शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स ट्रफी क्रिकेट

अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट

आइतबार, ११ फागुन २०८१, १३ : ३६
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा शनिबार अस्ट्रेलिया र इङ्ल्यान्डबिच खेल भएको थियो । लाहोरस्थित गद्दफी स्टेडियममा खेलिएको उक्त खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।

तर, उक्त खेल नजिताभन्दा पनि अन्य कारणले नै बढी चर्चित बनेको छ । खासमा, कुनै पनि ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुनुअघि सहभागी दुबै टोलीको राष्ट्रगान बजाउने गरिन्छ ।  पाकिस्तानको गद्दाफी स्टेडियममा अस्ट्रेलिया र इङ्ल्यान्डबिचको खेल सुरु हुनुअघि पनि दुबै टोलीको राष्ट्रगान बजाइएको थियो । पहिले इङ्ल्यान्डको राष्ट्रगान बजाइएको थियो । 

त्यसपछि अस्ट्रेलियाको राष्ट्रगान बजाउने बेलामा भने भारतको राष्ट्रगान बजाइएको थियो । त्यसपछि सच्याएर पुनः अस्ट्रेलियाको राष्ट्रगान बजाइएको थियो । उक्त विषयले गतिलै चर्चा पाएको छ । सुरक्षाको कारण देखाउँदै भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नै गएको छैन । भारतीय टोली च्याम्पियन्स ट्रफीको आफ्नो सबै खेल संयुक्त अरब इमिरेट्समा खेल्दैछ । 

भारत र पाकिस्तानबिचको सम्बन्ध पनि सुमधुर छैन । यी दुई राष्ट्रबिचको राजनीतिक सम्बन्धको छाया क्रिकेट खेलमा पनि देख्न पाइन्छ । एकातिर, भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान भ्रमणमा नजाने त्यसमाथि अस्ट्रेलिया र इङ्ल्यान्डबिचको खेलअघि भारतको राष्ट्रगान बज्दा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) आक्रोशित बनेको समाचारमा जनाइएको छ ।  

पीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को गल्तीका कारण यस्तो स्थिति सृजना भएको आरोप लगाएको छ । ‘च्याम्पियन्स ट्रफी आईसीसीले आयोजना गर्ने प्रतियोगिता हो । त्यसैले सहभागी टोलीहरुको राष्ट्रगान पनि आईसीसीले नै वितरण गर्छ । त्यसैले यो त्रुटी आईसीसीबाटै भएको हो,’ पीसीबीका एक अधिकारीले भनेका छन् । 

यस विषयमा पीसीबीले आईसीसीसँग प्रश्न पनि गरेको छ । जारी च्याम्पियन्स ट्रफीमा पीसीबीले आईसीसीमाथि प्रश्न उठाएको यो दोस्रो पटक हो । यसअघि, दुबईमा भारत र बंगलादेशबिच सम्पन्न खेलका क्रममा प्रतियोगिताको लोगो प्रशारण गर्दा आयोजकका रुपमा पाकिस्तानको नाम नै राखिएको थिएन ।

यो विषयलाई लिएर पनि पीसीबीले आईसीसीसँग प्रश्न गरेको छ । प्रतियोगिताको मुख्य आयोजक पाकिस्तान नै हो । भारतले पाकिस्तानी भूमिमा खेल्न नमानेपछि मात्र यूएईलाई सह–आयोजक बनाइएको थियो । आईसीसीले भने आगामी दिनमा यस्तो त्रुटी नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप