आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओली सरकारविरुद्ध माओवादीको रणनीतिदेखि सट्टेबाजीमा भारतीय गिरोहसम्म

बिहीबार, २० मङ्सिर २०८१, २२ : ००
बिहीबार, २० मङ्सिर २०८१

आज मिति २०८१ साल मंसिर महिनाको २० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली गत सोमबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए ।

प्रधामन्त्री केपी शर्मा ओलीले  चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको  प्रस्ट पारेका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर नगरेको बताएका हुन् ।

२. १४ बुँदे प्रेस नोट

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी गरेका छन् । बिहीबार चीन भ्रमणबाट फर्किएपछि उनले १४ बुँदे प्रेस नोट जारी गरेका हुन् ।

३. अघि बढ्यो विद्यालय शिक्षा विधेयक

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’ माथि दफावार छलफल अघि बढाएको छ । बुधबारदेखि समितिमा दफावार छलफल सुरु भएको हो ।

समितिले मंसिर महिनाभरको बैठक र विधेयकमाथिको छलफल तालिका बनाएको छ । लामो समयदेखि समितिमा छलफलको क्रममा रहेको विधेयकमा दसैँ–तिहार बिदा अगाडि संशोधनकर्तासँग छलफल गरिएको थियो ।

५. गोपनीयताको हकमाथि हमला

कुनै अभियोग लागेर प्रहरीद्वारा पक्राउ परेका व्यक्तिको नाम दोषी ठहर हुनुअघि, अझ अनुसन्धान हुनुअघि नै सार्वजनिक गरिनु हामीकहाँ सामान्य हो ।

हाम्रो संविधानले मौलिक हकमा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरेको छ । यस्तै ‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐनको दफा १७ मा अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुने उल्लेख छ ।

६. माओवादीको तयारी

भर्खर सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको नतिजाबाट निकै उत्साहित भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट जनपरिचालनका विस्तृत कार्यक्रम ल्याउने भएको छ । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले चुनावी नतिजाबारे रिपोर्टिङसहित प्रारम्भिक समीक्षा गरेको हो । निर्वाचनको नतिजा उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

माओवादीले ओली सरकारविरुद्ध सातै प्रदेशमा खबरदारी गर्ने समेत बताएको छ ।

७. सट्टेबाजीमा भारतीय

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । मङ्सिर १७ पछि पक्राउ परेका उनीहरू सबै भारतीय हुन् ।

पक्राउ पर्नेमा सुमन घोस, अमित यादव, ब्रजेशकुमार कुसवाह, सुमन्त कुमार, सन्दीपकुमार सिंह, प्रियन्सुकुमार सिंह र रोहित शर्मा छन् । उनीहरुले एनपिएल प्रतियोगिता भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

८. बढ्दो फिल्मको व्यापार

पछिल्लो समय फिल्मको व्यवसाय बढेसँगै फिल्म हलको सङ्ख्या पनि बढेको पाइएको छ । चलचित्र विकास बोर्डका अनुसार हाल देशभर १५८ फिल्म हल सञ्चालनमा छन् ।

नेपाल चलचित्र संघले गत जेठमा देशभर १३८ फिल्म हल सञ्चालनमा रहेको जनाएको थियो । विकास बोर्डका अनुसार गत जेठदेखि मंसिरसम्म आउँदा २० वटा फिल्म हल बढेको देखिएको छ । जेठ यता हलको सङ्ख्यामा १४ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । तीमध्ये केही नयाँ खुलेका हुन् भने केही बन्द रहेका पुराना फिल्म फेरि सञ्चालनमा आएका हुन् ।

९. सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १५.९३ अङ्कले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ ।

१० एनपीएल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। सुदूरपश्चिम रोयल्सले बिहीबार खेलिएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गरेको हो ।

यसैगरी जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले बिहीबार खेलिएको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि सात विकेटको सजिलो जित हासिल गरेको हो ।

यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप