पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

पाल्पा । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यहाँ ३४ हजार सात सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन दशमलव छ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए । गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उनले बताए ।
“केही स्थानमा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो”, प्रमुख चौधरीले भने । उनका अनुसार यस वर्ष जिल्लामा आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गतवर्ष आठ हजार दुई सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो ।
गाउँगाउँमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको प्रमुख चौधरीले जानकारी दिए । सिँचाइको अभावले बाँझो रहेका जग्गामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् ।
धानखेतीका लागि मौसम अनुकूल हुँदा उत्पादन वृद्धि भएको किसान सीता देवकोटाले बताइन् । “रोपाइँ गरेदेखि वर्षा भइरहेकाले सिँचाइ गर्न सजिलो भयो, वर्षदिनभरि खाने अनाज राम्रो उत्पादन हुँदा खुसी लागेको छ । भकारीभरि धान भएपछि मन ढुक्क छ, कतै बीउको समस्याले पसाउने बेला रोगकीरा देखिए पनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान भित्र्याउनु भएको छ”, उनले भनिन् ।
जिल्लामा साबित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बीउ उपलब्ध गराउन थालेपछि विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रूपमा बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा. खगेन्द्र सुवेदी सचिवमा बढुवा
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज