२०२४ लाई फर्केर हेर्दा, देशभरि के के भयो ? (तस्बिरहरू)

काठमाडौँ । आजदेखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् २०२५ सुरु भएको छ । २०२४ अरू वर्षहरू झैँ सामान्य रूपमा बितेको वर्ष पक्कै हैन । सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रूपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।
नेपाल फोटो लाइब्रेरीद्वारा खिचिएका केहि तस्बिरहरू २०२४ नेपालीजनले सम्झिनुपर्ने, बिर्सिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा चर्चा गरौँ । यो वर्ष देशभरि ठुला घटनाहरूको सामना गर्नुपर्यो । बाढी पहिरोले धेरै स्थानहरू तहसनहस बने , काठमाडौँ उपत्यका साथै देशभरि नै ठुलो जनधनको क्षति भयो ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस अहिलेसम्म भेटिएको छैन । श्रावण ९ गते त्रिभुवन विमानस्थल नजिकै सौर्य एयर विमान दुर्घटना १८ जनाको मृत्यु भयो ।
श्रावण २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौँबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो र असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।
यस वर्ष देशलाई विश्व सामु चिनाउन धेरै कुराहरू भए । पेरिस पाराओलम्पिक २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेसा गोवर्द्धन ले दिलाएकी छन् । कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरेका छन् ।
नेपाली महिलातर्फ सानो उमेरमा पहिलोपटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए ।
कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विना अक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए । उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विना अक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४ औं हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्।