सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । सुदूरपश्चिम रोयल्सले बिहीबार खेलिएको दोस्रो खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गरेको हो ।
टस हारी ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको हो । जवाफी ब्याटिङमा ओर्लिएको काठमाडौँ गुर्खाजले भने १५.५ ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र बनाउन सक्यो ।
जारी एनपीएलमा काठमाडौँ गुर्खाजले आफ्नो तेस्रो र सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो खेल खेलेका हुन् । काठमाडौँ गुर्खाज यसअघि खेलिएको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । सुदूरपश्चिम रोयल्स भने आफ्नो पहिलो खेलमा पनि विजयी भएको थियो ।
आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाज चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई तीन विकेटले हराएको थियो । सुदूरपश्चिम रोयल्सले भने आफ्नो पहिलो खेलमा विराटनगर किङ्समाथि ९० रनको जित हात पारेको थियो ।
सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौँ गुर्खाजका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीका दुबै ओपनर सस्तैमा पेभेलियन फर्किएका थिए । ओपनर माइकल लेभिट पाँच र शंकर राना तीन रनमा आउट भए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान स्टिफन एस्किनाजीले ३७ रन बनाए । यसक्रममा उनले ३३ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान भीम सार्की १० र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका जेरहार्ड एरास्मस १० रनमै पेभेलियन फर्किए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका सुमित महर्जन पनि १४ रनभन्दा अगाडि बढ्न सकेनन् । रासिद खान पनि दुई रनमै आउट भए । प्रतिक श्रेष्ठ आठ र कप्तान करण केसी एक रनमा आउट भए । साहब आलम पनि एक रन बनाउँदै पेभेलियन फर्किए ।
सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद एक्लैले पाँच विकेट लिए । उनले ३.५ ओभरमा केवल १९ रन खर्चिए । अविनाष बोहराले पनि दुई विकेट हात पारे । उनले तीन ओभरमा एक मेडन राख्दै १२ रन खर्चिए । ब्रान्डन म्याकमलेन र सेफ अली जेबले पनि एक–एक विकेट लिए ।
त्यसअघि, सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन म्याकमलेनले अर्धशतक बनाएका थिए । उनले टोलीका लागि ५३ रनको योगदान गरेका थिए । यसक्रममा उनले केवल ३६ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए । जारी एनपीएलमा बनेको यो आठौँ अर्धशतक हो ।
यसअघि विराटनगर बोल्ट्सका ओपनर ब्याट्सम्यान लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवी बोपरा, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
काठमाडौँ गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले पनि ३५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले २८ बलमा दुई छक्का र दुई चौका पनि प्रहार गरे । सुदूरपश्चिम रोयल्सले १७ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो ।
ओपनर ब्याट्सम्यान सेफ अली जेब नौ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि म्याकमलेन र विनोद भण्डारीले गतिलो साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय तीन रनको स्थितिसम्म पुर्याएका थिए ।
टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ४३ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका दीपेन्द्रले केवल २५ रनको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनी केवल सात रनका कारण जारी एनपीएलमा व्यक्तिगत रूपमा दोस्रो अर्धशतक पुरा गर्नबाट चुके ।
सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा पनि १० रन पायो । काठमाडौँ गुर्खाजका बलर रासिद खानले दुई विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । कप्तान करण केसी, साहब आलम र जेरहार्ड एरास्मसले पनि एक–एक विकेट हात पारे ।
तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको सुदूरपश्चिम रोयल्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो स्थानमा छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित चौथो स्थानमा छ ।
यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । एक खेल खेलेको लुम्बिनी यालन्स, दुई खेल खेलेको पोखरा एभेन्जर्स र दुई खेल खेलेको कर्णाली याक्सले भने अंक बटुल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार