कप्तानसँगै प्रभावशाली खेलाडीहरुको अनुपस्थितिले अस्ट्रेलियन टोली दवावमा
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहँदा अस्ट्रेलियन टोली एकपछि अर्को खेलाडी घाइते हुने समस्याबाट जुधिरहेको छ । च्याम्पियन्स ट्रफीअघि विश्वकप विजेता अस्ट्रेलियाका तीन खेलाडी घाइते भइसकेका छन् भने एक खेलाडीले सन्न्यास लिएका छन् ।
ठुलो प्रतियोगिताअघि आफ्ना प्रभावशाली खेलाडीहरु घाइते हुनेक्रम बढेपछि क्रिकेट अस्ट्रेलियन पनि चिन्तामा देखिएको छ । त्यसमाथि च्याम्पियन्स ट्रफीका लागि टोलीमा स्थान पाएका प्रभावशाली अलराउन्डर मार्कस स्टोइनिसको अप्रत्यासित सन्न्यासले त अस्ट्रेलियालाई झनै समस्यामा पारेको छ ।
३५ वर्षीय स्टोइनिसले आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा ठिकअघि एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । च्याम्पियन्स ट्रफीका लागि घोषित अस्ट्रेलियन टोलीमा पनि उनलाई समावेश गरिएको थियो ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । स्टाइनिसका अतिरिक्त कप्तान प्याट कमिन्स पनि च्याम्पियन्स ट्रफीबाट बाहिरिइसकेका छन् ।
कमिन्स अस्ट्रेलियाका सफत कप्तानमध्ये एक हुन् । उनको कप्तानीमा अस्ट्रेलियन टोलीले दुईवटा आईसीसी ट्रफी जितिसकेको छ । केही समयअघि खेलिएको भारतविरुद्धको बोर्डर–गावस्कर टेस्ट शृंखलाका क्रममा कमिन्सको कुर्कुच्चामा समस्या देखिएको थियो ।
यसैगरी, अर्का प्रभावशाली खेलाडी जस हेजलउड पनि घाइते भएका कारण च्याम्पियन्स ट्रफीमा सहभागी हुने छैनन् । उनी अस्ट्रेलियन टोलीका अनुभवी बलर हुन् । अस्ट्रेलियालाई सन् २०२३ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउन पनि उनको भूमिका महत्वपूर्ण रहेको थियो ।
उक्त विश्वकपमा उनले १६ विकेट लिएका थिए । हेजलउडको पिँडौलामा समस्या देखिएको छ । उनी भारतविरुद्धको बोर्डर–गावस्कर ट्रफीमा भने सहभागी थिए । उक्त शृंखलाका क्रममा उनले भारतविरुद्ध ब्रिसबेन टेस्ट खेलेका थिए ।
यसैगरी, टोलीका अर्का प्रभावशाली खेलाडी मिचेल मार्श पनि च्याम्पियन्स ट्रफीमा सहभागी हुने छैनन् । टोलीका स्टार अलराउन्डर मार्श यसअघि नै टोलीबाट बाहिरिएका हुन् । उनी पछिल्लो केही समययता कम्मरको चोटबाट पिडीत छन् ।
सोही कारणले उनको प्रदर्शनमा पनि असर परिरहेको छ । यसरी आफ्ना स्टार खेलाडीहरु एकपछि अर्को गर्दै घाइते भएपछि आगामी च्याम्पियन्स ट्रफीमा क्रिकेट अस्ट्रेलिया चिन्तामा पर्नु स्वभाविक देखिन्छ । विश्वकप विजेता अस्ट्रेलियालाई यसपटक च्याम्पियन्स ट्रफीको विजेताका रुपमा पनि हेरिँदै आएको छ ।
च्याम्पियन्स ट्रफीको इतिहासमा अस्ट्रेलिया सफल टोलीमध्ये एक हो । अस्ट्रेलियाले हालसम्म दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि चुमिसकेको छ । अस्ट्रेलियाले सन् २००६ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा वेस्ट इन्डिजलाई हराउँदै उपाधि चुमेको थियो ।
यसैगरी, अस्ट्रेलियन टोलीले सन् २००९ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको थियो । अस्ट्रेलिया लगातार दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण