आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

तथ्याङ्कमा नेपाल प्रिमियर लिग

सर्वाधिक रन बनाउने रोहित पौडेलदेखि सर्वाधिक छक्का प्रहार गर्ने विवेक यादवसम्म
सोमबार, २४ मङ्सिर २०८१, १९ : ००
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) करिब–करिब मध्यान्तरतिर पुगेको छ । प्रतियोगिताका क्रममा कुल ३२ खेल खेलिने छ । आइतबारसम्म १५ वटा खेल सकिएको छ । 

सोमबार कुनै पनि खेल राखिएको छैन । मंगलबार भने प्रतियोगिताको दुई खेल खेलिने छ । मंगलबार हुने १६औँ (पहिलो) खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सको सामना गर्नेछ । उक्त खेल बिहान ९ः१५ बजे सुरु हुनेछ ।

यसैगरी, मंगलबारको १७औँ (दोस्रो) खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबिच खेलिने छ । उक्त खेल दिउँसो १३ः१५ बजे सुरु हुनेछ । १५ खेल सकिँदासम्म सहभागी आठ क्लबमध्ये जनकपुर बोल्ट्सले मात्र आफूले खेलेको सबै खेल जितेको छ । 

जनकपुर बोल्ट्स चार खेलबाट आठ अंक जोड्दै तालिकाको पहिलो स्थानमा आसीन छ । चार खेल खेलेको सुदूरपश्चिम रोयल्स ६ अङ्कसहित दोस्रो, चार खेल खेलेको चितवन राइनोज ६ अङ्कसहित तेस्रो र चार खेल खेलेको कर्णाली याक्स चार अङ्कसहित चौथो स्थानमा छन् । 

यसैगरी, तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अङ्कसहित तालिकाको पाँचौँ, तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ, चार खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित सातौँ र चार खेल खेलेको लुम्बिनी लायन्स शून्य अङ्कसहित आठौँ स्थानमा आसीन छन् । 

कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले हालसम्म एक खेल पनि जित्न सकेको छैन । प्रतियोगिता मध्यान्तरबाट अगाडितर्फ लम्कने प्रयास गर्दै गर्दा प्ले–अफ चरणको समीकरण पनि रोचक बन्दै गएको छ । 

  • सर्वाधिक रन बनाउनेमा रोहित पौडेल अगाडि

लुम्बिनी लायन्सले एक खेल जित्न नसके पनि टोलीका कप्तान रोहितकुमार पौडेल भने जारी एनपीएलमा हालसम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा आसीन छन् । उनले हालसम्म चार खेल खेलेर एक सय ८१ रन बनाइसकेका छन् । 

rohit poudel

जारी एनपीएलमा उनले बनाएको उच्च स्कोर भने ९५ रन हो । उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा उक्त रन बनाएका हुन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा जनकपुर बोल्ट्सका लाहिरु मिलनथा दोस्रो स्थानमा छन् ।

मिलनथाले चार पालीमा एक सय ६८ रन रन बनाएका छन् । जारी प्रतियोगितामा उनले बनाएको उच्च स्कोर भने अविजित ७५ रन हो । उनले चर्चित लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सविरुद्धको खेलमा उक्त रन बनाएका हुन् । 

यसैगरी, सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा चितवन राइनोजका रवि बोपारा तेस्रो स्थानमा आसीन छन् । बोपाराले चार पालीमा कुल एक सय ५७ रन बनाएका छन् । एउटै खेलमा उनले बनाएको उच्च स्कोर भने अविजित ५९ रन हो । 

यो सूचीमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा छन् । उनले चार पालीमा कुल एक सय ४० रन बनाएका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर भने अविजित ५७ रन हो । उनले विराटनगर किङ्सविरुद्ध उक्त रन बनाएका हुन् ।

dhawan

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा कर्णाली याक्सका शिखर धवन पाँचौँ स्थानमा छन् । धवनले चार पालीमा कुल एक सय ३६ रन बनाएका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर अविजित ७२ रन हो । उनले अब जारी एनपीएलको बाँकी खेल खेल्ने छैनन् । भारतीय खेलाडी धवन आइतबार नै स्वदेश फर्किसकेका छन् ।

  • सर्वाधिक विकेट सोहेल तनवीरको नाममा 

नेपाल प्रिमियर लिगमा हालसम्म सर्वाधिक विकेट लिने बलरको सूचीमा चितवन राइनोजका सोहेल तनवीर पहिलो स्थानमा छन् । उनले हालसम्म चार खेलमा कुल नौ विकेट लिइसकेका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन भने २१ रन खर्चिएर पाँच विकेट हो ।

IMG-20241202-WA0082

सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा जनकपुर बोल्ट्सका ललित राजवंशी छन् । उनले चार खेलमा कुल आठ विकेट लिएका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन २८ रन खर्चिएर तीन विकेट हो । 

यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचीमा जनकपुर बोल्ट्सकै हर्ष थाकेर तेस्रो स्थानमा आसीन छन् । थाकेरले हालसम्म चार खेल खेल्दै कुल आठ विकेट हात पारेका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन २३ रन खर्चिएर पाँच विकेट हो ।

एउटै खेलमा सर्वाधिक विकेट लिने बलरको सूचीमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलियन चौथो स्थानमा रहेका छन् । उनले हालसम्म चार खेल खेल्दै कुल सात विकेट हात पारेका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन ३० रन खर्चिएर तीन विकेट हो ।

यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचीमा कर्णाली याक्सका विपिन शर्मा, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुलेन, सुदूरपश्चिम रोयल्सकै सेफ अली जेब, सुदूरपश्चिम रोयल्सकै अविनाष बोहरा र चितवन राइनोजका रिजन ढकाल संयुक्त रूपमा पाँचौँ स्थानमा छन् । उनीहरूले हालसम्म ६–६ विकेट लिएका छन् ।

  • दीपेन्द्र ऐरीको नाममा उत्कृष्ट स्ट्राइक रेट 

नेपाल प्रिमियर लिगमा १५ खेल सकिँदासम्म उत्कृष्ट स्ट्राइक रेट भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा रहेको छ । उनको हालको स्ट्राइक रेट दुई सय रहेको छ । यो सूचीमा दोस्रो स्थानमा जनकपुर बोल्ट्सका जेम्स निसाम छन् । उनको स्ट्राइक रेट एक सय ९० रहेको छ ।

dipendra singh

यसैगरी, यो सूचीमा तेस्रो नम्बरमा पोखरा एभेन्जर्सका आन्द्रेस गौस तेस्रो स्थानमा छन् । उनको स्ट्राइक रेट एक सय ७४.६४ रहेको छ । चौथो स्थानमा रहेका लुम्बिनी लायन्सका विवेक यादबको स्ट्राइक रेट एक सय ५३.१२ र पाँचौँ स्थानमा आसीन सुदूरपश्चिम रोयल्सका स्कट कुगेलियनको स्ट्राइक रेट एक सय ५१.७२ रहेको छ । 

  • एकमात्र शतक बनाउने आन्द्रेस गौस

जारी नेपाल प्रिमियर लिगमा हालसम्म एक ब्याट्सम्यानले मात्र शतक बनाउन सकेका छन् । शतक बनाउने खेलाडी पोखरा एभेन्जर्सका आन्द्रेस गौस हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा शतक बनाएका थिए । 

gous

त्यो खेलमा आन्द्रेस गौसले अविजित एक सय चार रन बनाउँदै आफ्नो टोलीलाई रोमाञ्चक जित दिलाएका थिए । त्यसअघि सोही खेलमा उनले केवल २० बलमा अर्धशतक पुरा गरेका थिए । जारी एनपीएलमा त्यो सबैभन्दा कम बलमा बनेको अर्धशतक पनि थियो ।

३१ वर्षीय अमेरिकी खेलाडी आन्द्रेस गौसले एक सय चार रन बनाउने क्रममा केवल ५५ बलको सामना गरी पाँच छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । त्यो खेलमा पोखरा एभेन्जर्स १० विकेटले विजयी भएको थियो ।

  • १६ मध्ये दुई अर्धशतक रवि बोपाराको नाममा 

नेपाल प्रिमियर लिगमा हालसम्म १६ वटा अर्धशतक बनेका छन् । विभिन्न टोलीका १५ जना खेलाडीले १६ वटा अर्धशतक बनाएका हुन् । हालसम्म एक ब्याट्सम्यानले मात्र दुईवटा अर्धशतक बनाउन सकेका छन् । उनी हुन्, चितवन राइनोजका रवि बोपारा ।

ravi bopara

इङ्ल्यान्डका प्रभावशाली खेलाडी रवि बोपाराले पोखरा एभेन्जर्सविरुद्धको खेलमा पहिलो अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाएका थिए ।

३९ वर्षीय रवि बोपाराले आफ्नो दोस्रो अर्धशतक भने कर्णाली याक्सविरुद्धको खेलमा बनाएका थिए । त्यो खेलमा उनले टोलीका लागि अविजित ५९ रनको योगदान गरेका थिए । यसक्रममा उनले ४० बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए ।

अर्धशतक बनाउने अन्य ब्याट्सम्यानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल (९५ रन), सुदूरपश्चिम रोयल्सका सेफ अलि जेब (९० रन), लुम्बिनी लायन्सका विवेक यादव (अविजित ७७ रन), जनकपुर बोल्ट्सका लाहिरु मिलनथा (अविजित ७५ रन) र कर्णाली याक्सका शिखर धवन (अविजित ७२ रन) रहेका छन् ।

यसैगरी, विराटनगर किङ्सका लोकेश बम (७१ रन), कर्णाली याक्सका विलियम बोसिस्टो (६६ रन), चितवन राइनोजका हसन ईशाखिल (६५ रन), जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह (अविजित ६२ रन), पोखरा एभेन्जर्सका दिनेश खरेल (अविजित ६१ रन) र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी (अविजित ५७ रन) ले पनि अर्धशतक बनाएका छन् ।

यसैगरी, अर्धशतक बनाउने अन्य ब्याट्सम्यानहरूको सूचीमा विराटनगर किङ्सका मार्टिन गप्टिल (५५ रन), सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन (५३ रन) र कर्णाली याक्सका देब खनाल (५३ रन) पनि रहेका छन् । 

जारी एनपीएलमा पहिलो अर्धशतक बनाउने खेलाडी भने विराटनगर किङ्सका मार्टिन गप्टिल हुन् । उनले प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका थिए । सोही खेलमा जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सका लागि लाहिरु मिलनथाले पनि अर्धशतक बनाएका थिए ।

IMG-20241204-WA0189

  • सर्वाधिक छक्का प्रहार गर्ने विवेक यादव

नेपाल प्रिमियर लिगमा हालसम्म सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी लुम्बिनी लायन्सका विवेक यादव हुन् । यद्यपि जारी एनपीएलमा उनको टोलीले एक खेल पनि जित्न सकेको छैन । उनले हालसम्म चार खेल खेल्दै १० वटा छक्का प्रहार गरेका छन् । 

सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । उनले चार खेलमा नौवटा छक्का प्रहार गरेका छन् । यो सूचीमा तेस्रो स्थानमा आसीन विराटनगर किङ्सका लोकेश बमले आठवटा छक्का हिर्काएका छन् ।

यसैगरी, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, लुम्बिनी लायन्सका टम मुरेस र जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले हालसम्म सात–सातवटा छक्का प्रहार गरेका छन् । पोखरा एभेन्जर्सका आन्द्रेस गौस, जनकपुर बोल्ट्सका जेम्स निसाम, चितवन राइनोजका रवि बोपारा, कर्णाली याक्सका शिखर धवन, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र सुदूरपश्चिम रोयल्सका सेफ अलि जेबले ६–६ वटा छक्का हिर्काएका छन् ।

एउटै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि विवेक यादव नै हुन् । उनले सुदूरपश्चिमविरुद्धको खेलमा सातवटा छक्का प्रहार गरेका थिए । विराटनगर किङ्सका लोकेश बमले लुम्बिनी लायन्सविरुद्धको खेलमा ६ वटा छक्का हिर्काएका थिए ।

  • सबैभन्दा बढी क्याच लिने नरेश बुढाऐर

नेपाल प्रिमियर लिगमा हालसम्म सबैभन्दा बढी क्याच लिने खेलाडी सुदूरपश्चिम रोयल्सका नरेश बुढाऐर हुन् । उनले हालसम्म चार खेल खेल्दै सातवटा क्याच लिएका छन् । उनले एउटै खेलमा तीनवटा क्याच लिएका थिए ।

सर्वाधिक क्याच लिने फिल्डरको सूचीमा सुदूरपश्चिम रोयल्सकै इशान पाण्डे दोस्रो स्थानमा छन् । उनले चार खेलमा चारवटा क्याच लिएका छन् । उनले एउटै खेलमा दुईवटा क्याच लिएका थिए । जनकपुर बोल्ट्सका कप्तान अनिल साहले पनि चार खेलमा चारवटा क्याच लिएका छन् । उनले पनि एउटै खेलमा दुई क्याच लिएका थिए ।

यसैगरी, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल, जनकपुर बोल्ट्सका जेम्स निसाम, चितवन राइनोजका दीपक बोहरा, कर्णाली याक्सका देब खनाल, विराटनगर किङ्सका प्रतिस जिसी र लुम्बिनी लायन्सका साद बिन जाफरले तीन–तीनवटा क्याच लिएका छन् । 

  • आन्द्रेस गौस र दिनेश खरेलको सबैभन्दा ठुलो साझेदारी

जारी एनपीएलमा हालसम्म खेलिएको खेलमा कुनै पनि विकेटका लागि भएको सबैभन्दा ठुलो साझेदारी अविजित एक सय ७६ रन हो । लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका लागि आन्द्रेस गौस र दिनेश खरेलले ओपनिङ विकेटका लागि उक्त साझेदारी गरेका थिए ।

IMG-20241206-WA0272

यसैगरी, दोस्रो ठुलो साझेदारी जनकपुर बोल्ट्सका हर्ष थाकेर र लाहिरु मिलनथाको नाममा रहेको छ । उक्त जोडीले विराटनगर किङ्सविरुद्धको खेलमा तेस्रो विकेटका लागि अविजित एक सय १६ रनको साझेदारी गरेको थियो ।

यसैगरी, तेस्रो ठुलो साझेदारी भने लुम्बिनी लायन्सका ब्याट्सम्यान टम मुरेस र कप्तान रोहितकुमार पौडेलको नाममा रहेको छ । उक्त जोडीले पोखरा एभेन्जर्सविरुद्धको खेलमा चौथो विकेटका लागि एक सय १० रनको साझेदारी गरेको थियो ।

यसैगरी, चौथो ठुलो साझेदारी कर्णाली याक्सका ब्याट्सम्यान देब खनाल र विलियम बोसिस्टोको नाममा रहेको छ । उक्त जोडीले विराटनगर किङ्सविरुद्धको खेलमा तेस्रो विकेटका लागि एक सय दुई रनको साझेदारी गरेको थियो । अन्य ब्याट्सम्यानले भने एक सय रनको साझेदारी गर्न सकेका छैनन् ।

  • सबैभन्दा ठुलो स्कोर विराटनगर किङ्सको नाममा

नेपाल प्रिमियर लिगमा हालसम्म सबैभन्दा ठुलो स्कोर बनाउने टोली विराटनगर किङ्स हो । विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्धको खेलमा १९.५ ओभरमा आठ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो ।

दोस्रो ठुलो स्कोर बनाउने टोली लुम्बिनी लायन्स हो । लुम्बिनी लायन्सले विराटनर किङ्सविरुद्धको सोही खेलमा पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । त्यो खेलमा विराटनगर किङ्स दुई विकेटले विजयी भएको थियो ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप