शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
पहिलो टेस्ट क्रिकेट

इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डको औसत प्रदर्शन, शतकबाट चुके केन विलियम्सन

बिहीबार, १३ मङ्सिर २०८१, ११ : ३९
बिहीबार, १३ मङ्सिर २०८१

काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डले औसत प्रदर्शन गरेको छ । पहिलो टेस्टको पहिलो दिन बिहीबार घरेलु टोली न्युजिल्यान्डले आठ विकेट गुमाएर तीन सय १९ रन बनाएको छ ।

क्राइस्टचर्चमा न्युजिल्यान्डले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान केन विलियम्सनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनी केवल सात रनका कारण शतक पुरा गर्नबाट चुके ।

विलियम्सनले एक सय ९७ बलको सामना गरी १० चौकाको मद्दतले ९३ रन बनाएका हुन् । ३४ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३६औँ अर्धशतक हो । न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान टम लाथमले पनि ४७ रन बनाए ।

टोलीका कप्तानसमेत रहेका लाथमले ५४ बलको सामना गरी ६ चौका पनि हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका युवा ब्याट्सम्यान रचिन रविन्द्रले पनि टोलीको खातामा ३४ रन थपे । उनले ४९ बलमा तीन चौका हिर्काए ।

न्युजिल्यान्डका लागि ड्यारल मिचेलले १९ र विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डलले १७ रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान म्याट हेनरीले पनि १८ रन बटुले । पहिलो दिनको खेल समाप्त हुँदा ग्लेन फिलिप्स अविजित ४१०० रन बनाउँदै क्रिजमा छन् ।

सातौँ नम्बरमा क्रिज समाल्न आएका ग्लेन फिलिप्सले ५८ बलको सामना गरी एक छक्का र चार चौका हिर्काएका छन् । न्युजिल्यान्डको पालीमा हालसम्म छक्का प्रहार गर्ने उनी एकमात्र ब्याट्सम्यान पनि हुन् । टिम साउथी पनि अविजित १० रन बनाउँदै क्रिजमा छन् ।

न्युजिल्यान्डले अतिरिक्त रुपमा पनि ३५ रन पाएको छ । भ्रमणकारी टोली इङ्ल्यान्डका बलर सोएब बसिरले चार विकेट लिए । उनले २० ओभरमा एक मेडन राख्दै ६९ रन खर्चिए । गस एटकिन्सन र ब्रायडन कार्सले पनि दुई–दुई विकेट हात पारे । न्युजिल्यान्ड र इङ्ल्यान्डबिच तीन टेस्टको शृंखला खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप