले तीन–तीन खेल खेलिसक्दा चेल्सी नौ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । समान अंक बटुलेको पोल्यान्डको कल्ब लिगा वार्सा पनि नौ अंकसहित दोस्रो स्थानमा छ । एफसी नोआह तीन अंकसहित तालिकाको २८औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण