दक्षिण कोरियाका रक्षामन्त्रीको राजीनामा स्वीकृत
![दक्षिण कोरियाका रक्षामन्त्रीको राजीनामा स्वीकृत](https://npcdn.ratopati.com/media/news/korea_1z8cmUKzEf.webp)
सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले आफ्ना रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकार गरेका छन् । बिहीबार उनले किमको राजीनामा स्वीकृत गरेका हुन् । युनलाई मार्शल ल लागू गर्न सुझाव किमले नै दिएको बताइएको छ । किमले यो घटनाको सम्पूर्ण जिम्मा आफूले लिएको भन्दै युनसमक्ष आफ्ना राजीनामा दिएका थिए ।
किम सेवानिवृत्त सेना जनरल हुन् । युनसँग उनी एउटै विद्यालयमा पढेका थिए । उनलाई युनको विश्वास पात्रको रुपमा हेरिएको थियो । सेप्टेम्बरमा सुनुवाइको क्रममा किमले देशभित्र असहमतिलाई दबाउन मार्शल ल लागू हुन सक्छ भन्ने विपक्षीको आरोपलाई अस्वीकार गर्दै यसलाई झुटो प्रचार भनेका थिए ।
रक्षा मन्त्रीको हैसियतमा किमले उत्तर कोरिया विरुद्ध कडा अडान लिएका थिए भने अमेरिकासँग दक्षिण कोरियाको दीर्घकालीन गठबन्धनलाई बलियो बनाउने प्रयास गरेका थिए । विपक्षी डेमोक्रेटिक पार्टीले देशद्रोहको आरोपमा किममाथि महाभियोग लगाउन माग गरेको छ ।